विपन्न नागरिकलाई मेयरको व्यक्तिगत सहयोग

 असोज ७, २०८१ सोमबार १८:३३:३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले राज्यबाट आफूले पाउने सेवा सुविधा तथा अन्य भत्ताबापतको रकमबाट विपन्न नागरिकको उपचारलगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । निर्वाचित भएदेखि उहाँले आफ्नो छुट्टै व्यक्तिगत कोष बनाएर विपन्न समुदायको स्वास्थ्य उपचार, उच्च शिक्षालगायतमा आर्थिक सहयोग गर्दै आउनुभएको हो ।

मेयर लम्सालले आफूले राज्यबाट प्राप्त गर्ने सबै रकम विपन्न समुदायका लागि सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेसँगै व्यवहारमा लागू गरेको बताउनुभयो । ‘पैसाका लागि नभई नागरिकको सेवा गर्ने अभिप्रायले राजनीतिमा लागेको हुँ, दुई वर्षदेखि विपन्नलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको छु’, उहाँले भन्नुभयो ।

मेयर लम्सालले चुनावको समयमा तलब भत्ता नलिने घोषणा गर्नुभएको थियो । आफ्नो पैतृक सम्पत्ति राम्रो रहेको र व्यावसायिक क्षेत्रबाट हुने आम्दानी पनि पर्याप्त भएकाले राज्यबाट पाउने तलब भत्तालगायतका सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने योजना पहिलेदेखि नै रहेको उहाँले सुनाउनुभयो ।

लम्सालले आफूले पाउने सेवा सुविधाको सबै रकम जम्मा हुने गरी कृषि विकास बैंक भुरीगाउँ शाखामा राहत कोषको नाममा व्यक्तिगत खाता खोल्नुभएको छ । त्यही खाताबाट नगरवासीको शिक्षा, स्वास्थ्य तथा विपन्नको दैनिक जीवनयापनमा आउने समस्या समाधान गर्नमा उहाँले व्यक्तिगत खर्च गरिरहनुभएको नगर प्रमुख सचिवालयका प्रमुख जीवन कंडेलले भन्नुभयो । उहाँका अनुसार राज्यबाट पाउने तलब भत्तालगायतका सुविधाबाट जम्मा भएको रकम विपन्न समुदायको उपचार खर्च, उच्च शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीको खर्च, विपन्न समुदायको आयमूलक तथा सीपमूलक काममा खर्च भएको छ ।

मेयरकै सहयोगमा सर्पले डसेका बालकलाई आईसीयूमा राखेर उपचार

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी घर भई अहिले वडा नम्बर ८ सुतैया गाउँमा मामाको घरमा बसेका ११ वर्षीय शिशिर सुनारलाई गएको भदौ १० गते विषालु सर्पले डस्यो । त्यसपछि उनलाई स्थानीय ठाकुरबाबा आधारभूत नगर अस्पतालको सर्पदंश केन्द्रमा उपचारका लागि लगियो । विषालु सर्पले डसेको धेरै समय भइसकेको हुँदा अवस्था जटिल भएकाले तत्काल नेपालगञ्ज लैजान स्वास्थ्यकर्मीले सुझाव दिए । तर परिवारले एम्बुलेन्स भाडा र उपचार गर्ने खर्च नभएको भन्दै बालकलाई घरतर्फ फर्काए । यो कुरा मेयर लम्सालले थाहा पाउनुभयो । त्यसपछि उहाँले बालकलाई आफ्नै खर्चमा तत्काल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाउनुभयो ।

अहिले बालकको आईसीयूमा राखेर उपचार भइरहेको छ । सर्पले डसेका कारण स्वास्थ्य अवस्था गम्भीर रहेका बालकको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । बालकको अवस्था सुधार भैरहँदा परिवारसँगै मेयर लम्साल पनि खुशी हुनुहुन्छ ।

कक्षा ३ मा पढ्ने शिशिरका बुबा कारगारमा र आमा बेपत्ता छन् । घरका बाजेबज्यै पनि प्यारालाइसिस भएर थला परेपछि रेखदेख गर्ने कोही पनि नभएकाले उनी मामाघर सुतैया गाउँमा बस्दै आएका र घर नजिकै रुखमा खेलिरहेका बेला सर्पले डसेको बालककी ठूलीआमा किरण विकले बताउनुभयो । उपचारका लागि मेयरले अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च बेहोर्नुभएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया