थप तीन लाख वेबसाइट बन्द गछौं : मन्त्री बाँस्कोटा

 पुस १, २०७५ आइतबार १९:२०:१३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताउनुभएको छ ।

आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ ।’

इन्टरनेटको पहुँचसँगै अश्लील वेबसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिक स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेबसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

‘देशभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘एक वर्षभित्र १ सय ५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्‍याइनेछ ।’ टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उहाँले आग्रह गर्नुभयो । ‘टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्’, उहाँले भन्नुभयो ।

नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुर्क्याए पनि त्यही चाहिने भइसकको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेलिकम आमा जस्तै हो, कहिलेकाहीँ मर्मत वा अन्य केहीले सेवा ढिलो वा बन्द हुँदा घुर्क्याउने हो, घुर्क्याएपछि आमा चाहिएजस्तै हो टेलिकम ।’

नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताउनुभयो । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको १७ औँ हो ।

मन्त्री बाँस्कोटाले आइतबार नै बेथानचोक गाउँपालिका–३, महाँकालस्थित कृष्णगोपाल माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सरकारले एक वर्षमा ९०० सामुदायिक विद्यालयमा इन्टरनेट सुविधासहित कम्प्युटर ल्याबको स्थापना गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया