प्रतिनिधिसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित

 पुस २९, २०७५ आइतबार १६:२३:५८ | उज्यालो सहकर्मी

काठमाण्डाै – आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५, भुक्तानी तथा फर्स्याेट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिनदेखि लागू हुनेछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संशोधन प्रतिवेदनसहित संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ र अर्थसमितिको प्रतिवेदनसहित भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ सर्वसम्मति पारित भएको हो ।

त्यस्तै बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेशभएको छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको प्रतिवेदनसहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्नुभएको हो ।

बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जिकरण विधेयक २०७५ लाई पेशगरेको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र पञ्जिकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेशगर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले त्यो विधेयक बैठकमा पेश गर्नुभएको थियो ।

त्यसैगरी ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई बैठकले स्वीकृत गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

अर्को बैठक माघ ४ गते शुक्रबार १२ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया