कर्णाली राजमार्ग : दुई महिनामै एक सय ४५ ठाउँमा पहिरो, दश वर्षमा एक हजार पाँच जनाको ज्यान गयो

 भदौ २५, २०८१ मंगलबार ९:३३:३९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट  – कर्णाली राजमार्गमा निरन्तरको सास्तीले यात्रु हैरान हुँदै आएका छन् । ट्रयाक खुलेको झण्डै दुई दशकमा पनि पहिरो, हिलो र धुलोको सास्ती यथावत् छ ।

वितेका दुई महिनामै एक सय ४५ ठाउँमा पहिरो झरेको छ । सबैभन्दा धेरै समस्या कालीकोट खण्डमा छ । कर्णाली सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गमा पछिल्लो दश बर्षमा एक हजार पाँच जनाले ज्यानै गुमाएका छन् । यो राजमार्ग सञ्चालनमा आएको १८ वर्ष बितिसकेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने राजमार्गको यात्रा सधैँ जोखिमपूर्ण रहेको यात्रुको गुनासो छ ।

यो राजमार्ग भएर जुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम र दैलेख पुग्न सकिन्छ । राजमार्गको स्तरोन्नतिमा सरकारले चासो नदिएको भन्दै सङ्घीय सांसद विनिता कठायतले सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराउनुभएको छ । सांसद कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ सांसदको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो । २०६४ चैत ३० गते कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो ।

पश्चिम सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्न दुई सय ३२ किलोमिटर दुरी पार गर्नुपर्छ । राजमार्ग साँघुरो र खाल्डाखुल्डी भएका कारण यात्रुले सास्ती खेप्दै आएका छन् । चट्टानी भाग छिचोलेर राजमार्गलाई दुई लेनको बनाउन सकेमा जोखिम र दुर्घटना कम हुने विज्ञहरु बताउँछन् ।

पहिरोको जोखिममा रहेका ठाउँको पहिचान गरी व्यवस्थित गर्न सकेमा यातायत सेवा सुरक्षित बनाउन सकिने र यसका लागि पर्याप्त बजेट चाहिने सासंद् महेन्द्रबहादुर शाही बताउनुहुन्छ । अहिले पुरानो कालोपत्रे उप्किएको छ । ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको थप जोखिम बढाएका छन् । वर्षायाममा झर्ने पहिरो तत्काल पन्छाउन नसक्दा यात्रुले भनेको समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया