ए डिभिजन लिग : आर्मीले सरस्वतीलाई ४–० ले हरायो

 पुस १३, २०७५ शुक्रबार १३:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – त्रिभुवन आर्मीले पल्सर शहीद स्मारक ए डिभिजन लिगमा छैटौँ जित निकालेको छ । शुक्रबार भएको खेलमा आर्मीले सरस्वतीलाई चार–शून्यले हरायो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आक्रामक फुटबल खेलेको आर्मीले छैटौँ मिनेटमा अग्रता बनायो । उसका लागि नवयुग श्रेष्ठले हेडमार्फत गोल गरे ।

एक गोलले पछि परेको सरस्वती २८ औँ मिनेटमा दश खेलाडीमा झर्यो । उसका सुसन लामाले डिबक्समा फल गरेपछि दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने आर्मीले पेनाल्टीको अवसर पायो । जसलाई आर्मीका लागि भरत खवासले गोलमा परिणत गरे । ३४ औँ मिनेटमा भरत खवासको क्रसमा सुमन अर्यालको प्रहारलाई सरस्वतीका गोलकिपर प्रदिप भण्डारीले बचाए । 

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले ६१ औँ मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि कप्तान भरत खवासले फ्रिकिकबाट गोल गर्न सफल भए । ७३ औँ मिनेटमा भरत खवासको प्रहारलाई क्लियर गर्ने क्रममा सरस्वतीका ओलुसोला इब्राहिमको खुट्टामा डिफ्लेक्ट भएर आफ्नो पोष्टमा गोल हुन पुग्यो । त्यसपछि ८९ औँ मिनेटमा आर्मीको अर्को प्रहार पोष्ट नजिकैबाट बाहिरिन पुग्यो । 

बाँकी समयमा सरस्वती खेलमा फर्कन सकेन र आर्मीले तीन अंक बटुल्यो । जितसँगै आर्मीले ११ खेलबाट २१ अंक बनाएको छ भने सरस्वतीको १० अंक छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया