अब चालकले कागजपत्र बोक्नु पर्दैन, मोबाइलमा लाइसेन्स देखाउँदा हुन्छ

 कात्तिक ५, २०८१ सोमबार १६:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । यो सेवा आइतवारदेखि विशेषगरी काठमाण्डौ उपत्यकामा लागू भएको छ । यो सुविधासँगै नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरीमाना तिर्न  सक्ने व्यवस्था पनि शुरू भएको छ ।

यो सेवा उपयोग गर्नको आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नागरिकताको फोटो र स्मार्ट लाइसेन्समा भएको क्यूआर कोडको फोटो एपमा अपलोड गर्नुपर्छ । यदि स्मार्ट लाइसेन्स छैन भने लाइसेन्स नम्बर मात्रै राखेर पनि सेवा प्रयोग गर्न सकिन्छ । यसरी सबै प्रक्रिया पूरा गरेपछि यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

नागरिक एपमा डिजिटल लाइसेन्स उपलब्ध भएपछि स्मार्ट लाइसेन्स कार्ड नबोके पनि हुन्छ । लाइसेन्स पर्खिरहेका व्यक्तिहरूले पनि अब कुरिरहनु पर्दैन, लाइसेन्स नम्बर भए मात्र पर्याप्त हुन्छ । तर यो सेवा देशभर पूर्णरूपमा लागू नभएकाले कतिपय ठाउँमा लाइसेन्स कार्ड बोक्नुपर्ने हुन सक्छ ।

अब नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी धेरै काम डिजिटल रूपमा गर्न सकिन्छ । जस्तैः– ट्राफिक नियम उल्लङ्घन गर्दा जरीमाना तिर्ने प्रक्रिया पनि यस एपबाट सजिलै गर्न सकिन्छ । पहिले ट्राफिक प्रहरीले चालकको लाइसेन्स, सवारी दर्ता किताब वा सडक इजाजत पत्र लिएर २४ घण्टे पुर्जी जारी गर्ने गथ्र्याे, अब भने चालकले नागरिक एपमा रहेको क्यूआर कोड र लाइसेन्स देखाए मात्र पुग्छ । ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपबाट क्यूआर कोड स्क्यान गरी कारबाही प्रक्रिया अघि बढाउँछ । नागरिक एपको क्यूआर कोड स्क्यान भएपछि ट्राफिक कारबाहीको अभिलेख व्यवस्थापनमा सबै जानकारी सुरक्षित हुन्छ ।

अब चालकले कागजपत्र देखाउँदै यात्रा गर्नुपर्ने छैन । लाइसेन्स जाँच गर्दा नागरिक एपमा भएको डिजिटल लाइसेन्सलाई मान्यता दिइनेछ । दुर्घटना भए पनि नागरिक एपमा भएको लाइसेन्स प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ । स्मार्ट लाइसेन्स नआएको भन्दै कुर्नुपर्ने झन्झट पनि हट्नेछ । ट्राफिक प्रहरीले चिट काट्न कागज र कलमको प्रयोग गर्नुपर्ने छैन । ट्राफिक सेवा व्यवस्थित गर्न प्रविधि थप मैत्री बनाइएको छ, तर अझै केही सेवाहरू डिजिटल प्रणालीमा पूर्णरूपमा सरल भएका छैनन् ।

अहिले यो सेवा परीक्षणको चरणमा छ । धेरै नागरिकलाई यसको बारेमा जानकारी छैन, कतिले नागरिक एप नै प्रयोग गर्नुहुन्न र कतिपयसँग इन्टरनेटको पहुँच पनि छैन । परीक्षणकै क्रममा भएकाले पहिलो चरणमा यस सेवाबारे नागरिकलाई जानकारी दिने र यसको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ । यसबारे जानकारी बढ्दै गएपछि बिस्तारै पूर्णरूपमा लागू हुनेछ । काठमाण्डौ उपत्यकामा शुरू भएको यो सेवा प्राथमिक रूपमा बाग्मती प्रदेशमा भए पनि अरू ठूला शहरहरूमा पनि यसको बढी आवश्यकता छ । सबै ठाउँमा बिस्तारै यो सेवा पुग्छ । अरू प्रदेशमा पनि सम्बन्धित निकायहरूको सहयोग र निर्देशनअनुसार विस्तार गरिनेछ, तर यो सेवा देशभर पूर्णरूपमा लागू हुन अझै केही समय लाग्न सक्छ ।

(काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रविन कार्कीसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया