पर्यटक बढे भनेर मख्ख पर्ने कि कति खर्च गरे भनेर हिसाब गर्ने ?

 पुस ३, २०७५ मंगलबार १६:२:० | विनायक शाह
unn.prixa.net

सन् २०१८ को ११ महिनामा १० लाख भन्दा धेरै पर्यटक नेपाल घुम्न आएको तथ्याङ्खबाट हामी सबै होटल व्यवसायी उत्साहित छौँ । लामो समयदेखि हामीले १० लाख पर्यटक नेपाल भित्राउने सपना लिएका थियौँ, त्यो पूरा भएको छ । सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै हामीले १० लाख पर्यटक भित्र्याउन सफल भएका हौँ । पर्यटक भित्रिँदा कुनै एउटा क्षेत्र मात्र नभै धेरै क्षेत्रले फाइदा उठाउन सक्छन् र उठाएका पनि छन् । 

हामीले अबको १ वर्षपछि अर्थात सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्यक्रम बनाउका छौँ, अहिले नेपाल आएका १० लाख पर्यटकले हामीलाई हौसला दिएका छन् । तर हामीलाई १० लाख पर्यटक भित्र्याउन यति लामो समय लाग्यो भने आउँदो १ वर्षमै १० लाख पर्यटक थप्न चाहिँ निकै चुनौती नै देखिन्छ । तर चुनौतीलाई पूरा गर्न हामी सबैजनाले प्रयास गरिरहनुपर्छ । 

होटलको कुरा गर्ने हो भने हामी त अहिल्यै नै २५ लाख पर्यटक धान्न सक्छौँ भन्नेमा ढुक्क छौँ । पाँचतारे होटलदेखि होमस्टेसम्म गणना गर्ने हो भने २५ लाख पर्यटक बस्न सक्छन् । तर क्वालिटीको कुरा गर्ने हो भने सोँच्नैपर्छ । हामीकहाँ पाँचतारे र तीनतारे होटल सीमित छन्, थोरै छन् तर तीनतारे होटलभन्दा साना होटल त धेरै छन् तर त्यस्ता होटलमा हामीले कत्तिको गुणस्तरीय र खर्च गर्न सक्ने पर्यटक ल्याउन सक्छौँ भन्ने मुख्य कुरा हो । 

पर्यटक बढे भनेर मख्ख नपरौँ, कस्ता पर्यटक आए भन्ने हेरौँ

हामी अहिले १० लाख पर्यटक भित्र्यायौँ भनेर मख्ख परिरहेका छौँ, कस्ता पर्यटक आए र कति खर्च गरे भन्नेमा ध्यान गएको छैन । हाम्रो आम्दानी चाहिँ जहाँको त्यहीँ हुने तर मान्छे मात्रै थुप्रिएर त के काम भयो र ? हामीले संख्याको पछि दौडँदा हाम्रो फाइदा भुलेका त छैनौँ ? हामीले देशमा पर्यटकलाई औसतमा कति दिन राख्छौँ र उनीहरुले कति खर्च गरे भनेर पनि ध्यान दिनुपर्छ ।

नेपाल आएका पर्यटकलाई जतिसक्यो धेरै खर्च गराउन सकियो भने मात्रै पर्यटकसँगै हाम्रो आम्दानी पनि बढ्छ र यसले देशको समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्न सक्छ । त्यसको लागि हामी होटल व्यवसायीले पूर्वाधार बढाउँदै छौँ । अन्तर्राष्ट्रिय चेन होटलहरु यहाँ खुल्दैछन्, नेपालमा प्रतिष्ठित उद्योगी व्यवसायीले पनि होटल क्षेत्रमा लगानी गरिरहेका छन् । होटलहरु अबको केही समयमै गुणस्तरीय बन्दैछन् र गुणस्तरीय पर्यटकको अपेक्षा राखेका छन् । 

काठमाडौंको जाम झेल्न र धुलो खान पर्यटक आउँदैनन्, हामी सुध्रौँ र सुधारौँ

हामीले क्वालिटीका पर्यटक नेपाल भित्र्याउने भन्दै गर्दा हामी आफैले कत्तिकै गुणस्तर कायम गर्न सकेका छौँ भन्नेतर्फ पनि सोच्नुपर्छ । हामीले पर्यटक घुमाउने ठाउँ कत्तिको राम्रा छन्, त्यहाँ गुणस्तर कायम गर्न सकेका छौँ कि छैनौँ अनि पर्यटक खुसी छन् कि छैनन् भन्नेमा ध्यान दिनैपर्छ । 

अब काठमाडौंको कुरा गर्ने हो भने जतिबेला जहाँ पनि जाम छ । जामबाट पर्यटक कति वाक्क हुन्छन् होला । काठमाडौंको जाम झेल्न पर्यटक किन आउने । 

अनि वर्षौँदेखि हाम्रा सडक बेहाल छन् । बर्खामा धान रोप्ने हिलो अनि हिउँदमा धुलैधुलो हुन्छ । मास्क नलगाइकन हिँड्नै सकिन्न । धुलो धुवाँ र जाममा अड्किनकै लागि पैसा कसले  खर्च गर्छ र ? खल्तीमा पैसा हुने मान्छेलाई संसारमा जहाँ गए पनि भयो नि होइन । अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाल मन पर्ने ठाउँ त हो, तर हामीले तयारी गरेनौँ र सामान्य कुरा पनि सुधार गर्न सकेनौँ । 

सरकारले काम गरिरहेको छ, तर जुन गतिमा काम भैरहेको त त्यो गतिले त हामीलाई वर्ष दिनभित्र २० लाख पर्यटक भित्राउन नै गाह्रो छ अनि मनग्य खर्च गर्ने पर्यटक ल्याउन पनि समस्या नै छ  ।

भुटान मोडल तत्कालै लागु गर्न हुन्न

भुटान पुगेका पर्यटकले दिनमा निश्चित रकम खर्च गर्नैपर्छ । त्यहाँ उनीहरुले पर्यटकको लागि उपयुक्त संरचना र सुविधा दिएका छन् । त्यही भएर भुटानमा दैनिक २ सय ५० डलर अनिवार्य खर्च गर्दा पनि पर्यटक मज्जाले खुसी हुन्छन् । तर हामीकहाँ पछिल्लो तथ्याङ्ख हे¥यो भने दैनिक ५५ डलरको हाराहारीमा मात्रै खर्च भएको देखिन्छ । 

त्यसैले अहिले नै हामी भुटानको मोडलमा जानुहुन्न । पहिले हामीले हरेक ठाउँमा गुणस्तर कायम गरौँ । देश संघीयतामा गएको छ । सबै प्रदेशले पर्यटकीय गन्तव्यलाई महत्व दिइरहेका छन् । उनीहरुले राम्रो गर्न सके भने त हामीकहाँ यसै पनि गुणस्तरीय पर्यटक आउलान् नि । अनि अहिले सरकारले एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरेको छ, ती गन्तव्यमा हामीले सबै पूर्वाधार बनाउन सक्यौँ भने त्यहाँ पनि पर्यटक ओइरिन सक्छन नि । 

अहिले त खल्तीमा धेरै पैसा छ भने पनि खर्च गर्ने कहाँ त ? खर्च गर्ने ठाउँ नै छैन । पैसा खर्च गर्ने ठाउँ हामीले बनाउन सकेका छैनौँ । खुला अर्थतन्त्र भएकाले हामीले भुटानको मोडल अबलम्बन गर्न मिल्दैन, तर हामीले गुणस्तर सुधार गर्यौँ भने पर्यटक आफैले हाँसिहाँसी खर्च गर्छन् । 

(होटल एसोसियशन अफ् नेपाल (हान)का महासचिव विनायक शाहसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित) 


 

अन्तिम अपडेट: चैत १४, २०८०

विनायक शाह

शाह होटल एशोसियशन अफ् नेपाल (हान)का उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया