जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

 कात्तिक ७, २०८१ बुधबार ९:०:५० | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – आज ११औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, हिउँ चितुवाको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वका १२ वटा देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष दिवसको नारा ‘भविष्यको पुस्ताका लागि हिउँ चितुवाको बासस्थान सुरक्षा’ रहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको अवसरमा कार्यक्रम गर्दैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र) को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा असर पुर्‍याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको विभागका महानिर्देशक कँडेलले बताउनुभयो । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको उहाँकाे भनाइ छ । 

हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक डा. कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताउनुभयो ।

मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँ चितुवा संरक्षण र कार्य योजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

योजनामा अनुसन्धान र अनुगमनमार्फत हिउँ चितुवाको पर्यावरणीय स्थिति, शिकार, बासस्थानबारे ज्ञान बढाउने उद्देश्य लिएको छ । कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानून कार्यान्वयनमार्फत चोरी शिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तर्राष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् । ६ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न एक अर्ब ७७ करोड ९७ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ ।

योजनामा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत झन्डै ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि झन्डै २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

हिउँ चितुवालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । नेपालमा हिउँ चितुवा तीन सयदेखि पाँच सय र विश्वमा चार हजारदेखि ६ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया