जीवनकी कान्छी छोरीलाई कसले फकाइदेला?

 पुस २२, २०७५ आइतबार ८:७:१४ | मिलन तिमिल्सिना
unn.prixa.net

आफ्नो नाम हो जीवन । श्रीमती देउकुमारी, अनि कान्छी छोरी चाहिँ पूर्णमाया । तर कसैको पनि नाम अनुसार काम भएन भनेर जीवनलाई कहिलेकाहीँ आफ्नै जीवन सम्झेर दिक्क लाग्छ ।

‘कान्छी छोरीबाट कति धेरै आश गरेर नाम पूर्णमाया राखेको, तर यसले पढ्नै मान्दिन, पढाई नै अपूर्ण भएपछि कसरी पूर्णमाया भन्ने’, खेतमा इँटा बनाउँदै गरेका जीवन मगरले छोरीतिर हेरेर टाउको कन्याउनुभयो ।

गाउँको स्कुलमा चार कक्षा पढ्ने १२ वर्षीया पूर्णमाया पढ्न पटक्कै मान्दिनन् । ७ कक्षा पढ्ने दिदीसँग कहिलेकाहीँ स्कुल जान्छिन्, तर कक्षामा बस्दिनन् । पढ्नका लागि बुवा जीवन र आमा देउकुमारीले कति पटक फकाए, कति पटक हप्काए, सँगै स्कुल पनि गए, तर उनको बानी सुध्रिएन । 

‘खै पढ्न पटक्कै मान्दिन, स्कुलमा सर मिसले अलि फकाएर पढाएको भए मान्थी पनि होला, तर स्कुलले पनि मेहनत गरेन, हामीले पनि धेरै कर गरेनौँ’ जीवनले भन्नुभयो, ‘अब यसले पनि हामीले जस्तै नपढी जिन्दगी बिताउने भई ।’

पढ्नुपर्छ नि नानी, पढेन भने त दुःख पाइन्छ, हेर त नपढेकै कारण बाआमालाई कति दुःख छ भनेर पढाइको महत्व सुनाउन खोज्दा पूर्णमाया उठेर परतिर भागिन् । ‘कसैले भनेको पनि मान्दिन, खै कसले फकाउन सक्ला यसलाई पढ्नुपर्छ भनेर’, जीवनले खुइय सुस्केरा हाल्दै भन्नुभयो, ‘यसले पढी भने उसले त सुख पाउँथी नै, हामीलाई पनि सुख हुन्थ्यो ।’

दुई छोरा गर्भमै खेर गए, छोरीबाट आश

कान्छी छोरी पूर्णमायाले नपढ्दा आफ्नोसमेत जीवन अपूर्ण हुने भयो भनेर जीवनलाई ठूलो चिन्ता छ । यस्तै चिन्ता छ, देउकुमारीलाई पनि । नाम देउकुमारी भए पनि खड्किएको कुरा परिवारलाई दिन सकिएन भन्ने उहाँलाई अर्को चिन्ता छ । 

छोराको आश गर्दागर्दै तीन छोरी भए । छोरोका लागि भवगानसँग प्रार्थना गर्नुभयो, भाकल गर्नुभयो । ‘तर मैले छोरो देउ भनेर पुकार गरे पनि भगवानले मलाई छोरा दिएनन्’ श्रीमानसँगै इँटा बनाउँदै गरेकी देउकुमारीले भन्नुभयो, ‘दुई छोरा त गर्भमै खेर गए, त्यसपछि अब सन्तान हुन्छ भन्ने आश पनि मर्‍यो ।’

नहुने र नभएको कुरामा चिन्ता गर्नुको अर्थ थिएन । जीवन र देउकुमारी दुवैलाई छोरा नभएर के भयो त, छोरी त छन् भन्ने आत्मविश्वास बढ्न थाल्यो । पहिले छोराको आश गरेका उहाँहरुले छोरीहरुकै अनुहारमा छोराले दिने भरोसा खोज्न थाल्नुभयो । छोरीहरुलाई पढाएर ठूलो मान्छे बनाउने सोच आयो । 

मनमा यति सोचाई आउनेबेला ठूली छोरीको बिहे भैसकेको थियो । माइली र कान्छी पढ्दै थिए । माइली छोरी अहिले ७ कक्षामा पढ्छिन् । उनको पढाइ राम्रो छ ।
‘माइली त राम्रो पढ्छिन्, अहिले गाउँमै मामाघर बसेर पढ्दैछिन्’, जीवनले भन्नुभयो, ‘कान्छी हाम्रो पछि लागेर यता आइन्, नपढ्ने भइन् ।’

जिन्दगी जिउन इँटाको भर

धनुषा चारनाथका जीवनले आफ्नो जिन्दगीका ४५ वर्षमा धेरै आरोहअवरोह भोग्नुभयो । त्यतिबेला गाउँमा लेखपढ गर्ने चलन थिएन, त्यसैले उहाँले पढ्न पाउनुभएन । जिन्दगी जिउने सफल बाटो खोज्न नपाउँदै विवाहभयो । त्यसपछि छोराछोरी भए । परिवारसँगै जिम्मेवारी थपियो ।

खेतीपातीले मात्र गुजारा चलाउन मुश्किल पर्यो । त्यसपछि ज्यामी काम गर्न थाल्नुभयो । ज्यामी काम गर्दागर्दै इँटा बनाउने कामबाट राम्रो दाम आउँछ भन्ने सुन्नुभयो । त्यसपछि श्रीमती देउकुमारीसँगै उहाँले घर नजिकैको इँटा भट्टामा काम गर्न थाल्नुभयो । 

‘९-१० वर्ष भयो, इँटामा खेल्न थालेको’, जीवनले भन्नुभयो, ‘खट्न सकेमा इँटा बनाएर राम्रो कमाई गर्न सकिन्छ, तर ५ महिनामात्रै हो इँटा भट्टामा काम पाइने । त्यसपछि फेरि ज्यामी काम नै गर्नुपर्छ ।’

इँटा बनाउन थालेको ९-१० वर्ष भए पनि जीवन र देउकुमारी काठमाडौं आएको चाहिँ यो पहिलोपटक हो । उहाँहरु पहिले तराईकै इँटा भट्टाहरुमा काम गर्नुहुन्थ्यो । 
‘यसपालि सालो केटोले काम गर्न काठमाडौं जाउँ भन्यो र यता आएको’, जीवनले भन्नुभयो, ‘इँटा बनाउने काम त जता पनि उस्तै हो, तर तराईको इँटा अलि ठूला हुन्छन्, यताको साना हुन्छन्, त्यसैले यता अलि सजिलो हुँदो रहेछ ।’

सजिलो, अप्ठ्यारो जस्तो भए पनि जीवनको जिन्दगी इँटा र ढुंगामाटो चलाएरै चल्दैछ । आफ्नो हातले बनाएको इँटाले कतिका घर बने । तर आफ्नो जिन्दगी पूर्ण नहुने भयो भन्ने चिन्ताले बेलाबेला पिरोलिरहन्छ उहाँको मन । 

‘घर भएन, पैसा भएन भन्ने चिन्ता भन्दा पनि छोरीले पढिन भन्ने चिन्ताले बढी सताउँछ’, पर खेलिरहेकी छोरीतिर हेर्दै जीवनले भन्नुभयो, ‘यसलाई पढ्नुपर्छ भन्ने कुरा बुझाउँदै फकाएर स्कुल पठाउन सक्ने को होला ?’

लाखकाे आशमा खेतको बासका अन्य शृङ्खला पनि पढ्नुहाेस्

स्कुल नभेटेपछि इँटामै ए, बी, सी, डी...

कलेज पढ्ने दुई रोल्पाली किशोरीका सपना इँटाका भारीले थिचिए

इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

 

अन्तिम अपडेट: साउन १८, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया