नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
कात्तिक २५, २०८१ आइतबार
अलिअलि ढुङ्गामाटो र अलकत्राले माथिमाथि टालिएको सडकभित्रको भ्वाङ एकाएक ड्वाङ्ङ आवाज सुनेर तर्सियो । सँगैको खानीपानी र ढलका पाइप हेर्याे, दुवै दुरुस्त छन् । भ्वाङले ख्वाङ्ङ खोकेर खानेपानीको पाइपमा ट्वाङ्ङ हिर्काएर सोध्यो ‘हैन फेरि कसले स्वाङ पार्याे हँ ?’
‘हामी हो मितज्यू’ ललितपुरबाट भ्वाङले ड्वाङ्ङ र छ्वाङ्ङ आवाज निकाल्दैे ख्वाङ्ङ खोक्यो ।
भ्वाङ पर्ने ठेक्का त हामी काठमाण्डौका सडकको हो त । ललितपुरले किन स्वाङ पार्नु पर्याे ?
काठमाण्डौ मात्रै कहाँ काठमाण्डौ हो र ? ललितपुर, भक्तपुर पनि काठमाण्डौ नै हो नि मितज्यू । जता भ्वाङ परे पनि काठमाण्डौमै पर्याे भनेर ख्वाङ्ङ खोक्नुस् न ।
खै भक्तपुरकाले स्वाङ पारेका छैनन् त, ललितपुरलाई चाहिँ किन गर्नुपर्याे ख्वाङख्वाङ ?
भक्तपुरमा त कसलाई देखाउनु छ, अनि कोसँग ल्याङल्याङ गर्नु छ र भ्वाङ देखाएर स्वाङ पार्न ।
त्यो त हो, काठमाण्डौमा त बानेश्वरमै चार पटकभन्दा बढी भ्वाङ देखाएर स्वाङ पारिसक्यौँ ।
त्यति धेरै भ्वाङ किन नि ?
अब देशकै सङ्घीय संसद् यहीँ छ । सरकार र संसद्का मान्छे दिनहुँ यहीँ ओहोरदोहोर गरिरहन्छन् । एउटा, दुइटा मात्रै भ्वाङ हुँदा सबैले देख्न पनि गाह्रो । ठूलाबडा सबैले धित मर्ने गरी हेरुन् भनेर पटकपटक भ्वाङ देखाएर स्वाङ पारिरहन्छौँ ।
अनि केही दिनअघि पुतलीसडकतिर पनि स्वाङ पारेको हैन र ?
हो नि । अब सङ्घीय सरकार र काठमाण्डौ महानगरको पटकपटक जुहारी चलिरहन्छ । सङ्घका मान्छेहरूको सामुन्ने मात्रै भ्वाङ देखाउँदा महानगरका मान्छेहरूको सनक चढ्ने हो कि भन्ने डर । त्यसैले महानगरको कार्यालय अघिल्तिर पुतलीसडकमा पनि भ्वाङ देखाएर स्वाङ पार्देको नि ।
अनि त्यही भ्वाङको फोटो देखाएर महानगरका मेयरले सङ्घ सरकारलाई गाली गर्दै थिए त ।
अब सङ्घले सपारिदिएको काम सबै महानगरले गरेको भनेर जस लिने, अनि बिगारेको काम चाहिँ सङ्घले गरेको भनेर अपजस दिने बानी छ नि त मेयरसाबको ।
मेयरसाबको बारेमा धेरै कुरा गर्न हुन्न है । फेरि रात परेपछि फेसबुकमा भ्वाङले स्वाङ पार्याे भनेर ड्वाङ्ङ स्टाटस पड्किन बेर छैन । त्यसमाथि समर्थकहरूले ल्याङल्याङ गरेर भ्वाङमाथि पनि भ्वाङ पार्लान् भन्ने डर ।
अनि ठमेल, सोह्रखुट्टेतिर पनि त भ्वाङ परेको थियो नि । त्यहाँ चाहिँ किन ?
अब विदेशी पर्यटकको धेरै चहलपहल हुने ठाउँ नै ठमेल र सोह्रखुट्टेतिर । नेपाल सुरुङ युगमा प्रवेश गर्याे भन्ने विदेशीहरूले पनि सुनेका होलान् । खै त सुरुङ युग भनेर हेर्न खोजे भने नागढुङ्गाको सुरुङमार्ग बनिसकेको छैन । अन्त पनि काम हुँदैछ । विदेशी पर्यटक जहाँ धेरै हुन्छन्, त्यहीँ सुरुङ देखाउन पाइयो भने देशको नाम विदेशसम्म पुग्ने । त्यसैले त्यहाँ चाहिँ उनीहरूका लागि भ्वाङ बनाएर स्वाङ पारिदिएको । त्यही भ्वाङमा एउटा मोटरसाइकल छ्वाङ्ङ खसेर पनि मान्छेलाई चाहिँ केही भएन ।
अनि ललितपुरमा चाहिँ किन स्वाङ पार्न परेको नि मितज्यूले ?
अघि भनिहालेँ नि ललितपुर पनि काठमाण्डौ हो भनेर ।
ललितपुरलाई पनि काठमाण्डौ भनेर धेरै ख्वाङख्वाङ नखोकौँ है मितज्यू । उसै त दुवै महानगरका मेयरसाबहरूको बेलाबेला ल्याङल्याङ हुन्छ रे ।
यसअघि इमाडोल र चाकुपाटतिरको भ्वाङ देखेर मान्छेहरू दङ्ग परेकै थिए त । फेरि कुपण्डोलको बीच सडकमा किन अर्को भ्वाङ पारेर स्वाङ देखाउनुपरेको ?
हरे मितज्यू, बानेश्वरमा जस्तै ठूलाबडाहरूको ओहोरदोहोर कुपण्डोलमा पनि हुन्छ नि । मन्त्री निवास यतै छ । हरिहर भवन साँघुरो भयो भनेर भैँसीपाटीमा भव्य महल बनाएका छन् । ठूलाबडाहरू बस्ने अपार्टमेन्टहरू यतै धेरै छन् । मन्त्री र ठूलाबडाहरूलाई काठमाण्डौको भ्वाङ मात्रै देखेर चित्त नबुझ्ला कि भनेर ललितपुरको बीच सडकमा पनि बनाइदिएको नि ।
अनि यति भ्वाङले मात्रै हुन्छ कि अन्त पनि स्वाङ पार्ने योजना छ मितज्यू ?
यतिले मात्रै कहाँ हुन्छ ? खानेपानी र ढलका पाइप सबैतिरका सडकमुनि छँदैछन् । यतिले मात्रै पुगेन भनेर बिजुली अड्डाले ठाउँठाउँमा तारको जाल गाडेकै छ क्यारे । गाउँपाखामा तरुल खनेझैँ यी सबैले पालैपालो सडक खनेकै छन् । केही न केही संरचना गाडेकै छन् । माटोले धान्छ कि धान्दैन भन्ने मतलब छैन । खनिसकेपछि बलियो गरी बनाउने ढङ्ग छैन । हुन त खनेपछि बलियो बनाउने हो भने भोलि/पर्सि फेरि कहाँ कसरी खन्ने ? कहिले ढल खनेजस्तो गरेर, कहिले पाइप र तार गाडेजस्तो गरेर, कहिले सडक टालेजस्तो गरेर काम देखाउने बानी परिसक्यो । अलिअलि काम भयो भने मैले गरेको भनेर प्रतिस्पर्धा गर्छन् । बिग्रियो भने तैँले गर्दा भनेर धारे हात लगाउँछन् । सङ्घवालाले बिजुलीको पोलमा ‘सवि’ लेखेर झारा टार्छन् । महानगरका मेयरले फेसबुकमा स्टाटस लेखेर स्वाद फेर्छन् । पानी पर्नेबित्तिकै सडकमा पानीको धाप, जमिनमुनिको संरचनाले सडक चाहिँ धराप ।
हैन हौ मितज्यूले त मान्छेहरूले झैँ गफ दिन थाल्नुभयो त । अर्को ठाउँमा भ्वाङ पार्न परेन ?
उ सडक टालेजस्तो गरेर स्वाङ पार्न थालेछन् । यति भएपछि एकैछिनमा ड्वाङ्ङ भएर अर्को भ्वाङ पर्ने त निश्चित भैहाल्यो नि ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।