‘नेपालको प्रजातन्त्रिक आन्दोलनप्रति येचुरीको दृढ समर्थन र सद्भाव स्मरणीय’

 भदौ २८, २०८१ शुक्रबार ७:२७:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रमुख राजनीतिक दलका नेताहरुले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको नेपालको प्रजातन्त्रिक आन्दोलनप्रतिको दृढ समर्थन र सद्भावको स्मरण गर्दै उहाँको निधनबाट नेपालले असल मित्र गुमाएको बताउनुभएको छ । उहाँहरुले नेपाल र नेपाली जनतालाई नजिकबाट बुझेको व्यक्तित्व येचुरीको निधनबाट अपुरणीय क्षति भएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल–भारत सम्बन्ध र नेपालको लोकतान्त्रिक आन्दोलनमा येचुरीले लगाएको गुन अविस्मरणीय रहने बताउनुभयो । लोकतन्त्र र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने भारतका वामपन्थी र अन्य राजनीतिक दललाई नेपालको राजनीतिक आन्दोलनको विकासमा सद्भाव र समर्थन जुटाउने विषयमा येचुरीको विशिष्ट योगदान रहेको उहाँको भनाइ छ ।

वरिष्ठ कम्युनिष्ट नेता वामदेव गौतमले नेपाल र नेपाली जनतालाई नजिकबाट चिन्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनमा सदा सहानुभूति राख्ने नेताको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो क्षति भएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्कीले नेपाल र नेपाली जनतालाई निकै नजिकबाट बुझेको व्यक्तित्वको निधनबाट नेपालले असल मित्र गुमाएको बताउनुभयो ।

बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो । यसबाहेक उहाँले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो । 

‘नेपालमा प्रजातन्त्रिक प्रणाली विकास गर्न येचुरीको बलियो समर्थन’

वामदेव गौतम, वरिष्ठ कम्युनिष्ट नेता

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी मेरो घनिष्ट मित्र हुनुहुन्थ्यो । नेपालको राष्ट्रियता बलियो बनाउने तथा यहाँ प्रजातन्त्रिक प्रणाली विकास गर्ने पक्षमा उहाँको बलियो समर्थन थियो । नेपालका कम्युनिष्ट पार्टी खासगरी पहिले पुष्पलाल श्रेष्ठको नेतृत्व हुँदा र पछि मदनकुमार भण्डारीको नेतृत्वको नेकपा (एमाले) सँग ज्यादै घनिष्ट र भाइचाराको सम्बन्ध थियो । 

आन्दोलनका क्रममा हामी भारतमा रहँदा पनि उहाँको सहयोग लियौँ । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि महासचिव येचुरी स्वयम् यहीँ आएर नेपाली जनतामाझ शुभकामना व्यक्त गर्नुभयो । उहाँ कयैन् पटक नेपाल आउनुभएको छ । उहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो क्षति भएको छ ।

नेपाल र नेपाली जनतालाई त्यतिको नजिकबाट चिन्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनमा सदा सहानुभूति राख्ने नेताको निधनप्रति दुःख व्यक्त गर्दछु । नेपाल र नेपाली जनताका तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।


‘येचुरीले नेपालको लोकतन्त्रिक आन्दोलनमा लगाएको गुन अविस्मरणीय’

कृष्णप्रसाद सिटौला, नेता, नेपाली कांग्रेस

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी नेपाल–भारत सम्बन्ध सुमधुर र दुवै देशका हितमा पारस्परिक सहयोग हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँसँग मेरो काठमाण्डौ र भारतको राजधानी नयाँ दिल्लीमा पटकपटक भेट भएको छ । नेपालको प्रजातन्त्रिक आन्दोलनमा सधैँ सद्भाव राख्ने र समर्थन जनाउने वामपन्थी नेताका रुपमा मैले चिनेको छु ।

लोकतन्त्र र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने भारतका वामपन्थी र अन्य राजनीतिक दललाई नेपालको राजनीतिक आन्दोलनको विकासमा सद्भाव र समर्थन जुटाउने विषयमा उहाँको योगदान छ । येचुरीप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली छ । उहाँले नेपाल–भारत सम्बन्ध र नेपालको लोकतन्त्रिक आन्दोलनमा लगाएको गुन अविस्मरणीय रहनेछ ।

‘नेपालले असल मित्र गुमायो’

सुरेन्द्र कार्की, नेता, नेकपा (माओवादी केन्द्र)

भारतका कम्युनिष्ट र वामपन्थी नेताका रुपमा महासचिव सीताराम यचुरीले त्यहाँका सत्ताधारी वर्गभन्दा फरक दृष्टिकोण राख्नुहुन्थ्यो । नेपाल स्वाधिन, समुन्नत र प्रजातन्त्रिक मुलुक बनोस् भन्ने नै उहाँको शुभेच्छा थियो । नेपालमा जनवादी तथा प्रजातन्त्रिक व्यवस्था स्थापनाका निम्ति उहाँको अनवरत समर्थन थियो । नेपालका धेरै राजनीतिक व्यक्तित्व तथा नागरिकस्तरमा पनि उहाँको राम्रो सम्बन्ध थियो ।

नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन पनि येचुरीले विशेष भूमिका खेल्नुभएको थियो । नेपालको राजनीतिक परिवर्तनका लागि भएको सशस्त्र आन्दोलनलाई अन्य पक्षले आफ्नो स्वार्थ अनुसार हेर्थे । तर, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले कहिल्यै पनि त्यस ढङ्गले हेरेन । येचुरीले नेपालमा जुन मुद्धाका लागि कम्युनिष्ट पार्टीहरु लडेका हुन्, त्यसको उद्देश्य प्राप्त होस् भन्ने नै शुभेच्छा राख्नुहुन्थ्यो ।

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सदैव उहाँले सहयोग गरिरहनुभयो । सिद्धहस्त सिद्धान्तकार, विचारक तथा गहिरो अध्ययन भएका परिपक्व नेता येचुरीको निधनबाट भारतीय वामपन्थी आन्दोलनमा अपुरणाीय क्षति पुगेको छ । नेपाल र नेपाली जनतालाई निकै नजिकबाट बुझेको व्यक्तित्वको निधनबाट नेपालले असल मित्र गुमाएको छ । नेपाललाई त्यति राम्रो बुझेको र सोहीस्तरबाट सहयोग र शुभेच्छा राख्ने व्यक्तित्व हत्पत् प्राप्त हुँदैन ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया