इलाममा उत्पादित तयारी चियाको माग बढ्याे, उत्पादन घट्याे

 कात्तिक १०, २०८१ शनिबार १८:३१:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

इलाम – इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढे पनि यस वर्ष उत्पादन घटेको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका वडा नम्बर ५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा एक हजार पाँच सय किलो मात्र उपलब्ध गराउने सकिने बताउनुभयो ।

सुइरोबाट बनाइने तयारी चियाको लागि व्यापारीहरुले पहिला नै रकम पठाएर ‘बुकिङ’ गर्छन् । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न नसकेको सुब्बालले बताउनुभयो । कोभिड १९ महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार बिस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो देशबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो ।

इलामको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो । गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो ।

यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार किलो तयारी चिया भारतसहित तेस्रो देशमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । झापामा रहेको मेची भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया निकासी भएको थियो ।

मौसममा आएको परिवर्तनले गएको वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया