सहकारी ठगी प्रकरण : पर्सामा लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी

 मंसिर २६, २०८१ बुधबार ७:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग हिजो जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ ।

सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिनुभएको हो । सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज लगिएको थियो । उनलाई आज पोखरा फिर्ता पठाउने तयारी छ ।

सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाण्डौ र चितवन लगिएको थियो । यसैबीच अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गर्नुभएको थियो ।    

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया