हचुवाको भरमा योजना छनौट नगर्न आग्रह

 पुष १२, २०७५ बिहीबार ११:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – गाउँपालिका राष्ट्रिय महासंघ, सुदूरपश्चिम प्रदेश समितिले हचुवाको भरमा योजना छनौट नगर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । 

गाउँपालिका राष्ट्रिय महासंघ, सुदूरपश्चिम प्रदेश समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष दुर्गादत्त ओझाले स्थानीय तहसँग कुनै समन्वय नगरी चिटको आधारमा प्रदेश सरकारवाट योजना छनौट र बजेट बिनियोजन गरिदा कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय तहहरूसँग छलफल नै नगरी बजेट विनियोजन गर्‍याैँ । स्थानीय स्तरको समस्याहरु स्थानीय तहलाई जानकारी छ । स्थानीय तहले गाउँसभा गर्दा बस्ती तहबाट योजनाको समेत निर्णय र माग भएको हुन्छ । प्रदेश सरकारले बजेट बिनियोजन गर्दा कुनै ब्यक्तिको सिफारिसमा भन्दा स्थानीय तहको सिफारिसलाई आधार मान्ने हो भने योजनाबाट लक्षित समुदायले फाइदा पाउने अध्यक्ष ओझाले बताउनु भयो ।

प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय नगरेर बजेटलगायतका निर्णय गरेका कारण कतिपय विकास आयोजनामा दोहोरो बजेट पनि परेको ओझाले बताउनु भयो । प्रदेश सरकारले आफ्ना नजिकको मान्छेले भनेका आधारमा बजेट विनियोजन गर्दा ती योजना कसले निगरानी गर्ने भन्ने पनि अन्यौल रहेको छ ।

हचुवाको भरमा योजना छनौट भएकाले गुणस्तरीयतामा पनि शंका गर्नुपर्ने अवस्था रहेको महासंघको धारणा रहेको छ । गाउँपालिका महासंघले स्थानीय तहका उपाध्यक्षहरूलाई कामको भार भएकाले थप तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारसँग मागसमेत गरेको छ ।

महासंघले प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न आग्रह गर्दै ‘स्थानीय तह र प्रदेश सरकारबीच सह–अस्तित्व, सहकार्य र समन्वयमा अघि बढ्नु आवश्यक रहेको’ जनाएको छ ।

यसैबीच, गाउँपालिका राष्ट्रिय महासंघ, प्रदेश समितिको दोस्रो बैठकले धनगढीमा गाउँपालिका महासंघको कार्यालय स्थापना गर्ने, सबै जिल्लामा बैठक सञ्चालन गर्ने अनुरूप अर्को बैठक दार्चुलाको मालिकार्जुनमा गर्ने, गाउँपालिकाको विधान अनुसार तत्काल गाउँपालिकाको खाता सञ्चालन गर्ने लगायतका पाँचवटा निर्णय गरेको छ । त्यस्तै, महासंघले प्रदेश अधिवेशनबाट जारी घोषणापत्र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापालाई बुझाएको छ ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया