नेपाल र चीनको संयुक्त वक्तव्य : बीआरआई फ्रेमवर्कमा छिटोभन्दा छिटो हस्ताक्षर हुने

 मंसिर १९, २०८१ बुधबार ६:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । हिजो प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा नेपाल र चीनबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।

उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा दुई देशका नेताहरूले  सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा चीन–नेपालको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूबारे गहिरो आदानप्रदान गरेको तथा व्यापक विषयहरूमा सहमतिमा पुगेको उल्लेख छ ।

यस्तै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको, चीन नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको कुरा दोहोरिएको छ ।

दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन बन्दरगाह, सडक, रेलवे, उड्डयन, पावर ग्रिड, र टेलिकम जस्ता क्षेत्रहरूमा सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको, जसले नेपाललाई भूपरिवेष्ठित देशबाट भूलिङ्कित देशमा रूपान्तरण गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, चीनले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण र हिल्सा–सिमकोट सडक परियोजना अगाडि बढाउने विषय पनि संयुक्त वक्तव्यमा उल्लेख छ । काठमाण्डौ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यन्वयन गर्ने र टोखा–छहरे सुरुङको सम्भाव्यता अध्ययन चीनले गरिदिने सहमति भएको पनि वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा स्याफ्रुबेशी–रसुवागढी राजमार्ग मर्मत परियोजनालाई अघि बढाउँदा दुवै पक्षले राजमार्गको बाधा हटाउन र यसको निर्माणलाई तीव्रता दिन सहमति जनाएको उल्लेख छ । कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका तीन उत्तर–दक्षिण करिडोरहरूका विकासका लागि सहकार्यको सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता गरिएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

जिलोङ–केरुङ–रसुवागढी बन्दरगाह, झाङ्मु–कोदारी बन्दरगाह, पुलान–यारी बन्दरगाह, र लिजी–नेचुङ (कोरला, मुस्ताङ) बन्दरगाहहरूको सुव्यवस्थित सञ्चालनको पनि विषय पनि संयुक्त वक्तव्यमा उल्लेख छ । चीनले कोरला, मुस्ताङमा भन्सार डिपोर एकीकृत जाँच पोस्ट निर्माणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ ।

जिलोङ–केरुङ–काठमाण्डौ क्रस–बोर्डर रेलवेको सम्भाव्यता अध्ययन अघि बढाउने र चीन–नेपाल रेलवे सहकार्यको नवौँ बैठक आयोजना गर्ने विषयमा पनि सहमति भएको बक्तव्यमा उल्लेख छ । चीनले सहायता गर्ने जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस–बोर्डर पावर ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ ।

नेपाली पक्षले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास तीव्रताका साथ अघि बढाउन, झापाको दमकमा खेलकुद रङ्गशाला निर्माण गर्न र डडेलधुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माण गर्न चीनलाई अनुरोध गरेको पनि वक्तव्यमा उल्लेख छ ।

यस्तै नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र ‘बेल्ट एन्ड रोड’ (बीआरआई) परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् ।

दुवै देशले ‘ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र ‘बेल्ट एन्ड रोड सहकार्यको ढाँचा’ सम्बन्धी समझदारीपत्रमा छिटोभन्दा छिटो हस्ताक्षर गर्ने तत्परता व्यक्त गरेका छन् ।

‘यस सहकार्यले बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, विद्युत् ग्रिड र दूरसञ्चारजस्ता क्षेत्रमा दुई देशबीचको सम्पर्क सुदृढ गर्दै नेपाललाई भूपरिबेष्टित राष्ट्रबाट भूसंलग्न राष्ट्रमा रूपान्तरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ’ वक्तव्यमा भनिएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया