म्याग्दीको बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत चुरे क्षेत्रको विभिन्न ठाउँमा सडकको दाया–बाया भेटिवर भन्ने वनस्पति रोपिएको छ । भिरालो जमिनमा हुन सक्ने भू–क्षय तथा पहिरो रोक्नका लागि त्यहाँ भेटिवर प्रभावकारी देखिएको भेटिवर नेपालका व्यवस्थापक सुशन भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाँच किलोमिटरभन्दा बढी सडकको दायाबाया जैविक प्रविधिअन्तर्गत भेटिवर रोपिएको छ ।
काभ्रेको धुलिखेलका होटलहरूले पनि पहिरो रोकथामका लागि भेटिवर रोप्न थालेका छन् । पहिरोको दीर्घकालीन व्यवस्थापन र वातावरणमैत्री हुने भएकोले भेटिवर रोपेको क्षेत्रीय होटल सङ्घ धुलिखेलकी सचिव ज्योत्सना सैंजुले बताउनुभयो । अहिले परीक्षणका रूपमा दुई वटा होटलले भेटिवर रोपेका छन् ।
भेटिवरको प्रयोग शुरू भएका यी त उदाहरणमात्रै हुन् । पर्वत, कास्की, सिन्धुपाल्चोकलगायत जिल्लाका विभिन्न ठाउँमा भेटिवर रोपेर पहिरो रोकथाम, माटोको गुणस्तर सुधारलगायतका माध्यमबाट किसानले आम्दानी बढाएका छन् ।
भेटिवर कस्तो वनस्पति हो ?
यो झट्ट हेर्दा कुशजस्तो देखिने साधारण घाँस हो । यसले जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता राख्छ । यो निकै छिटो हुर्कन्छ । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस ५ फिटसम्म अग्लो हुन्छ । यसको पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । डाँठ सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रङ्गका फूल फुल्छन् । यसको सबैभन्दा महत्त्वपूर्ण भाग जरा हो । तारजालीजस्तै फैलिने यसको जरा जमिनमुनि १० फिटभन्दा तलसम्म पुग्छ । लामो र तारजालीजस्तै जरा भएकैले यो पहिरो रोकथामका लागि बढी प्रभावकारी भएको हो ।
धेरैतिर पाइने तर सामान्य सोचिएको भेटिवरले वातावरणीय संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्न सक्ने क्षमता राख्छ । यो विशेष प्रकारको घाँसले पूरै पारिस्थितिक प्रणालीलाई नयाँ आशा–सम्भावनाहरू प्रदान गरेको बायोइन्जिनियरिङ व्यवस्थापन तथा अनुसन्धान केन्द्र (बीएमआरसी) का टिम लिडर तथा भेटिवर विज्ञ विनोद न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार यो पशु तथा मानव स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ ।
भू–क्षय र पहिरो रोकथाममा प्रभावकारी
चाँडो हुर्कने र झाँगिने, जुनसुकै ठाउँमा पनि हुर्कन सक्ने र जरा लामो हुने भएकोले यो भू–क्षय तथा पहिरो रोकथामका लागि प्रभावकारी देखिएको छ । पहिरो विज्ञ श्रीकमल द्विवेद्वी धेरै ठाउँमा आफूले भेटिवरको प्रयोग गरेको भन्दै यसको प्रभावकारिता निकै राम्रो रहेको बताउनुहुन्छ । रोपेको अर्को वर्षदेखि नै काम गर्न थाल्ने यो बिरुवाले पहिरो रोकथाममा लागत घटाउनुका साथै पर्यावरणमैत्री काम गरेको उहाँ बताउनुहुन्छ ।
नेपालमा बाढी, पहिरो, नदी कटानजस्ता समस्या हरेक वर्ष बढ्दै गएको छ । जलवायुजन्य विपद्ले भौतिक पूर्वाधार, खाद्य सुरक्षा, रोग तथा कीटाणुलगायत समस्या वर्षेनि बढेका छन् । पछिल्लो समय प्राकृतिक विपद्काे जैविक समाधानका लागि बायोइन्जिनियरिङ प्रविधिलाई अनुशरण गर्ने क्रम बढेको छ । जोखिमयुक्त क्षेत्रमा भेटिवर घाँस रोप्नु सबैभन्दा उत्तम उपायका रूपमा विकसित हुँदै गएको भेटिवर नेपालका व्यवस्थापक सुशन भट्टराई बताउनुहुन्छ । काठमाण्डौ–तराई द्रुतमार्गमा गरेको कामको उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, ‘प्रयोग बढ्नुसँगै प्रभावकारिता पनि धेरै देखिएको छ ।’
पुल तथा सडक निर्माण, मानव बस्तीमा पहिरोको जोखिम नियन्त्रणदेखि कृषि क्षेत्रको विकाससम्मका लागि भेटिवर उपयोगी रहेको अध्ययनहरूले पुष्टि गरेका छन् । नेपालमा भेटिवरको तटबन्धले बाढी पहिरोका कारण बगरमा परिणत हुँदै गएका खेतीयोग्य जमिनलाई संरक्षण गरी पुनः कृषि भूमिका रूपमा पुनर्स्थापना गर्छ । नयाँ सडक निर्माण सक्नासाथ दाया–बायाका भू–भागमा यसलाई लगाए माटो बग्न र पहिरो झर्न रोकिने भेटिवर विज्ञ विनोद न्यौपाने बताउनुहुन्छ ।
फोहोर व्यवस्थापनमा भूमिका
प्रदूषित पानीको सफाइ गर्न र ल्यान्डफिल साइटमा हानिकारक रसायनबाट हुने क्षति कम गर्न भेटिवर असाध्यै उपयोगी हुने विज्ञ न्यौपाने बताउनुहुन्छ । काठमाण्डौ उपत्यकाको फोहोर थुपारिँदै आएको ठाउँमा भेटिवर रोपेमा फोहोरबाट निस्कने तरलसहित हानिकारक रसायनहरू खोलामा पुग्नबाट रोक्न सकिने उहाँको दाबी छ । न्यौपाने भन्नुहुन्छ, ‘फोहोरको थुप्रोबाट निस्कने तरल पदार्थ र दुर्गन्धसहितको प्रदूषणबाट स्थानीयवासीलाई मुक्ति दिन भेटिवर अचुक उपाय र समाधान हो ।’
भेटिवर घाँसको सबैभन्दा असाधारण विशेषता यसको जटिल र गहिरो जरा प्रणाली हो । तारजालीजस्तै भएर १० फिटभन्दा तल पुग्ने जराले माटोको संरचना, जल संरक्षण र कार्बनिक पदार्थको सङ्ग्रहमा महत्त्वपूर्ण भूमिका खेल्छ । जराले फोहोरलाई सोसेर जमिनको तलसम्म पुर्याई प्रशोधनमा भूमिका खेल्ने र बगिरहेको तरल फोहोरलाई नदीमा पुग्नबाट रोक्ने भएकोले यसलाई फोहोर व्यवस्थापनमा जैविक विधिका रूपमा प्रयोग गर्न सकिने फोहोर व्यवस्थापन विज्ञ डा. ज्योति गिरी बताउनुहुन्छ ।
जलवायु परिवर्तन र भेटिवर
जलवायु परिवर्तन अहिले विश्वव्यापी रूपमै चर्को समस्या बनेको छ । जलवायु परिवर्तनबाट समस्या भोगिरहेको र यसको असर कम गर्नका लागि ठूलो वित्तीय स्रोत आवश्यक रहेको विभिन्न देशहरूले भन्दै आएका छन् । यसका लागि गरिब देशहरूले धनी देशसँग वित्तीय सहयोगको दाबी पनि गरिरहेका छन् । केही दिनअघि सकिएको विश्वव्यापी जलवायु सम्मेलन कोप–२९ नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित थियो ।
जलवायु परिवर्तनको असर कम गर्नका लागि वित्तीय आवश्यकताको चर्चा गरिरहँदा भेटिवर रोपेकै कारण भएको वित्तीय सहयोगलाई पनि लिन सकिन्छ । भू–क्षय तथा पहिरो रोकथामका लागि यसको प्रयोग गर्दा जैविक विधि भएकोले यसले वातावरणलाई फाइदा पुर्याउने कुरा त छँदैछ, कङ्क्रिटको प्रयोग गर्दा हुनसक्ने थप हानिबाट पनि बचाउँछ । यस्तै फोहोर व्यवस्थापनलगायतका काममा हुने आधुनिक निर्माणभन्दा यो पर्यावरणमैत्री हुने र सँगै आम्दानीको स्रोत पनि हुने भएकोले यो आर्थिक दृष्टिबाट पनि लाभदायी रहेको भेटिवर विज्ञ विनोद न्यौपाने बताउनुहुन्छ ।
अध्ययन प्रतिवेदनहरूका अनुसार भेटिवरमा कार्बन अवशोषण क्षमता बढी छ । एक हेक्टर भेटिवर बालीले प्रतिवर्ष झन्डै एक सय टन कार्बनडाइअक्साइड अवशोषण गर्न सक्छ, याे अन्य वनस्पतिको तुलनामा असाधारण मात्रा हो ।
यस्तै यसले भू–स्खलन नियन्त्रण, माटोको गुणस्तर संरक्षण, भू–क्षय रोक्न, जलवाहिनी संरक्षण, प्रदूषित माटोको सफाइ, जैविक विविधता अभिवृद्धिलगायतका काम गर्ने भएकोले जलवायु परिवर्तनसम्बन्धी समस्या न्यूनीकरणका लागि उपयोगी हुन्छ ।
भेटिवर घाँसलाई धातु, पेट्रोलियम र रासायनिक प्रदूषणको उपचारमा प्रयोग गर्न सकिन्छ । यसको जरा प्रणालीले प्रदूषक तत्त्वहरूलाई अवशोषित र निष्क्रिय पार्न सक्ने भेटिवर विज्ञ न्यौपानै बताउनुहुन्छ ।
भेटिवरका अन्य प्रयोग
भेटिवरको घना र तिखारिएका पात हुने भएकाले धान, मकैलगायतका अन्नबालीमा रोग–कीरा लाग्नबाट जोगाउन पनि मद्दत पुग्छ । खेतबारीमा बिरुवाहरूको सुरक्षाका लागि बारका रूपमा प्रयोग गर्न सकिन्छ । विज्ञहरूका अनुसार पोखरीमा माछा पालन गरेका किसानले छेउछाउ भेटिवर लगाएमा सर्प आउँदैनन् ।
यस्तै किसानले आफ्ना खेतबारीमा कान्ला खस्ने समस्या भएमा भेटिवर रोप्न सक्छन् । भेटिवरलाई गाईवस्तुका लागि पोषिलो दानाका रूपमा प्रयोग गर्न सकिन्छ । कतिपय ठाउँमा यसलाई औषधिका रूपमा पनि प्रयोग गरिएको छ । भेटिवरबाट टोपी, झोला, सौन्दर्यका सामग्रीलगायतका सामान उत्पादन गर्न सकिने विज्ञ विनोद न्यौपानेले बताउनुभयो ।
नेपालका पहाडी र तराई क्षेत्रहरूमा भेटिवरको खेतीबाट किसानको आय बढाउन, भू–क्षय नियन्त्रण गर्न र जलवायु लचिलोपन बढाउन सकिने भए पनि जानकारीमा सीमितता, अनुसन्धानको कमी, आर्थिक लगानीको अभावजस्ता समस्या रहेकोले भेटिवरको विस्तारका लागि सरकारी प्रोत्साहन, अनुसन्धान र विकास तथा किसान प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भेटिवर विज्ञ न्यौपानेको भनाइ छ ।
भेटिवर घाँस हेर्दा सामान्य वनस्पति भए पनि जलवायु परिवर्तनका विरुद्ध एक शक्तिशाली हतियारका रूपमा देखिएको छ । यसको व्यापक उपयोग र वैज्ञानिक अनुसन्धानले नेपाल र विश्वलाई अधिक दिगो र हरित भविष्यतर्फ अग्रसर गर्न सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।