आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – एक सय १० वर्षअघि शुरू भएको पहिलो विश्वयुद्ध चार वर्ष चलेर ठूलो जनधनको विनाशपछि रोकिन पुग्यो । त्यस युद्धमा खटिएका नेपाली सैनिक जवानहरूका व्यक्तिगत भत्ताबापत प्राप्त रकमबाट तात्कालीन श्री ३ चन्द्र शमशेरले युद्धमा ज्यान गएका सेनाहरूको सम्झनामा काठमाण्डाैकाे टुँडिखेलमा रहेकाे महाङ्काल मन्दिर अगाडि अस्पताल बनाउन लगाएर ‘श्री त्रिभुवन–चन्द्र मिलिटरी अस्पताल’ नामकरण गरे । त्यसको उद्घाटन तात्कालीन राजा त्रिभुवनसहित आफैंले १९८३ साल भाद्र २४ गतेका दिन गरेर चन्द्रले अस्पताल परिसर अगाडि सैनिक पोशाक र शस्त्रसहितको सालिक पनि बनाएर राख्न लगाए । त्यस सालिकका निर्माता काठमाण्डाैकै रत्नबहादुर तुलाधर थिए । उनलाई सम्मान स्वरूप ‘मेम्बर’ पदवी दिइयो ।
उनै रत्नबहादुरले सिंहदरबारको अग्रभाग बरण्डामा पश्चिम मूलद्वारतर्फ फर्किएको आकर्षक सिंह बनाए जुन नेपालको सत्ता र शक्ति केन्द्र बन्दै आएको दरबारकै पर्यायका रूपमा अद्यापि फरफराइरहेको राष्ट्रिय झण्डा उचाल्दै गरेको देख्न सकिन्छ । तिनै रत्नबहादुरले पछि काठमाण्डाैको पशुपतिनाथ रहेको परिसरभित्र तात्कालीन राजा महेन्द्रको पूर्ण कदको सालिक बनाएर ठडाए भने उनै राजाकी प्रथम रानी इन्द्र राज्य लक्ष्मीको सालिक बनाएकोलाई थापाथलीमा रहेकाे प्रसूति गृह परिसरमा राखियो । त्यसैगरी पुतलीसडकमा रहेकाे पद्मोदय हाई स्कूलमा रहेको अर्धकदको अर्का राणा प्रधानमन्त्री पदम शमशेरको सालिक पनि उनकै हातबाट बन्यो ।
रत्नबहादुरमा रहेको मूर्तिकला प्रतिभा विक्रम संवत् १९९० साल माघ २ गते गएको महाभूकम्पलगत्तै जन्मिएका उनका सुपुत्र बालकृष्णमा झनै प्रखर भएर देखापर्यो । आफ्ना बुबाको निधनपछि जागिरमा प्रवेश गर्नुभएका बालकृष्ण तात्कालीन नेपाली सेनाको हतियार बनाउने प्रमुख कारखानाका रूपमा रहेको सुन्दरीजल क्याभलरीमा जीवनभरि सेवा गरेर निवृत्त हुनुभयो ।
मूर्तिकलामा निपुण बालकृष्णले काठमाण्डाैकाे मध्यभागमा पूरा गरेर २०१८ सालको असोज १ गते उद्घाटन भएर शहीद गेटको आकर्षण बनिरहेको राजा त्रिभुवनदेखि चार शहीदहरू शुक्रराज शास्त्री जोशी, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठका सालिक आफ्ना बुबासँगसँगै बनाउन थाल्नुभयो । त्यसपछि उहाँले टुँडिखेलको सैनिक मञ्च अगाडि राखिएका ६ जना सिपाहीका वास्तविकता चित्रण गर्ने प्रतिमूर्ति पनि बनाउनुभयो । यसरी सेना, शहीद साथै राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूका जीवन्त हाउभाउलाई आकृतिमा उतार्ने क्रममा बालकृष्णले तात्कालीन राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्र, रानी ऐश्वर्यका सालिक पनि बनाउनुभयो जुन देशका विभिन्न महत्त्वपूर्ण स्थानहरूमा ठड्याइएका छन् । यसैगरी तत्कालीन राजाहरूले लगाउने ११ वटा श्रीपेच पनि उहाँले बनाउनुभयो जुन अहिले पोखरामा रहेकाे वन बाटिकामा राखिएका छन् ।
राष्ट्रिय विभूतिद्वय अरनिको र पासाङ ल्हामु शेर्पाका सालिक पनि उहाँकै शिल्पी हातबाट निर्माण भए । साहित्यिकतर्फ आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटाका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको त्रिमूर्ति निकेतनमा राखिएका साहित्यका नक्षत्रहरू देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समका पनि सालिक उहाँले बनाउनुभयो भने चीनको स्वशासित प्रान्त ल्हासामा राखिएको देवकोटाको सालिक पनि उहाँकै सिर्जनामा पर्दछन् । यसैगरी काठमाण्डाैको कालीमाटी चोकमा उभ्याइएको कवि केशरी चित्तधर हृदय र बाफलमा उभ्याइएकी कवयित्री रमोला देवी मानन्धर शाहका सालिकले पनि उहाँको मूर्तिकलालाई चिनाइरहेका छन् ।
राजनीतिक व्यक्तित्वतर्फ नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, लौह पुरुष गणेशमान सिंह, प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, नेपाल महिला सङ्घकी संस्थापक नेत्री मङ्गलादेवी सिंह, २०४६ सालका शहीद गोपी महर्जन, टङ्कप्रसाद, दासढुङ्गा दुर्घटनामा परेर निधन भएका नेकपा (एमाले) का तात्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिक पनि यथोचित स्थानमा मूर्तिकार बालकृष्णकै कृतिका रूपमा देख्न पाइन्छ । त्यसैगरी क्रान्तिकारी रामप्रसाद राईको सालिक विराटनगरमा र २०४६ सालमा भएको जनआन्दोलनका शहीद लालबहादुर बमको सालिक काठमाण्डाैकाे बबरमहलमा नेपाली जनताले देख्न पाइरहेका छन् जुन मूर्तिकार बालकृष्णकै परिश्रमबाट बनेको थियो ।
यसैगरी प्रसिद्ध इतिहासकार एवम् पूर्वमन्त्री डा. डिल्लीरमण रेग्मी, भूगोलविद् डा. हर्क गुरुङ, शिक्षासेवी जीवनप्रसाद, शिक्षा परिषद्मा गोपाल पाण्डे, मिर्चैयामा सद्बाबा, परमेश्वर सिजापति, आङ्ग दार्जे लामा, रेडक्रसका संस्थापक प्रिन्सेप शाह साथै दक्षिण एशियाली सात राष्ट्रका प्रतिमाहरूमा पनि सिर्जनशील बालकृष्णको कलाकारिता देख्न सकिन्छ ।
यी र यस्ता मूर्तिकलाहरूले देशको कला जगत्लाई योगदान पुर्याएका बालकृष्णले आफ्ना पुत्रहरूलाई पनि योग्य मूर्तिकार बन्न प्रशिक्षण दिनुभयो । वर्तमानमा तीन पुस्ते मूर्तिकारका रूपमा ख्याति पाएको उहाँका परिवारकै कनिष्ठ पुत्र राजु तुलाधरले पनि बुबाबाट सिकेर राष्ट्रिय जीवनका थुप्रै महत्त्वपूर्ण व्यक्तित्वहरूका शालिक बनाइसकेका छन् र बनाइरहेका छन् । यसका बाबजुत ९० वर्षीय बालकृष्णले अझै कालभैरवको मूर्ति बनाउन आफूले ध्यान केन्द्रित गरिरहेको यस पङ्क्तिकारलाई बताउनुभयो ।
४८ वर्षीय राजुले पनि आफ्ना हजुरबुबा र बुबाका पदचिह्न पछ्याउँदै नयाँ पुस्ताका प्रतिभाशाली मुर्तिकारका रूपमा ख्याति पाइरहेका छन् । उनले पनि राजनीतितर्फ राजाहरू पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र साथै देशकै प्रथम शहीद लखन थापा, चार अग्रणी शहीदहरूसहित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीहरूका कैयौं सालिक बनाएका छन् ।
नेपाल राष्ट्र निर्माण गर्न विभिन्न कालखण्डमा भएका युद्धहरूमा शहीद भएका साथै रगत बगाएका योद्धाहरूका सालिक निर्माणमा निपुणता हासिल गरेर विभिन्न पुरस्कार तथा सम्मान पाइसकेका राजुले हालसालै पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकलाई पूर्णता दिएका छन् । उनले बनाएका योद्धाहरू बलभद्र कुँवर, बहादुर शाह, अमरसिंह थापा, कर्णेल उजिरसिंह थापा, भीम सिंह, झाकल गुरुङ, कालु थापा, रणसिंह बस्नेतलगायतका सालिकले नेपाली सेनामा मूर्तिकलाको भण्डार समृद्ध बनाउन सहयोग पुर्याएको छ ।
यसबाहेक उनका कलाकृतिमा कवि मविवि शाहदेखि सिद्धिचरण श्रेष्ठलगायत विभिन्न साहित्यिक व्यक्तित्वहरू मणिहर्ष ज्योति, पत्रकार डेकेन्द्र थापा, तीर्थराम बज्राचार्य, पेमा छिरिङ गुरुङ, सगुन ताम्राकार, इन्द्रभक्त श्रेष्ठ, कृष्णप्रसाद गौतम, दीर्घराज अधिकारी, डा. थिरमान शाक्य, जनयुद्धका शहीदहरू, मधेश आन्दोलनका शहीदहरू र विभिन्न देवीदेवताका मूर्तिहरू पनि बनाएका छन् ।
बुटवलमा सात वटा प्राचीन रामापिथेकसका प्रतिमूर्ति बनाएर आदिम मानवदेखि आधुनितासम्मको मूर्तिकला निर्माणको ज्ञान हासिल गरेका राजुको कलाकारिताबाट सर्वसाधारणदेखि उच्च ओहेदामा आसिन पदाधिकारीहरू परिचित छन् । कैयौं अविस्मरणीय घटनाक्रमहरू सङ्ग्रह गर्दै उनी अघि बढिरहेकै छन् ।
नेपालमा सालिक बनाउने कला पढ्ने र पढाउने उच्चकोटीको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा शताब्दी वर्ष इतिहास भएको तुलाधर परिवार एउटा नमूना विद्यालयजस्तै भएको छ । तर त्यस्तो परिवारको कलाकारिता र ऐतिहासिक विकासक्रमबारे नयाँ पुस्ताले संस्थागत रूपमा पढ्ने वा पढाउने वातावरण पनि नबनेकोमा नयाँ पुस्तामा असन्तुष्टि छ । यसतर्फ आफूले सक्दो सहयोग गर्न तयार रहेर पनि केही गर्ने वातावरण बन्न नसकिरहेकोमा राजु तुलाधर दुःखी छन् ।
यसरी प्रथम विश्वयुद्धदेखि शुरू भएको तुलाधर परिवारको सालिक निर्माणको कथा वर्तमानमा नाति पुस्ता हुँदै काठमाण्डाैको जहरसिंह पौवामा प्रधानसेनापति शिवराम सिंह बस्नेतको पूर्ण कदको सालिक निर्माणसम्म आइपुग्दा झनै निखारपना देखिन थालेको छ । वास्तवमै यो परिवार नेपालको युद्धकला मूर्ति विज्ञानको अनुपम परिवार बनेको छ जसलाई संसारले सदा नेपालको कलाका रूपमा देख्न पाइरहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।