प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने

 मंसिर १८, २०८१ मंगलबार ७:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । त्यस्तै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेटवार्ता भएपछि आज दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ ।

त्यस्तै उहाँले बेइजिङको नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते पर्सि बिहिवार स्वदेश फर्कनेछ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया