नेपाल–चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

टोखा–छहरे सुरुङमार्ग चीनले अनुदानमा बनाइदिने

 मंसिर १८, २०८१ मंगलबार १३:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो । नेपालले टोखा–छहरे सुरुङमार्ग अनुदानमा बनाइदिन चीन सरकारलाई प्रस्ताव गरेको छ । नेपालको प्रस्तावसम्बन्धी पत्र चीनले स्वीकार गरेको हो ।

सहमतिको दोस्रो बुँदामा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । यस्तै नौ तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । वार्ताका क्रममा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको र यसले नेपाल–चीनको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको उहाँले बताउनुभयो ।

हस्ताक्षर भएका ९ वटा बुँदाको शीर्षकमा 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) उल्लेख भएको छैन । प्रधानमन्त्री ओलीको भ्रमणअघि प्रमुख सत्ता साझेदार कांग्रेस र एमालेले बीआरआई कार्यान्वयनसम्बन्धी खाकामा सहमति जनाएका थिए । यसअघि यो विषयमा सत्तारूढ दलबीच मतभेद देखापरेको थियो । नेपालले सन् २०१७ मा नै चीनसँग बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म परियोजना कार्यान्वयनका लागि सहमति भएको छैन ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया