मलेसियामा तीन वर्ष : निल्नु न ओकल्नु जस्तो

 पुस १७, २०७५ मंगलबार १३:२१:४१ | मेरो कथा मेरो भोगाई

शिवलाल श्रेष्ठ / रामेछाप । 

वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा राम्रो कमाएर फर्किनेभन्दा जाँदाको ऋण मात्रै तिरेर फर्किनेहरु धेरै छन् होला । म पनि त्यस्तैमध्येको एक जनामा परें । 

म सन् २००२ मा मलेसिया गएको थिएँ । खेतीपाती गरेर घर चलाइरहेका बेला अरु विदेश गएर कमाए भनेको सुनेपछि गएको थिएँ । तर त्यतिबेला विदेश भनेको सजिलै कमाउन सकिने ठाउँ होइन भनेर भन्ने कोही थिएनन् मलाई । 

काठमाडौंमा रहेको इलान म्यानपावरले पानीजहाजमा पेन्टिङको कामको माग आएको छ भन्यो । म जान तयार भएँ । त्यो काममा योभन्दा अघि पनि धेरै नेपाली गएका रहेछन् । तर उनीहरुले त्यहाँ कसरी काम गरिरहेका छन् भन्ने चाहिँ सुनाउने कोही थिएन । 

त्यति मात्रै होइन, म्यानपावरले कसरी ठग्छन भन्ने पनि थाहा थिएन । उड्नुभन्दा अगाडि नै दुई वटा सम्झौतापत्र दिएर ठगिसकेको रहेछ । मलाई पत्तो भएन । मलेसिया पुगेपछि तेल बोक्ने पानीजहाजमा पेन्टिङको काम गर्नुपर्‍यो ।

८ देखि १० घण्टा केमिकलमा काम गर्नुपर्दा कति त बेहोस हुन्थे । हामीसँगै गएका ७ जना त १० दिन नपुग्दै फर्किए । उनीहरुको ठाउँमा मान्छे अनि साथमा पैसा भएकाले फर्किएँ । तर मसँग त ९० हजारको ऋण थियो । 

त्यसैले चाहँदा पनि फर्किन सक्दिन थिएँ । काम गर्ने बेला सास फेर्न पनि गाह्रो हुन्थ्यो । त्यस्तैमा तीन वर्ष मलेसियामा बस्दा मलाई निल्नु न ओकल्नु जस्तै भयो । 

महिनाको तलब ४ सय ८० रिंगिट थियो । त्यतिबेला रिंगिटको भाउ १८ रुपैयाँ २० पैसा थियो । महिनाको ९ हजार रुपैयाँ पनि हुँदैनथ्यो । अनि बचाएर ऋण तिरिसक्न त ३ वर्ष नै लागिहाल्यो । 

भोगेपछि विदेश बुझें । आएर अहिले कपडाको पलस चलाइरहेको छु । ५० हजार लगानी गरेर पसल सुरु गरेको यसबाट मलेसियाको भन्दा राम्रो कमाइ भइरहेको छ । अहिले १५ देखि २० हजार रुपैयाँ कमाउँछु । म यसमै खुशी छु । 

अन्तिम अपडेट: जेठ ११, २०७६

तपाईको प्रतिक्रिया