चिनियाँ ठेकेदारले काम नगरेपछि न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो

 पुष १५, २०७५ आइतबार १२:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।

प्राधिकरणले चिनियाँ  कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौं प्रसारण लाइन अन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो । 

प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ  बैंक जमानत पनि जफत गरेको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । 

प्राधिकरणले कम्पनीसँग २०७३ साल असोज ११ गते २०७६ साल जेठ १२ गते निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिएका थिए । 

तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ । ‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंँदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का तोडिएको हो ।’ ओझाले भन्नुभयो, ‘काम गर्न पटक पटक चेतावनी दिंँदा पनि ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्नमै कम्पनी लागिरह्यो, काम नगर्ने तर विभिन्न वाहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखियो ।’ 

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्नेलगायतका काम गरेको थिएन ।  

ठेक्का तोडेर नयाँ ठेकेदार छनोटका लागि टेण्डर आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी जेठभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको  ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यकासाथ काम अगाडि बढाइने छ । आयोजना नेपाल सरकार र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो । 

कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । सम्झौताको तालिका अनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझा बताउनुहुन्छ । 

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो । खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन बनाउन लागिएको हो । 

रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो (एलएण्टी) ले पाएको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया