कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभीरको सडक विस्तार र ढलान सम्पन्न

 फागुन २६, २०८१ सोमबार १२:४३:४१ | रासस
unn.prixa.net

म्याग्दी – भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभीर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको छ ।

काभ्रेभीरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

अक्करे भीरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको चालक सुदीप खड्काले बताउनुभयो ।

सडक खण्डको धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको योजनाका इन्जिनियर विष्णु चापागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभीर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको छ ।

सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र गाडी चल्ने गरेकामा अहिले आठ मिटर फराकिलो बनाइएको हो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया