सरकारी अस्पतालमा सरकारले सेवा, सुविधा र प्रविधिको विकास गर्दैछ : स्वास्थ्य मन्त्री यादव

 पुस २, २०७५ सोमबार १७:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले सञ्चालन गरेको देशभरका अस्पतालहरुमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकारले ध्यान दिइरहेको बताउनु भएको छ । 

स्वास्थ्य मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्न सके मात्रै विरामीले पनि सेवा सुविधाबाट बञ्चित हुनु नपर्ने बताउनुभयो ।

देशभरमा सञ्चालित अस्पताल र स्वास्थ्य चौकीमासेवा प्रदान भइरहेको सुविधाको अनुगमन गरी कुनैमा समस्या भए छिट्टै समाधान गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याहरुलाई समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिँदै उप–प्रधानमन्त्री यादवले सबै जिल्लाहरुमा सञ्चालित अस्पतालमा विरामीहरुलाई सुविधा दिनेगरी आवश्यक स्रोत साधनको प्रयोग गर्नुपर्ने औँल्याउनुभयो ।

कुनै पनि सरकारी अस्पतालमा सेवा सुविधा राम्रो नभएको भन्ने चर्चा चलिरहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि व्यवस्थापन राम्रो हुनु पर्ने भनाई राख्नुभयो ।

स्वास्थ्य बीमाको प्रथम किस्ता तिर्नेको संख्या धेरै भए पनि दोस्रो किस्ता तिर्नेको संख्यामा कमी आउनुको कारण खोज्नु पर्नेमा जोड दिँदै उहाँले अस्पतालले दिने सेवा सुविधामा कमीकमजोरी भएकाले बीमा नवीकरणको संख्या न्यून भएको भनाई राख्नुभयो । 

देशको आवश्यकतालाई बुझेर काम गरे लक्ष्य पूरा हुने भन्दै उहाँले अहिले अस्पतालमा राम्रो उपचार पाइनँ भन्ने गुनासो धेरै आएकोले यो गुनासोलाई न्यून गरी सेवा सुविधा बढाउन ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अस्पतालको संख्यामा वृद्धि गर्दै सेवा र सुविधाबाट कोही पनि बञ्चित नहुने गरी सेवा दिनु आवश्यक रहेको औँल्याउनुभयो । 

सोमबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा विभिन्न वक्ताहरुले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु, गरिएका प्रयासहरुकाबारेमा चर्चा गरेका थिए । देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालयहरु, प्रदेश कार्यालयहरु लगायतबाट प्रतिनिधिहरु, दातृ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया