त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा

 चैत १९, २०८१ मंगलबार १२:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा आएको छ । गएको कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टामात्रै रहेकामा आजदेखि सञ्चालन अवधि बढेको हो ।

सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ उडान तालिकासमेत निर्धारण गरेको छ ।

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डानुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि बढाएको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने ‘लिङ्क वे’ को निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।

अब काठमाण्डौ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको सङ्ख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ । तर अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो ।

विमानस्थलको स्तरोन्नति शुरू हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै खुलिसक्थ्यो ।

अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया