नेकपा बैठक : पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गरिने

 पुष १३, २०७५ शुक्रबार ७:२९:४४ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । 

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुर्याउने बताउनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । 

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ । 

उहाँले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्नुभयो । पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकता ढिलाइ गर्नुहुँदैन । 

उहाँले भन्नुभयो, ‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानु पर्दछ ।' बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताउनुभयो । 

यस्तै फागुन, चैत्रमा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा माघ, फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो । 

नेता भट्टराईले संसद् चलिरहेकोले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन, चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याउनुभएको बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजानेसमेत बताउनुभएको भयो । 

उहाँले मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता लागि पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसलाई अझ दृढ भएर लाग्ने बताउनुभयो । ‘‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको छ’’ उहाँले बैठकमा भन्नुभयो । 

सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ । सरकारले सफलता प्राप्त गर्दै गइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनका क्रममा केही कमीकमजोरी भएपनि अबको दिनमा त्यस्ता कमीकमजोरी हुने नदिने समेत बताउनुभयो । 

उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको बताउनुभयो । नेकपाको तेस्रो स्थायी कमिटी बैठक मङ्सिर २९ गतेदेखि जारी रहेको रहेको छ । शुक्रबार बिहान ८ बजे पुनः पार्टी मुख्यालयमा बैठक बस्ने छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया