एसियन कप फुटबल : समूह विजेता बन्दै जापान अन्तिम १६ मा

 माघ ४, २०७५ शुक्रबार ७:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा भैरहेको एसियन कप फुटबलमा जापान समूह विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जापानले समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह एफबाट विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । 

बिहीबारको खेलमा पराजित भएको उज्वेकिस्तान पनि उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेल जितेका दुवै टिमको नतिजाले विजेता र उप विजेता टुंगो लगाएको हो ।

उज्वेकिस्तानले सुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा उप विजेता हुन बाध्य भयो । ४०औं मिनेटमा उज्वेकिस्तानका एल्डर सोमुद्रोभले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर यो अग्रता जापानले ३ मिनेट पनि टिक्न दिएन । जपानका लागि योसिनोरी मुटोले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा टुकासा सिटोनीले गोल गर्दै जपानलाई २–१ को अग्रता दिलाए । 

यो अग्रतालाई जापानले अन्तिम समयसम्म टिकाउन सफल भएपछि समूह विजेता बनेको हो ।  बिहीबार नै भएको समूह एफकै अर्को खेलमा ओमानले तुर्कीमिनस्तानलाई तीन एक गोल अन्तरले पराजित गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया