उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा

 फागुन २५, २०८१ आइतबार १७:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि मौसमी नयाँ प्रणाली भित्रिने मौसमविद्को अनुमान छ । यसले वर्षा र हिमपात गराउन सक्ने पूर्वानुमान छ । देशको पश्चिमी क्षेत्रबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागसम्म बदली गराउने सम्भावना छ ।

आउँदो चैत एक गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

यसैबीच पर्याप्त वर्षा नहुँदा काठमाण्डौ उपत्यकाकाे वायु प्रदूषण बढेको छ । देशका उच्च पहाडी र हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात भए पनि प्रदूषण हट्ने गरी वर्षा नहुँदा प्रदूषण हट्न अझै केही दिन लाग्ने छ ।

त्यस्तै काठमाण्डौ  आज विश्वकै पाँचौँ वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यूएअरका अनुसार काठमाण्डौको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ ।

भियतनामको हनोई प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँको वायु प्रदूषण २१० एक्यूआई मापन गरिएको छ । चीनको बेइजिङ दोस्रो स्थानमा छ । त्यस्तै बङ्गलादेशको ढाका तेस्रो र छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली चौथो स्थानमा छ । ५० एक्यूआई भन्दामाथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ ।   

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया