केरुङ - काठमाडौं रेल मार्गसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन तयार

 मंसिर २४, २०७५ सोमबार १६:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चीनले केरुङ - काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । 

काठमाडौंमा सोमबार आयोजित नेपाल - चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ - काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी प्रतिवेदन बुझाएको हाे ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनु भयो । बैठकमा दुवै पक्षबीच त्यस प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल गरिएको छ ।

बैठकले काठमाडौं-पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले बताउनु भयो ।

१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं-पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ ।

नौ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको याे रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यता, केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत भएका छन ।

चीनमा आयोजना हुने याे कमिटीको आगामी बैठकले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताउनु भयो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि रेलमार्ग निर्माणको तयारीको कामले गति लिएको हो ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया