साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी काङले पाउने
असोज २४, २०८१ बिहिबार
मान्छेको जीउ र घरखेत बगाउन थालेपछि सरकार झल्याँस्स भएर छलफलमा जुटेजस्तै धनजनको व्यापक क्षति गरेपछि नदी खोलाहरूको पनि बैठक बस्यो । अघिल्ला वर्षहरूमा जस्तै यसपालिको बैठकमा पनि एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रौद्र रूप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि उपस्थित भए । मान्छेहरूको बैठकमा जस्तै नदी खोलाहरूको बैठकमा पनि उही पुराना कुरा भए । सबैभन्दा पहिले नदीका मुखियाले अरूलाई सोधे– यसपालि पनि मान्छेहरूले दुःख पाएछन् । मान्छेहरूको बस्तीमा पसेर किन दुःख दिएको ? नदी खोला बहुलायो भनेर मान्छेले हामीलाई धारे हात लगाइरहेछन् ।
बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए– हामी मान्छेको बस्तीमा पसेको हैन मुखियाज्यू, मान्छे हाम्रो बाटोमा बसेका हुन् । यस विषयमा मुखियाज्यूलाई पहिले पनि जानकारी गराएको हो । हिउँदमा हामी सानो हुन्छौँ । सानो भएको बेला सानै ठाउँले पुग्छ । बालुवा र गिट्टीको चिनो छोडेर वर्षा कुर्दै सानो भएर बहन्छौँ । वर्षामा फेरि ठूलो भएर फर्कँदा पहिले छोडेको बालुवा र गिट्टी केही पनि हुँदैन । कतै घर हुन्छ, कतै क्रसर मेशिन । आफ्नो भइरहेको खेतबारीले नपुगेर मान्छेले हामी हिँड्ने बगरमा खेती गर्छन् । त्यहीँ घर ठड्याउँछन् । हामी हिँड्ने बाटोमा खेती र बस्ती भएपछि हामी के गरौंँ ? बस्ती र खेती छलेर बहन सकिँदैन । आफ्नो पावर भएको बेला केही साथीहरूले धार बदलेर बाटो बिराउनुबाहेक हामी नदीहरूले पहिले हिँड्ने गरेको बाटो छोडेका छैनौँ । आफ्नै बाटो हिँड्दा बाटोमा परेका बस्ती र खेतीमा हल्का असर परेको मात्र हो ।
नदीपछि खोलाका प्रतिनिधि अघि सरे– हामी हिँड्ने पहाडतिर पनि उस्तै समस्या छ मुखियाज्यू ! हामी कमजोर भएको मौका पारेर मान्छेले हिउँदमा हाम्रो बाटो मासिदिन्छन् । खोलामा कतै घर बनेको छ, कतै खेतबारी । यता शहरतिर पनि हामी हिँड्ने बाटोमा जग्गा दलालहरूले घडेरी बनाएका छन् । हामीलाई नै पुरेर घर ठड्याएका छन् । सस्तोमा पाइयो भनेर किन्ने मान्छे पनि हाम्रो बेवास्ता गरी घरघडेरी किन्छन् । खोला छ, बाढी आउँछ भन्ने सोच्दैनन् । हिउँदमा हामीलाई हेप्छन्, चेप्छन् । वर्षा लागेपछि हेप्ने र चेप्ने हाम्रो पालो आउँछ । हामी हिँड्ने बाटोमा मान्छेले निहुँ खोजेको र अवरोध खडा गरेको कारण यस्तो भएको हो । यसमा हाम्रो दोष छैन ।
खोलाले पोल खोलेपछि आकलझुक्कल उर्लने खहरेले भन्न थाल्यो– मुखियाज्यू त पहाड र डाँडाकाँडामा उक्लन सक्नुभएको छैन । हामी तिनै अग्ला डाँडाकाँडा, पहाड र चुरे हुँदै नदी खोलामा भेट हुन आइपुग्छौँ । हिजोआज चुरे र पहाडका बस्ती हेरिसक्नु छैन । जताततै डोजरले बाटो खनेका छन् । डाँडाकाँडा उजाड भइसके । मान्छेले अहिलेको सुख हेर्छन्, भोलि आउने दुःख देख्दैनन् । जानै नसक्ने, नमिल्ने ठाउँमा मोटरबाटो पुर्याउन खोज्छन् । जथाभाबी डोजरले बाटो खन्दा हामी हिँड्ने बाटो मेटिएको छ । हिउँदमा हामी नभएको मौकामा मान्छेले डोजर चलाउँछन् । अनि वर्षामा हामी आउँदा बाटो हुँदैन । बाटो नभएपछि जता सजिलो हुन्छ, उतैबाट बग्दै नदी खोलासम्म पुग्नुपर्छ । अनि बाटै नभएर हिँड्नुपर्दा पहिरोले पनि हामीलाई साथ दिन्छ । हामी र पहिरो सँगसँगै हिँड्न थालेपछि मान्छेको बस्ती, खेतबारी र वनजङ्गल त मासिने नै भयो ।
सबैको कुरा सुनेपछि नदीका मुखियाले सोधे– नदी खोला हिँड्ने बाटोमा घरखेत बनाउन हुँदैन, बगरका ढुङ्गा गिट्टी र माटो झिक्न हुँदैन, जथाभाबी डोजरले बाटो खन्न हुँदैन भन्ने मान्छेलाई थाहा छैन र ?
नदी, खोला र खहरले एकसाथ जवाफ दिए– सबै थाहा छ मुखियाज्यू, किन थाहा नहुनु । त्यसमाथि मान्छेले आफूलाई सबैभन्दा बुद्धिमान सम्झन्छ । आजको मात्र होइन, भोलिको कुरा पनि थाहा पाउँछ । बाढी, पहिरोको भविष्यवाणी पनि गर्छ । योपालि मात्रै मौसम पूर्वानुमान गर्नेहरूले हामी नदी खोलाहरू उर्लन्छौँ भन्ने पहिल्यै जानकारी दिइसकेका थिए । तर तत्कालको पूर्वतयारी गर्नुपर्नेहरूले ख्याल गरेनन् । दीर्घकालीन सबै उपाय थाहा पाएर पनि नगर्नुपर्ने काम गर्न छाड्दैन । त्यसमाथि नेपालका ढुङ्गा, गिट्टी, बालुवाका तस्कर तथा जग्गा दलाल र ठेकेदारलाई त कसैले पनि सक्दैन । सरकार पनि उनीहरूले भनेकै मान्छ । उनीहरूले जथाभाबी डोजर चलाउँदा, ढुङ्गा गिट्टी बालुवा झिक्दा, प्लटिङ गरेर घडेरी बनाउँदा यस्तो समस्या आएको हो । उनीहरूका कारण सोझासिधा मान्छेले दुःख पाइरहेका छन् । सरकारले हामी नदी खोला हिँड्ने बाटोमा घर बनाउन, जथाभाबी ढुङ्गा गिटी र बालुवा निकाल्न तथा गाउँ बस्तीमा जथाभाबी डोजर चलाउन नदिएमा यस्तो समस्या आउने नै थिएन ।
सबैको कुरा सुनेपछि नदीका मुखियाले लामो सास ताने । अनि बैठकको अन्त गर्दै भने– नेपालको भूबनोटको बारेमा मलाई राम्रैसँग जानकारी छ । मैले पहाड र डाँडाकाँडा नदेखेको हैन, देखेको छु । मेरो जन्म त्यहीँ पहाड र डाँडाकाँडामै भएको हो । अहिले पो भेल र खहरेले जस्तो त्यहाँबाट हिँड्न सक्दिनँ, तर सबै थाहा छ । भूबनोट यस्तै भएकाले मान्छे र हामी मिलेरै हिँड्नुपर्छ, रहनुपर्छ । मान्छेको बस्तीमा हामी पस्नु हुँदैन, हाम्रो बाटोमा मान्छे बस्नु हुँदैन । मान्छेहरूले वर्षाको बेला मात्रै बाढी पहिरो आउँछ भनेर झल्याँस्स हुने अरू बेला कानमा तेल हालेर बस्ने प्रवृत्ति सुधार्न आवश्यक छ । सबैभन्दा ठूलो कुरा त हामी नदी, खोला, खहरे, भेल हिँड्ने बाटो मान्छेले जोगाए मात्रै हामीले मान्छेलाई जोगाउन सक्छौँ । उद्धार र राहतको काम सकेपछि पनि मान्छेहरूले यो कुरा नबिर्सेको जाति ! बिर्से भने बाह्र वर्षमा .......... खोलो फर्किन्छ भनेर मान्छेले हाम्रो नाममा बनाएको उखान सम्झाउन भए पनि आउनै पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।