प्रधानन्यायाधीश राणाले लिए पद तथा गोपनीयताको सपथ

 पुष १८, २०७५ बुधबार ११:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बुधबार बिहान प्रधानन्यायाधीश राणालाई सपथ ग्रहण गराउनु भएको हो । 

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट अतिथिहरु सहभागी थिए । 

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले राणालाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । यसअघि राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा विभिन्न नौवटा उजुरी परेको भए पनि सुनुवाइ समितिले त्यसको समेत छानबिन गर्दै राणालाई प्रधानन्यायाधीशमा चयन गरेको हो ।

उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । 

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा २०१४ मंसिर २८ गते काठमाडौँको कालिकास्थानमा उहाँको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले  २०३६ मंसिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो । 

न्यायपरिषद्को सिफारिशमा २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गर्नुभएका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गर्नुभयो । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाउनुभएको थियो । 

२०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त हुनुभएको थियो । उहाँले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उहाँको चार वर्षको कार्यकाल रहनेछ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया