काठमाडौं–जनकपुर साइकल यात्रा सुरु

 मंसिर २३, २०७५ आइतबार १५:१४:६ | उज्यालो सहकर्मी

काठमाडौं – ऐतिहासिक सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरु गरिएको छ ।

हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै साइकल यात्रा शुभारम्भ गरिएको हो ।आइतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा र रुद्राक्षको माला साइकल यात्रीलाई लगाइदिएर साइकल यात्राको शुभारम्भ गर्नुभयो ।

८५ जना साइकल यात्री सहभागी रहेको काठमाडौं–जनकपुर साइकल यात्रा वीर पूर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरको रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर आइतबार साइकल यात्रा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यो साइकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर देशको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली वीरहरुले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षको पनि काठमाडौं–जनकपुर साइकल यात्राले स्मरण गराएको पनि बताउनुभयो । आइतबार पशुपतिनाथबाट सुरु भएको साइकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

पशुपति क्षेत्र विकास कोषको संयोजनमा आयोजना गरिएको काठमाडौं–जनकपुर साइकल यात्रीलाई कमलामाई नगरपालिका, सुनकोशी नगरपालिका, बर्दिबास नगरपालिकाले पनि आ–आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गर्ने कार्यक्रम छ ।

सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्न विगत केही वर्षयता काठमाडौं–जनकपुर साइकल यात्रा आयोजना हुँदै आएको छ  ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया