आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या

 पुस २, २०७५ सोमबार १८:२:१६ | अमर सुनार
unn.prixa.net

घाइते ७० वर्षीया जुवारा नेपाली

दैलेख – दैलेखमा आत्महत्या गर्न खोजेको देखेर जोगाउन जाँदा एक महिलाको ज्यान गएको छ ।

नारायण नगरपालिका–३, भूर्तिकी ४७ वर्षीया पार्वती नेपालीलाई उनका छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालो हिर्काउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकैको सोयखोला भन्ने खोल्सामा नाम्लोले पासो लगाउन खोजेका छोरा बालारामलाई  राेइकराई गर्दै सम्झाउन खाेज्दा  उल्टै बालारामले मुक्का हानेर बेहोस बनाएको र दौडेर घरबाट कोदालो ल्याई टाउकोमा प्रहार गरेर आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ । बालारामले टाउकोमा कोदालो प्रहार गरेपछि आमा पार्वतीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरिसकेपछि बज्यै ७० वर्षीया जुवारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली, २४ वर्षीया कौशिला नेपालीलगायतका छिमेकीहरुलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ ।

पार्वतीको हत्या गरेको कोदालोले बज्यै जुवारालाई बालारामले प्रहार गर्दा जुवाराको पनि टाउको फुटेको प्रहरीले जनाएको छ । जुवाराको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

‘अवस्था गम्भीर छ । तर पनि बचाउन सक्दो प्रयास गरिरहेका छौं’, उपचारमा संलग्न डा. अजित न्यौपानेले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया