क्लिन चिटको चुरो : पैसा लुकाउने, दुःख देखाउने !

 असोज ६, २०८१ आइतबार १२:९:४० | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ – ‘देख्यौ, हामीले त क्लिन चिट पायौँ ?’ जान्नेका हातमा चिट त दाग लागेको थियो, तर जान्नेलाई छान्नेहरु त्यसैलाई “क्लिन... क्लिन ....” गर्दै बुरुक्क उफ्रिए । 

‘दोष नै दोषले भरिएको कागज समातेर क्लिन चिट रे ! क्लिन चिट हैन बाबै दोष देखाइदिएको चिट हो’ हामी पो जान्ने भन्नेहरुले लोप्पा खुवाए ।

‘खै कहाँ लेखिएको छ दोषी भनेर ?’ जान्नेलाई छान्नेहरु पछि हट्ने कुरो भएन ।

‘दोषी नै भनेर लेखेको भए तिमीहरुका मान्छेले सही गर्थे र ? राम्रोसँग पढ न त्यहाँ’  हामी पो जान्ने भन्नेहरुले आफू अनुकूल अर्थ लगाउन मिल्ने बुँदा देखाइदिए । जहाँ लेखिएको थियो, ‘सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोर्खा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।’

‘यसको मतलब सहकारीको रकम ठगीमा त संलग्नता देखिएन नि, त्यसैले क्लिन चिट’ जान्नेलाई छान्नेहरुले आफू अनुकूल व्याख्या ठोके ।

‘चारजना मिलेर संस्था खोले । संस्थाको साझेदार बने । संस्था चलाउनको लागि दुईजना साथीले सहकारीको रकम ठगी गरेर ल्याए । अनि साझेदारले त्यही ठगीको रकममा हालीमुहाली गरेपछि ठगेर ल्याएको रकम चलाउने पनि दोषी हुने भयो नि’ मै हुँ जान्ने भन्ने पक्षधरले पनि दोषी चस्माले हेरे ।

‘आफ्नै साथीलाई किन ठगिस् भन्न पनि भएन । उसले ठगेर नल्याएको भए संस्था चलाउन पनि मुस्किल पर्थ्यो । त्यसमाथि ठगीको रकम संस्थाका साझेदारले मात्रै चलाएनन् । त्यही रकमबाट त्यहाँका कर्मचारीले तलब बुझे । तलब बुझेको पैसाले किनमेल गरे । त्यो पैसा तरकारी पसल, फलफूल पसल, मासु पसल, कपडा पसल, श्रृङ्गार पसल, खाजा पसलसम्म पुग्यो । कतिले  छोराछोरीको स्कुलमा शुल्क बुझाए । सरकारी कार्यालयमा तिरो पनि तिरे होलान् । सहकारी ठगीबाट आएको पैसा त सबैतिर पुग्यो । व्यापारीदेखि कर्मचारीसम्मले चलाए । ठगीको रकम चलाउँदैमा दोषी हुने तलब खाने कर्मचारीलाई पनि दोषी भन्नुपर्‍यो । उसको पैसा लिएर सामान बेच्ने व्यापारी पनि दोषी भए । त्यही पैसा शुल्कबापत लिने स्कुल, कलेज सञ्चालक पनि दोषी भए । कर र तिरो लिने सरकारी अड्डा पनि दोषीमै गनिए । कसकसलाई कारबाही गर्नुहुन्छ माननीयज्यू ?’ आफूलाई जान्ने भन्नेहरुले पानीको कुलोलाईझैं सहकारीको कुरोलाई नमिल्ने ठाउँमा पुग्नेगरी बंग्याउन थाले ।

‘यो त चाहिँदोभन्दा बढी जान्नेहरुको कुरो भयो माननीयज्यू ! हजुरहरुकै मान्छेले सही गरेको प्रतिवेदन एकपटक पढौं है त ?’ भन्दै मै हुँ जान्ने भन्नेले पाना पल्टाए, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

‘ठगीको होस् कि नठगीको, रकममा चेक नकाटेर घाँस काट्छन् त ? मान्छे काट्नेलाई कारबाही नहुने देशमा चेक काट्ने दोषी हुन्छ ? हेर्नुहोस्, ४० वटा सहकारीबाट झण्डै ८८ अर्ब अपचलन भएको भनेर प्रतिवेदनले भनेको छ । हजारौं मान्छेहरु पीडित छन् । सयौं दोषी छन् । कति भागेका छन् । तपाईंहरुकै मान्छे पनि मुछिएका छन् । मलाई थाहा छैन भन्नेलाई मात्रै एकोहोरो किन खेद्नुहुन्छ ?’ जान्नेलाई छान्ने भन्नेहरु कड्किए ।

‘हाम्रा त आफ्ना भैहाले नि । अनि अरुले त चुनाव पनि लडेनन् । पार्टी पनि खोलेनन् । ०८४ मा तिनीहरुको डर पनि छैन । एउटा चुनावमा सातो लिएर फेरि ०८४ मा डर देखाइदिने मान्छे यिनै छन् त कसलाई खेद्ने ?’ मै हुँ जान्ने भन्नेले वास्तविकता ओकले ।

खेद्ने नै हो भने सहकारीको रकम ठग्ने अरुलाई पनि खेद्नुपर्‍यो । थाहा पाउनु भयो होला नि बचतकर्ताको रकम पचाउन नक्कली विवाह गर्नेहरु पनि रैछन् । अंशबन्डा र पुनःविवाह गर्नेहरु पनि रैछन् । नक्कली खाता, नक्कली लेखापरीक्षण, नक्कली साधारणसभा र नक्कली प्रतिवेदन तयार पार्नेदेखि नक्कली शेयर सदस्य बनाउने काम पनि भएको रैछ । नक्कली जति सबैलाई समात्नपर्‍याे ।

यी सबैभित्र फेरि तपाईंहरुले क्लिन चिट पायो भन्ने मान्छे पनि पर्नुहुन्छ नि । ससुरालीमा समेत पैसा बाँड्नुभयो भन्ने कुरो छ । के गर्ने ?

त्यो त कहाँ हुन्छ ? उहाँले त क्लिन चिट पाइसक्नुभयो ।

यही हिसाबले त अरुले पनि त क्लिन चिट पाए भन्दा हुने भयो । सबै निर्दोष भए नि ।

अनि दोषी चाहिँ को त ?

जसले सहकारीमा पैसा जम्मा गर्‍याे, त्यही मान्छे दोषी । हामीभन्दा पनि जान्ने भएर किन सहकारीमा पैसा जम्मा गर्नुपर्‍याे ? तिनीहरुले पैसा नराखेको भए ठग्नेले ठग्नै पाउँदैनथिए । 

त्यो त हो मान्छेहरुले सहकारीमा पैसा नराखेको भए अरु सञ्चालकहरुलाई नक्कली विवाह, नक्कली सम्बन्धबिच्छेद, नक्कली खाता, नक्कली हिसाबकिताबको झमेला पनि पर्नु पर्दैन थियो । ससुरालीबाट दक्षिणा लिनुपर्नेमा उल्टै ससुरालीमा पैसा बाँड्नुपर्ने अवस्था पनि आउँदैनथियो ।

अनि अहिले फलाने दोषी कि क्लिन चिट भन्ने बहस छाडेर हामी अरु नै नयाँ विषय र मुद्दाका विवादमा अल्झिन पाउँथ्यौँ।

त्यसैले जसले सहकारीमा पैसा राख्यो, त्यही नै दोषी ! 
 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया