विनयकुमार कसजू : ग्रामीण पत्रकारिताका पर्याय

 चैत २२, २०८० बिहिबार १३:६:११ | गोपाल गुरागाईं
unn.prixa.net

नामले विनयकुमार कसजूलाई मैले चिनेको २०३९ सालमै हो । तर उहाँलाई भेट्ने सुयोग चाहिँ २०४७ सालको जेठ तेस्रो साता मात्रै जुर्‍याे । चिनेको र भेटेको १८ वर्षे अन्तरालमा मैले विनय कसजूका लघु कथा, टिप्पणी, रचना र सत्य साप्ताहिकमा छापिएका अनेकौँ सम्पादकीयहरू पढिसकेको थिएँ । प्रकाश साप्ताहिकको प्रकाशनलाई ०४२ सालको भदौताका बाग्मती अञ्चलाधीशले बन्द गरेपछि हामीले दृष्टि साप्ताहिक प्रकाशन गर्न थालेका थियौँ । प्रकाशक शम्भु श्रेष्ठ पाल्पाकै भएकाले बेला बेला विनय कसजूको कुरा भइरहन्थ्यो । तर भेटघाट जुरेको थिएन । दृष्टिमा मैले लेखेका समाचार र टिप्पणी विनयजीले पढेको कुरा बेला बेला म थाहा पाउँथे । उहाँसित एक–दुईपल्ट टेलिफोनमा कुराकानी पनि भइसकेको थियो । त्यसैले विनयजीसित भेट भएपछि हामी दुईलाई एकअर्कासित पेशागत र व्यक्तिगत भलाकुसारी शुरु गर्न र त्यसमा गफिन खासै समय लागेन ।

भेटघाट हुनुअघि उहाँलाई मैले चिनेको तरिका अहिलेका लागि अचम्मै लाग्दो छ । विराटनगरमा त्यो बेला म दिउँसो कोशी पुस्तक पसलमा बस्थेँ र राति कलेज पढ्थेँ । २०३८ साल मङ्सिरकाे अन्त्यमा तीन साता विराटनगरको जेलमा थुनिएर निस्केपछि घृत न्यौपाने (स्वर्गीय) र मैले विराटनगरमा कोशी पुस्तक पसल शुरु गरेका थियौँ । किताब मात्र बेच्दा पसल खासै चलेन । त्यसपछि सो पसल विराटनगरको ट्राफिक चोकमा सारेर पत्रपत्रिका पनि बेच्न थालियो । हाम्रो पसलमा काठमाण्डाैबाट निस्कने साप्ताहिकका साथै साहित्यिक पत्रिका पनि आउँथे । भारतबाट आउने दैनिक बाहेक दिनमान, सारिका र कादम्बिनी जस्ता पत्रिका विराटनगरमा लोकप्रिय थिए र ती पत्रिका पनि हाम्रो पसलमा नियमित आउँथे । विराटनगर त्यो बेला औद्योगिक नगर मात्र हैन, नेपाली साहित्य र राजनीतिको पनि केन्द्र थियो । कवि र साहित्यकारहरू भानुभक्त पोखरेल, दधिराज सुवेदी, कृष्णभूषण बल, प्रमोद प्रधान, महेश प्रसाईं, देबकुमारी थापा, इन्दिरा प्रसाईं, लक्ष्मण नेवटिया जस्ता नाम चलेका र साहित्यमा भर्खर बामे सर्दै गरेका सुवास ढकाल, जीनाथ धमला जस्ता मेरा अनेक साथीहरू नियमित कोशी पुस्तक पसलमा आइपुग्थे ।

एकदिन हाम्रो पसलमा साह्रै सानो पत्रिका आयो । नाम थियो हवाई पत्रिका । हुलाकबाट आएको हवाई पत्रमा त्यो पत्र पाउने केही कवि र साहित्यकारहरूको नाम पनि थियो तर ठेगानाको ठाउँमा कोशी पुस्तक पसल लेखिएको थियो । त्यो हवाई पत्र पाउनेमा मेरो नाम पनि थियो । हवाई पत्रिकामा धेरै लेखक, कविका छोटा र चोटिला कविता तथा लघुकथा छापिएका थिए । पछि पछि यस्ता पत्र बाक्लै आउन थाले । कहिले पाल्पाबाट र कहिले पोखराबाट । तर हवाई पत्र पढ्दा मेरो मनमा दुई जनाको नाम सधैँका लागि सम्झना बनेर बस्यो । यी दुईमा एकजना थिए कवि विजय बजिमय जो पोखराबाट हवाई पत्रिका पठाउँथे । र अर्का थिए कथाकार विनय कसजू । टिकटसहित किन्न पाइने हवाई पत्रमा लघुकथा र कविता छापेर पठाउने काम विजय र विनयमध्ये कसले पहिले शुरु गरे भन्ने कुरा अब इतिहासकारले निर्क्याेल गरून् । तर हवाई पत्र हात परेपछिका दिनमा म चाहिँ विनय र विजयका रचना कतै छापिएको देखेपछि चाखले पढ्न थालेँ । विराटनगरका कवि र कथाकारका कविता र कथा हवाई पत्रमा छापेर देशका अरू साहित्यकारलाई पठाउने काम विराटनगरका कवि लक्ष्मण नेवटियाले पनि गरे । विराटनगरबाट लक्ष्मण नेवटियाले पठाउने हवाई पत्रिकाका केही अङ्क विनय कसजूका हात परेकै हुनुपर्छ । र विनयजीको जतन गर्ने बानीबाट तिनले अझै जीवित रहने मौका पाएका होलान् भन्ने मेरो अनुमान छ ।

खाम र टिकटविनाको हवाई पत्रबाट चिनेका विनय कसजूलाई भेट्न चाहिँ मलाई १८ वर्ष लाग्यो । त्यो संयोग नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको एउटा तालिमले जुराएको थियो । जनआन्दोलन सकिएको दुई महिना पूरा भएकै थिएन । पश्चिमाञ्चलका सक्रिय पत्रकारहरूलाई वातावरणको महत्त्व बुझाउन नेपाल वातावरण पत्रकार समूहले २०४७ साल जेठको तेस्रो साता पाल्पामा वातावरण पत्रकारिता तालिम गर्ने निधो गर्‍याे । तालिम पाल्पामै गर्न पश्चिमाञ्चलका पत्रकारले अर्को ठाउँको नाम प्रस्ताव पनि गरेनन् । यसको जस चिसो मौसम र सत्य साप्ताहिकको ख्यातिलाई जान्थ्यो । सत्य साप्ताहिकका सम्पादक विनय कसजूले पाल्पामा सबै बन्दोबस्त गर्ने तय भयो । तालिममा वरिष्ठ पत्रकार भैरव रिसालको सहयोगी भएर मैले पहिलोपल्ट पाल्पाको तानसेन बजार टेक्ने मौका पाएँ ।

त्यो बेलासम्म मैले ब्लकमा ढालिएको फोटोको विनय कसजूलाई पत्रपत्रिकामा मात्र देखेको थिए । तालिमको सहयोगी म र स्थानीय संयोजक विनयजी भएकाले उहाँ र म कामको हिसाबले नजिक हुन पुग्यौँ । तालिममा पश्चिमाञ्चलमा त्यो बेला नाम चलेका प्रायः सबै सम्पादक र पत्रकारहरू सहभागी थिए । तालिम बडो जीवन्त भयो । तालिमको अन्तिम दिन पत्रकारहरू मदनपोखराको दमकडा अध्ययन भ्रमणमा जाने भए । अध्ययन भ्रमण गर्ने र दमकडा जाने प्रस्ताव विनयजीले नै गर्नुभएको थियो । भ्रमणमा जानुअघि हामीले उहाँकै मुखबाट मदनपोखराका मान्छेको कथा, त्यहाँको शैक्षिक विकास, खेतीपाती र वातावरण संरक्षणमा गाउँलेको तत्परता र सक्रियताका कुरा सुन्यौँ ।

मदनपोखराबाट कलेज पढ्न र पढाउन तानसेन जानेहरूले घरमा फलेको तरकारी र दूध डोकामै बोकेर लाने गरेको, पढेर वा पढाएर सकेपछि बजारमा मल र बीउ किनी डोको बोकेरै घर फर्कने गरेको, हरेक घरमा स्नातक पास गरेका मानिस रहेको, जति पढेको भए पनि हलो, कोदालो र घाँस दाउरा गर्न कसैले लाज नमान्ने, बरु सबैले श्रमको सम्मान गर्ने, गाउँमा महिला र पुरुषबीचको विभेद अन्त जस्तो नरहेको जस्ता कुरा विनयजीले सुनाउँदा त्यो बेला केही पत्रकार छक्क परे भने केहीले आफ्नो ठाउँको बढाइचढाइ गरेको भन्ने ठाने ।

तालिमको अन्तिम दिन पत्रकारहरूले मदनपोखराको दमकडाका घरघरै गएर गाउँलेले गरेको फलफूल र तरकारी खेती, समुदायले पालेको जङ्गल, विद्यालयका विद्यार्थी र शिक्षकसित कुरा गरे । गाउँ घुमिसकेपछि अचम्म मान्दै सबै सहभागी यामप्रसाद पाण्डेको आँगनमा जम्मा भए । त्यहाँ पत्रकारहरूको खाजाका लागि मकै भटमास र मोहीको व्यवस्था गरिएको थियो । पाण्डे मदनपोखराका वामपन्थी नेता थिए । जनआन्दोलनको धङधङी सकिएको थिएन । तालिमका प्राय सबै सहभागी जनआन्दोलनका पनि सहभागी भएकाले हामी सबैको मनमा दमकडाको अमिट छाप बस्यो । तालिम सकेर काठमाण्डाै फर्केपछि पनि पाल्पा र मदनपोखराले मेरो मनमा अमिट छाप बसाइ दिए ।

मदनपोखराको त्यो भ्रमणपछि मलाई तारन्तार पाल्पाले तान्न थाल्यो । विनयजी र म एकअर्कासित नजिक र आत्मीय हुँदै गयौँ । विकास पत्रकारितामा विनयजीको विशेष चाख थियो । म त्यसको अभ्यासकर्ता थिएँ । म त्यो बेला भारतदत्त कोइराला र हेमबहादुर विष्टको सान्निध्यमा काम गर्थेँ । काठमाण्डौ आउँदा विनयजी भारतदत्त कोइराला र हेमबहादुर विष्टलाई भेट्न बिर्सनु हुन्नथ्यो । म ती भेटको साक्षी र साथी हुने मौका पाइराख्थेँ । विकास पत्रकारिताको अभ्यासीका रूपमा विनयजी र म थाहै नपाई आत्मीय भइरहेका थियौँ । विकास पत्रकारितालाई अझै परिस्कृत गरेर विनयजी गाउँले पत्रकारिता गर्ने तयारीमा हुनुहुन्थ्यो । त्यसका लागि काठमाण्डौमा गर्नुपर्ने अनेक काम थिए । भारतदत्त कोइराला र हेमबहादुर विष्ट उहाँको कामलाई मद्दत गर्न दौडधुप गरि रहनुहुन्थ्यो । त्यसबाहेक कुनै कामले पाल्पा जाँदा उहाँलाई भेट्नु, गफ गर्नु र उहाँका कुरा सुन्नु मेरो यात्राको अभिन्न अङ्ग भइसकेको थियो । यसैबीच देउराली गाउँले पत्रिका प्रकाशन गर्ने दिन नजिकिँदै थियो । २०५० सालमा उहाँले देउराली गाउँले पत्रिका निकाल्ने तयारी गरेपछि हामी अझै नजिक भयौँ ।

मैले भारतदत्त कोइरालाको सहयोगी भएर नेपाल वातावरण पत्रकार समूह र वर्ल्डभ्यू नेपालमा केही वर्ष काम गरेँ । त्यो बेला उपत्यकाबाहिर जाने काम परिराख्थ्यो । पाल्पा जाने काम पनि बेला बेला परिराख्थ्यो । विनयजीले गाउँले देउराली पत्रिकाको परीक्षण अङ्क प्रकाशन गरेको सम्भवत एक सातापछि पूर्वी पाल्पाका केही गाउँ घुमेर म तानसेन पुगेको थिएँ । ग्रामीण स्वावलम्बन विकास केन्द्रका कामको प्रभावकारिता अध्ययन गर्ने टोलीको सदस्य भएर करिब तीन साता पाल्पाका गाउँघर घुम्नु मेरो मुख्य काम थियो । पहिलो साता पाल्पाका पूर्वी गाउँ घुमेपछि केही दिन तानसेन बसेर पश्चिमतिर लाग्ने सुरसार गरिरहेका बेला २०५० साल पुसको पहिलो साता देउरालीको परीक्षण अङ्क प्रकाशित भएको थियो ।

परीक्षण अङ्कमा गाउँघरका ससाना कुरा पनि महत्त्वपूर्ण समाचार भएर छापिएका थिए । करिब सात दिन जति पूर्वी पाल्पाका विभिन्न गाउँ घुम्दा मैले गाउँका उद्यमी, परिश्रमी किसान र गाउँघरका रमाइला र उदाहरणीय घटनाका अनेक नोटहरू बनाएको थिएँ । ती नोटहरू मेरो मुख्य कामका लागि टिपिएका थिए तर गाउँले देउराली पत्रिकाका लागि पनि मज्जाका र फरक खालका खबर बन्थे । देउरालीमा छापिन लायक एक वा दुइटा छोटा खबर विनयजीलाई थमाएर म फेरि पश्चिम पाल्पाका अरू गाउँतिर लागेँ । र त्यताबाट फर्केपछि पनि फेरि एक/दुइटा खबर उहाँका हातमा थमाएँ । उहाँले देउरालीको प्रकाशन र गाउँले पत्रकारिता तालिम सँगसँगै आयोजना गर्न लागेको र त्यसमा आउन मलाई निम्तो गर्नुभयो । मैले खुशी खुशी हुन्छ भनेँ तर यो काम निकै बोझिलो थियो र असफल हुने सम्भावना धेरै थियो ।

देउराली अलग्गै खालको गाउँले पत्रिका थियो र नेपालको पत्रकारितामा यो नयाँ र झर्रो प्रयोग थियो । सत्यमा सम्पादकीयमार्फत नयाँ प्रयोग गरेका कसजूले पाल्पामा अनेकौँ नौला प्रयोगहरू गरेर र नयाँ प्रविधि पाल्पा पुर्‍याएर नाम कमाइ सक्नुभएको थियो । आमनागरिकका ससाना समस्यालाई समाचार बनाएर उनीहरूका समस्या समाधान गर्न सघाउनु देउराली गाउँले पत्रिकाको उद्देश्य थियो । विनयजीको यो प्रयोग औधी मन परेकाले गाउँले देउरालीका लागि चाहिने छापाखाना, कागज र मसीको खर्च र खबर खोज्न हिँड्दा लाग्ने खर्चको जोहो भारतदत्त कोइरालाले एसिया फाउण्डेशनमार्फत गरिदिनु भएको थियो । पत्रिका छाप्न चाहिने कागज, मसी, छापाखाना र पत्रकारहरूको चयन भइसकेको थियो । बाँकी थियो उद्देश्यअनुसारका खबर सङ्कलन गर्ने र गाउँले भाषामा लेखेर गाउँकै पाठकलाई पढाउन पत्रिकालाई गाउँ गाउँमा पुर्‍याउने । पत्रिका वितरण गर्न तत्कालीन गाउँ विकास समिति (अहिलेका पालिका) का अनेक पदाधिकारी र गाउँका शिक्षक तत्पर थिए । बाँकी काम पत्रकारलाई तालिम दिने मात्रै बचेको थियो । त्यो तालिम दिन विनयजीले निम्तो गरेपछि म उहाँको यो अभियानमा जोडिन पुगेँ ।

तानसेनमा देउरालीकै अफिसमा तालिम त शुरु भयो तर गाउँले पत्रिकामा लेख्न तयार भएका पत्रकारहरूका लागि तालिम आफैँ समस्या जस्तो भइ दियो । पहिलो कुरा, गाउँले समाचारको विषय ठम्याउन पत्रकारहरूमा एक किसिमको अलमल देखियो । विषय ठम्याएपछि पनि गाउँलेका दृष्टिबाट खबरमा चाहिने सबैकुरा कुरा खोतल्न समस्या देखियो । खोतली हाल्यो भने पनि सामान्य लेखपढ मात्रै गर्नसक्ने पाठकले चाख मानेर पढ्ने गरि लेख्न नसक्ने अर्को समस्या त झनै चर्को खालको थियो । यी समस्याले तालिमका सहभागी युवा पत्रकारहरू, विनयजी र प्रशिक्षक भएर गएको म सबैलाई रन्थन्यायो । तालिम त सकियो तर गाउँलेका लागि तयार पारिएका खबरको स्वादमा गाउँलेपन भने दिन सकिएन ।

गाउँघरका मानिसका लागि तयार पारिएका खबरमा गाउँले पारा ल्याउन अब हामीले नयाँ अभ्यास गर्नुपर्ने भयो । विनयजीसित सल्लाह गरेर केही दिन गाउँमै बस्ने, समाचार खोज्ने, गाउँमै बसेर लेख्ने र छाप्नका लागि ठिक्क पारेर गाउँका खबर गाउँबाटै पठाउने योजना बनाएर तालिमका केही सहभागी गोविन्द भट्टराई, तेज मगर र जुजुमोहनलाई अगाडि लगाएर म पाल्पाका गाउँ पसे । पहिलोपल्ट अँगाहाखोला र चिर्तुङधारा वरपरका गाउँ घुम्दै हामी गाउँलेले चलाएका कुलो, पानी मिल, धान मिल, तरकारी खेती, गाईभैँसी हेर्दै खेत, बारी, जङ्गल जहाँ भेट्यो त्यही गाउँलेसित कुरा गरेर दिनभर समाचारका टिपोट बनाउन थाल्यौँ । साथीहरू रात परेपछि तथ्य केलाउँथे र खबर लेख्थे । ती खबरका विषयमा छलफल गरेर सम्पादन गर्न सघाउनु मेरो काम थियो । म दिनभर उनीहरूसितै हुन्थेँ र कुन खबर कसरी लेख्दा ठीक होला भनेर मनमनमा आफ्नै पाराले खबर लेख्ने बान्की बुन्थेँ । अनि हरेक खबरको एङ्गल, भाषा, उद्धरण, शुरुआत र अन्तका विषयमा उनीहरूसित छलफल गर्थेँ । एउटै खबरका लागि अनेकपल्ट छलफल गरेर स्पष्ट भएपछि साथीहरू फेरि लेख्थे । यसरी छाप्नलायक खबर तयार हुन्थ्यो । त्यसपछि खबर लेखेको पाना कापीबाट च्यातेर ती पाना पट्याई गोजीमा हालेर एकजना तानसेन जान्थ्यो । यसरी सङ्कलन गरिएका खबर देउरालीमा छापिन थालेपछि देउरालीका पाठकले नयाँ स्वाद पाउन थाले । ती खबर छापिएको देउराली गाउँगाउँ पुग्न थालेपछि त देउरालीका पत्रकारलाई गाउँगाउँबाट खबर सङ्कलन गर्ने निम्तो पो आउन थाल्यो । यस्तो निम्तो सबैभन्दा धेरै गोविन्द भट्टराईलाई आउँथ्यो, जसले पछि गाउँले देउरालीको सम्पादक भएर पनि काम गर्नुभयो । निम्तो पाउनेमा लक्ष्मण देवकोटा पनि हुनुभयो, जो मसित केही दिन गाउँघर घुम्दा साथै हुनुहुन्थ्यो ।

गाउँ डुलेर खबर बटुल्न त धेरैजना गइरहन्थे तर यस काममा सबैभन्दा धेरै रमाउने पत्रकार गोविन्द भट्टराई हुनुहुन्थ्यो । देउरालीका समाचार सङ्कलन गर्न गोविन्दजी र म पाल्पाका धेरै गाउँ घुम्यौँ । पाल्पाका छेर्लुंग, पालुंगमैनादी, कुसुमखोला, छहरा, फेक वरपरका गाउँमा अनेक दिन घुमेर हामीले धेरै खबर बटुलबाटुल गर्‍याैँ । अरू कामले पाल्पाका गाउँ घुम्न जाँदा मलाई कसै न कसैको साथ चाहिन्थ्यो भने गोविन्दजीलाई मसित हिँडेर खबर सङ्कलन गर्न मज्जा लाग्थ्यो । मलाई उहाँको लगन र सिर्जनशीलताले अतिरिक्त प्रभाव पारेको थियो । त्यसैले उहाँ र म माथि उल्लेख गरिएका बाहेक पूर्वी पाल्पाका भीरकोट, रामपुर, सीताकुण्ड, बाकामलांग, कसेनी जस्ता धेरै गाउँमा देउरालीका पाठकबाट स्वागत, सत्कार खाँदै र माया साटासाट गर्दै हिड्यौँ ।

देउराली गाउँले पत्रिकाको जननी ग्रामीण विकास पाल्पा नामक गैरसरकारी संस्था थियो र यो संस्थाको परिकल्पना विनय कसजू र गंगा कसजूको थियो । संस्थाको अगुवा कसजूद्वय भए पनि उहाँहरूलाई काँध थापेर शुरुदेखि नै सहयोग गर्ने र गाउँ गाउँमा संस्थाको साख फैलाउने व्यक्ति हुनुहुन्थ्यो मेघराज शर्मा । करिब दुई वर्षमै देउराली पूर्णरूपले संस्थागतरूपमा चल्न थाल्यो । त्यसपछि विनयजी काठमाण्डाै आउनु भयो र यतै बसोबास गर्न थाल्नु भयो । प्रधानसम्पादकका रूपमा विनयजीले काठमाण्डौबाट लामै समय देउरालीको कोरीबाटी गरे पनि पाल्पामा देउरालीको जिम्मेवारी मेघराज शर्माको काँधमा थियो । र विनयजी काठमाण्डौ पसेपछि पनि गंगाजीले ग्रामीण विकास पाल्पालाई तानसेनबाटै हाँकिरहनु भयो ।

काठमाण्डौ आएपछि विनयजीसित जोडिएर मैले धेरै काम गरे र उहाँ र गंगाजीसित कामका सिलसिलामा पूर्वी नेपाल र पाल्पातिर घुमफिर पनि गरेँ । तर उहाँसित तानसेनमै गरेका कामका सम्झना मेरो दिमागमा ताजा छन् । भेटको पहिलो स्थान भएकाले र पूर्वी पहाडमा जन्मे हुर्केको मलाई पश्चिम पहाडको चालचलन, संस्कृति र रहनसहन अलग लागेकोले पनि यस्तो भएको हुनसक्छ । तानसेन जाँदा शुरु शुरुमा विनयजीसित मेरो भेट्ने थलो शीतलपाटी नजिकैको उहाँको छापाखाना हुन्थ्यो । समय र मित्रता बढ्दै गएपछि हाम्रो भेटघाटले घुमाउने घरमा प्रवेश पायो । त्यसपछि उहाँ बस्ने घरको काम गर्ने कोठा हाम्रा बातचित गर्ने थलो भए ।

विनयजीका केही आनीबानी मलाई अचम्मका लाग्थे । त्यसमध्येको थोरै बोल्ने र बिस्तारै बोल्ने बानी देखेर मलाई अलि अचम्म किन लाग्थ्यो भने मैले चिनेका आधा दर्जन बाहेक प्रायः सबै पत्रकारहरू बाचाल थिए र अधिकांशको स्वर र शब्दमा मृदुता कम र आक्रामकता बढी हुन्थ्यो । विनयजीको बोल्ने तरिका त्यसको ठ्याक्कै उल्टो खालको थियो । उहाँको स्वर नरम हुन्थ्यो, शब्द सरल अनि कुरा पनि आफैँसित गरिराखेको हो कि हामीसित गरेको हो भनेर थाहा नहुने खालको लाग्थ्यो मलाई । यस्तो अवस्थामा विनयजी आफैँले बातचित शुरु गर्दा त कुराकानी सजिलै हुन्थ्यो तर मैले बातचित शुरु गर्नुपर्दा कुरा कहाँबाट कसरी थाल्ने भनेर निकैबेर सोच्नु पर्थ्याे ।

लामो समयसम्म नबोली चुपचाप आनन्दले कुर्सीमा बसेर रमाइरहे जस्तो देखिने उहाँको अर्को बानी देखेर पनि म बेला बेला छक्क पर्थेँ । यसरी लामो समय एउटै भाव र मुद्रामा देख्दा विनयजी के सोच्दै हुनुहुन्छ होला भनेर म पनि छक्क पर्दै सोची बस्थेँ । उहाँको शान्त अनुहार र स्थिर शारीरिक मुद्रा मलाई शान्त तलाउ जस्तो लाग्थ्यो र त्यो तलाउमा शब्दका टुक्रा फ्याँक्न मन लाग्दैनथ्यो । यो शान्त तलाउमा बेला बेला शब्दका टुक्रा फ्याँकेर तरङ्ग ल्याउने जिम्मा शायद गंगाजीले मात्र पाउनु भएको थियो । तर घरमै भए पनि गंगाजी आफैँ पनि व्यस्त हुनुहुन्थ्यो । पढाउनु पर्ने कलेजको जागिर, महिला सङ्घको काम, घरको देखभाल र तीन–तीनजना छोराहरूले उहाँलाई सधैँ व्यस्त पारिरहन्थे ।

भोक नलागि घर नजाने र काम नपरि अफिस नजाने विनयजीको अर्को बानीले मलाई सधैँ चकित पार्थ्याे । उहाँको घर र कार्यालयबीचको दूरी फटाफट हिँड्दा ३ देखि ४ मिनेटको थियो । र बिस्तारै हिँड्दा पनि ५ मिनेटभन्दा धेरै लाग्दैनथ्यो । तर घर र कार्यालयको उहाँको समयसारिणी भोक र कामको आधारमा बनेको थियो । यो समयसारिणीमा चल्न बानी परेको विनयजी काम नपरि शीतलपाटीबाट तलतिर झरेको सम्भवत तानसेनमा कसैलाई थाहा भएन । उहाँलाई तानसेनमा सबैले चिन्थे । तर विनयजी शीतलपाटीबाट तलतिर बजारमा निस्केको तानसेनवासीले बिरलै मात्र देख्न पाउँथे । कथंकदाचित विनय कसजू बजारमा देखिनु भयो भने तानसेनवासीले बजारमा केही नयाँ कुरा हुन लागेको अनुमान गर्थे । विनयजीको जस्तो काम नपरि कतै नजाने र आवश्यकता नपरि नबोल्ने बानी भएका मानिस मैले थोरै मात्र भेटेको छु ।

विनयजी काठमाण्डौ आएपछि सबैको भेटघाट गर्ने थलो मिडिया सर्भिस इन्टरनेशनल बन्यो । वरिष्ठ पत्रकार भारतदत्त कोइराला, आदित्यमान श्रेष्ठ, हेमबहादुर विष्ट, विनय कसजू र सुमन बस्नेतको सक्रियतामा खुलेको एमएसआईको कार्यालय त्रिपुरेश्वरमा थियो, जहाँ सञ्चार र पत्रकारिताका विषयमा नयाँ नयाँ कुरा सुन्न र सिक्न पाइन्थ्यो । करिब चार वर्षजति काठमाण्डौका कम र मेची महाकालीका अनेक जिल्लामा बढी समय घुमफिरमा बिताएर म फेरि काठमाण्डौमा कामको खोजी गर्दै थिएँ । मसित त्यो बेला बसेर काम गर्ने कुनै ठाउँ थिएन । तर उदारमना गुरु र मित्रहरूको यो जमघटमा मिसिन मलाई धेरै समय लागेन । नेपालका जेल र गाउँघर घुमेर बिताएका चार वर्षका कथा र कुराभित्र पाल्पाको देउराली पनि पर्थ्याे । देउरालीको प्रयोगलाई भुइँ तहसम्मै पुर्‍याउन भारत दाइ, हेमजी र विनयजी सामुदायिक सञ्चारका अनेक प्रयोगबारे छलफल गरिरहनु हुन्थ्यो । रेडियो माध्यम जति प्रभावकारी मिडिया गाउँमा नभएको कुरा मैले गाउँघर घुम्दा मात्रै थाहा पाएको थिएँ । रेडियोसम्बन्धी मेरो एक/दुई अनुभव सुनाउँदा उहाँहरूलाई पनि रमाइलो लाग्थ्यो । त्यही सङ्गत, सिकाइ र प्रेरणाले मलाई उकाली ओराली नामक सुन्ने पत्रिका निर्माण गर्ने ऊर्जा र आँट दियो । भित्ते पत्रिका निकाल्न खोज्ने संस्था र व्यक्तिलाई तालिम दिने र सामुदायिक अडियो टावरको स्थापना र सञ्चालन गर्न उहाँहरूको सहयोगी भएर काम गर्ने अवसर पनि मलाई त्यो सङ्गतले नै जुराई दियो ।

विनयजी मुटुको बाइपास सर्जरी गरेर दिनदिनै औषधि खानुपर्ने मान्छे तर हिँड्न, शारीरिक व्यायाम गर्न खासै मन नपराउने उहाँको स्वाभाव थियो । उहाँको यो स्वाभावले मलाई मात्र हैन, भारतदत्त कोइराला, आदित्यमान श्रेष्ठ र हेमबहादुर विष्टलाई पनि बेला बेला खिन्न बनाउँथ्यो । बिहान केहीबेर हिँड्न, ध्यान, प्राणायाम जस्ता केही सजिला अभ्यासहरू गर्न बेला बेला हामी उहाँलाई अनुरोध गरिरहन्थ्यौँ । तर उहाँ उल्टै हामीलाई त्यसका लागि समय नपुगेको गुनासो गर्नु हुन्थ्यो । उहाँको गुनासो सुनेर मलाई अचम्म लाग्थ्यो । किनकि हामी सबैलाई थाहा थियो, विनयजी सबेरै उठ्नुहुन्थ्यो, घाम झुल्किनुभन्दा करिब दुई/तीन घण्टा अगाडि । तर उहाँ बिहानको यो समयलाई पनि खेर जान दिनु हुन्नथ्यो । समय उहाँका लागि साहित्य र सञ्चारमा नयाँ प्रयोगका चिन्तन, मनन र लेखन गर्ने अवसर थियो । यो अवसर खेर जान नदिन उहाँ २४ घण्टामा १८ घण्टाजति साधना गर्नु हुन्थ्यो । त्यो साधनाको केन्द्रमा आमनेपाली, विशेषगरी निमुखा, दुःखी, गरिब र श्रमशील नेपाली हुन्थे । र उनीहरूलाई वाणी दिनु उहाँको साध्य थियो, त्यसैले उहाँ जीवनभर साहित्य र सञ्चारका नयाँ नयाँ प्रयोग गर्न जीवनको अन्तिम समयसम्मै सधै साधनारत रहनुभयो ।

(२०८० चैत २१ गते लोकार्पण भएको विनय कसजू स्मृति ग्रन्थबाट साभार) ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया