भूउपग्रह ‘मुनाल’ को प्रक्षेपण अबको ३ महिनाभित्र, ‘डाँफे’ को रद्द

 पुष १३, २०८१ शनिबार १२:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले एकै पटक दुई वटा भूउपग्रह (स्याटेलाइट) प्रक्षेपणको तयारी गरेकोमा एउटाको रद्द भएको छ भने अर्कोको तीन महिनाभित्र प्रक्षेपण गर्ने तयारी छ ।

‘डाँफे’ र ‘मुनाल’ नामका दुई वटा भूउपग्रहमध्ये ‘डाँफे’ को प्रक्षेपण स्थगित भएको र ‘मुनाल’ को प्रक्षेपण गर्ने तयारी भइरहेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव रवीन्द्रप्रसाद ढकालका अनुसार मुनालको चित्र भएको भूउपग्रह अबको तीन महिना अर्थात् मार्चसम्म प्रक्षेपण गर्ने तयारी छ । मुनालसँगै डाँफेको चित्र भएको भूउपग्रह प्रक्षेपण गर्ने तयारी भए पनि बजेट व्यवस्थापन हुन नसक्दा अहिलेलाई स्थगित गरिएको ढकालले बताउनुभयो ।

‘मुनाल’ को प्रक्षेपण भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) बाट हुनेछ । यो परियोजनाले नेपाललाई अन्तरिक्ष प्रविधिमा मात्र नभई विज्ञान र प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ । ‘मुनाल’ भूउपग्रहले पृथ्वीको तस्वीर सङ्कलन, जलवायु परिवर्तन र मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने नास्टका सचिव ढकालले जानकारी दिनुभयो ।

नेपालले पाँच वर्षअघि पहिलो पटक 'नानो स्याटेलाइट' अर्थात् सानो भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसलाई नेपालको अन्तरिक्ष यात्रामा महत्त्वपूर्ण उपलब्धि मानिएको थियो । त्यसको पाँच वर्षपछि नास्टले अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा ‘मुनाल’ भूउपग्रह बनाएर प्रक्षेपणको तयारी गरेको छ । ‘मुनाल’ भूउपग्रहको प्रक्षेपणले नेपाललाई अन्तरिक्ष विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ युगतर्फ प्रवेश गराउने नास्टको विश्वास छ ।

नास्टले भविष्यमा ठूला भूउपग्रह निर्माण, प्रविधिको विकास र सञ्चार प्रविधिको सुधारमा ध्यान केन्द्रित गर्ने योजना बनाएको सचिव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यस परियोजनाले विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञानमा सहभागी गराउन पनि प्रेरित गर्नेछ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया