बढ्दो फोहाेरले हिमाली पर्यावरणमा समस्या

 कात्तिक १२, २०८१ सोमबार १६:४१:१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – नेपालका हिमाल विश्व पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन् । तर पछिल्ला वर्षहरूमा बढ्दो पर्यटक सङ्ख्यासँगै हिमाली क्षेत्रमा फोहाेरको समस्या पनि बढ्दै गएको छ । यो समस्याले हिमाली वातावरण र जैविक विविधतामा गम्भीर असर पार्न थालेको सफाइ अभियन्ताहरू बताउँछन् ।

भरिया, आरोहण सहयोगी, आरोही हुँदै सगरमाथा क्षेत्रमा सफाइ अभियान चलाउनुभएका पीके शेर्पा सगरमाथालगायतका हिमालमा बढ्दो फोहाेरप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । सफा हिमाल र हिउँ संरक्षणका लागि अभियान चलाइरहनुभएका शेर्पा हिउँ पग्लिने क्रम र हिमालमा बढ्दो फोहाेर दुवै हिमाली पर्यावरणका लागि सङ्कटको विषय रहेको बताउनुहुन्छ ।

शेर्पा भन्नुहुन्छ, ‘आरोहण खुला गरेका धेरैजसो हिमालमा फोहोरको समस्या बढेको छ । विशेषगरी सगरमाथामा फोहाेर थुप्रिएको छ । फोहोरले हिमालमा बरफ पगाल्नेदेखि धेरै समस्या ल्याएको छ । हिमालमा फोहोर हुँदा त्यहाँबाट शुरू हुने नदीको तल्लो क्षेत्रमा पनि पानी दूषित हुन्छ ।’ जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढेको अध्ययन प्रतिवेदनहरूमा उल्लेख हुन थालेको भन्दै उहाँ भन्नुहुन्छ, ‘जलवायु परिवर्तनसँगै फोहोरले बरफ पगालेको सन्दर्भमा पनि अध्ययन आवश्यक छ ।’

हिमालमा कस्ता फोहाेर ?

सगरमाथाको माथिल्लो शिविरदेखि तलको पदयात्रा मार्ग वरपर आरोहण उपकरणका टुक्रा, अक्सिजन सिलिन्डर, पेय पदार्थका खाली सिसी, प्लास्टिक, मानव मलमूत्रलगायतका फोहाेर छन् । अक्सिजन सिलिन्डर र क्याम्पिङ उपकरणहरू वर्षाैंसम्म हिउँमै थुप्रिएर बस्छन् । सगरमाथामा आरोहण शुरू भएदेखिकै फोहाेर बाँकी रहेका आरोहीहरू बताउँछन् । फोहाेर हिउँमा पुरिने र देखिने क्रम चलिरहन्छ ।

हिमालमा रहेको फोहरमा मानव शव पनि रहेका छन् । हिउँ पग्लिएपछि दशकौं पहिले पुरिएका शव पनि देखिन थालेका छन् । हिमपहिरोले बगाएर ल्याएको हिउँबाट आधार शिविरमै मानव कङ्काल देखिन थालेको शेर्पाहरू बताउँछन् ।

फोहाेरका कारण देखिएका समस्या

जुनसुकै ठाउँमा पनि फोहाेरले समस्या निम्त्याउँछ । तर हिमालको समस्या थप संवेदनशील हुन्छ । फोहाेर व्यवस्थापन विज्ञ एवम् त्रिचन्द्र कलेजकी उपप्राध्यापक डा. ज्योति गिरी हिमालको फोहाेरलाई विशेष रूपमा लिनुपर्ने बताउनुहुन्छ ।

भौगोलिक कारण फोहोर सङ्कलन र व्यवस्थापनमा आउने जटिलता र हिमाल संवेदनशील भएकोले त्यहाँका पर्यावरणमा पर्ने असर दुवै फरक छन् । हिमताल र हिमनदीबारेमा विद्यावारिधि गर्नुभएका डा. मोहनबहादुर चन्द पनि फोहोरले हिमनदी र पानीका स्रोतहरू प्रदूषित हुने, हिममाटो र वनस्पतिमा विषाक्त पदार्थको असर बढ्ने, हिउँ पग्लने क्रममा तीव्रता आउने, जैविक विविधतामा ह्रास आउनेजस्ता समस्या देखिने बताउनुहुन्छ ।

सगरमाथा सफाइ अभियन्ता पीके शेर्पा पनि हिमाली वातावरणलाई प्रत्यक्ष असर गर्ने फोहाेरले वातावरणलाई गर्ने हानी सोचेभन्दा धेरै हुने बताउनुहुन्छ । हिउँ पानीको स्रोत हो । हिउँ पग्लिएर बगेको पानी निकै तलसम्म प्रयोग हुन्छ ।

यसैले हिमालमा हुने फोहाेरले पानीजन्य रोगहरूको जोखिम, स्थानीय बासिन्दा र पर्यटकको स्वास्थ्यमा जोखिमजस्ता समस्या पनि आउँछन् । फोहाेरले हिमाली क्षेत्रको सौन्दर्यमा ह्रास, पर्यटक आकर्षणमा नकारात्मक प्रभाव, दीर्घकालीन पर्यटन विकासमा चुनौतीजस्ता समस्याहरू पनि देखिन्छ ।

सगरमाथा सफाइको प्रयास

सगरमाथा क्षेत्रमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले सरसफाइको काम गरिरहेको छ । आरोहीहरूले आधार शिविरभन्दा माथिबाट फोहाेर फिर्ता ल्याउने व्यवस्थाको अनुगमनदेखि आधार शिविर र त्योभन्दा तलको सफाइको काम गर्दै आएको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पा बताउनुहुन्छ ।

पर्यटन विभागले सन् २०१९ देखि नेपाली सेनासँगको समन्वयमा सफाइ अभियान चलाइरहेको छ । यस्तै फोहोर फिर्ता ल्याउनुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयनमा कडाइलगायतका काम गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङ बताउनुहुन्छ ।

पर्यटन विभागले सेनासँग मिलेर चलाएको अभियान, एसपीसीसीले गरिरहेको नियमित काम, आरोहीले फोहाेर फिर्ता ल्याउनुपर्ने कानूनी व्यवस्थाको पालनालगायतको माध्यमबाट सगरमाथाबाट वर्षेनि ५० देखि ६० टन फोहर सङ्कलन र व्यवस्थापन भइरहेको एसपीसीसीका अध्यक्ष शेर्पाले बताउनुभयो ।

सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकाले पनि सगरमाथाको फोहाेर व्यवस्थापनका लागि नीतिगत निर्णय गरी प्रयास गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा सगरमाथा पुग्ने आरोहीहरूले माथिल्ला शिविरबाट दिसा फिर्ता ल्याउनुपर्नेलगायतका कार्यक्रम ल्याएर कार्यान्वयन गरिरहेको बताउनुहुन्छ ।

चर्चा र फोहाेर उस्तै

सफाइ अभियान, एसपीसीसीका माध्यमबाट भइरहेका नियमित काम, कानूनी व्यवस्थाको कार्यान्वयनलगायतबाट फोहाेरको व्यवस्थापन भइरहे पनि सगरमाथामा फोहाेरको विषयको समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्राथमिकता पाउँदै आएको छ । सर्वोच्च शिखर र संवेदनशील क्षेत्र भएकोले चासो बढ्नु स्वाभाविक पनि हो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको तथ्याङ्कअनुसार सगरमाथा आरोहणको सात दशकयता एक सय ४० टन फोहाेर थुप्रिएको अनुमान छ । तर पछिल्ला वर्षहरूमा पुरानो फोहोर सङ्कलन र अहिले व्यवस्थापन दुवै कुरालाई प्रभावकारी रूपमा अघि बढाएको पर्यटन विभागका निर्देशक गुरुङ बताउनुहुन्छ ।

गएको वसन्तयाममा सगरमाथा आधार शिविरमा सरकारी टोलीको नेतृत्व गर्नुभएका खिमलाल गौतम ल्याउन चुनौती भएकोले माथिल्ला शिविरमा फोहोर रहेको र आधार शिविर र आसपासमा भने चर्चाअनुसार फोहोर नरहेको बताउनुहुन्छ ।

समाधानका उपाय

सगरमाथाको फोहोर व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट प्रयास भइरहेको छ । पालिका र सङ्घीय सरकारबाट नीतिगत व्यवस्था, सफाइ अभियान सञ्चालन, जनचेतना अभिवृद्धिका काम भइरहेका छन् । तर भएका व्यवस्थाको कार्यान्वयन र कार्यक्रमहरूको प्रभावकारी सञ्चालनमा समस्या हुँदा फोहाेरको समस्या कायमै रहेको अभियन्ता पीके शेर्पा बताउनुहुन्छ ।

शेर्पा भन्नुहुन्छ, ‘फोहाेर व्यवस्थापनको नियम र मापदण्डमा थप कडाइ, प्लास्टिक र नष्ट नहुने वस्तुको प्रयोगमा प्रतिबन्ध वा फिर्ता गर्नुपर्ने व्यवस्था, धरौटी प्रणालीको कार्यान्वयन, जरीमाना र दण्डको व्यवस्था गरेमा हिमाल सफा राख्न सकिन्छ ।’

पर्यटक र पर्वतारोहीहरूलाई फोहर व्यवस्थापन तालिम, फोहर न्यूनीकरण र वर्गीकरणको अभ्यास, पुनः प्रयोग र पुनर्चक्रणको प्रवर्द्धन, स्थानीय समुदायको सहभागितामा नियमित सरसफाइ अभियानलगायतका काम पनि हिमाल सफा राख्न उपयुक्त हुन्छन् ।

फोहाेर व्यवस्थापन विज्ञ डा. ज्योति गिरी फोहोर सङ्कलन र ढुवानीका लागि नवीन प्रविधिको प्रयोग, बायोडिग्रेडेबल सामग्रीको प्रयोगमा जोड, फोहोरबाट ऊर्जा उत्पादनका विकल्प खोजीलगायतका काम गरेर सरकारले हिमालको फोहर व्यवस्थापन गर्न सक्ने बताउनुहुन्छ ।

नेपालका हिमाल विश्व सम्पदा हुन् । यिनको संरक्षण र सम्वर्द्धन सबैको दायित्व हो । फोहाेर व्यवस्थापनका लागि सरकार, स्थानीय समुदाय, पर्यटन व्यवसायी र पर्यटक सबैको साझा प्रयास आवश्यक छ । दीर्घकालीन र दिगो समाधानका लागि नीतिगत, व्यावहारिक र प्राविधिक पक्षमा एकीकृत प्रयास गर्नुपर्ने देखिन्छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया