दुई मिनेटको फरकमा दुई गोल, बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा

 माघ ४, २०७५ शुक्रबार ७:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

उस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरेपछि लेभान्टेविरुद्ध पुनरागमनसहितको जित हासिल गरी बार्सिलोना स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

पहिलो लेगमा २–१ गोल अन्तरले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा घरेलु मैदान नाउ क्याम्पमा तीन गोल गर्न सफल भयो । र, समग्रमा ४–२ गोलको जितसँगै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । 

बिहीबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर डेम्बेलेले दुई मिनेटको फरकमा दुई गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । उनले ३०औं र ३१औं मिनेटमा गोल गरेका थिए । 

गएको सातामात्रै ला लिगामा बार्सिलोनाका लागि चार सयौँ गोल पूरा गरेका लियोनल मेस्सीले ५४ औं मिनेटमा तेस्रो गोल गरे ।  

२–१ को अग्रतासहित नाउ क्याम्प पुगेको लेभान्टे त्यसपछि खेलमा फर्कन सकेन र प्रिक्वाटरफाइनल बाटै बाहिरियो  । 

यद्यपी, साविक विजेता बार्सिलोनालाई पहिलो लेगमा अयोग्य खेलाडी खेलाएको भन्दै विवाद भएको छ । जसले गर्दा बार्सिलोना प्रतियोगितामा अयोग्य हुने सम्भावना छ ।

लेभान्टेले बी टिमबाट खेल्दा दोहोरो पहेलो कार्ड पाएका १९ वर्षीय  डिफेण्डर जुहान बर्नाटेरिजलाई मैदानमा उतारेर नियम मिचेको भन्दै लेभान्टेले बार्सिलोनाबिरुद्ध स्पेनिस फुटबल संघमा उजुरी हाल्ने बताएको छ ।

बार्सिलोनाका अधिकारीहरुले भने आफूहरुले कुनै गलत काम नगरेको दाबी गरेको छ । गएको नोभेम्बरमा नियम परिवर्तन भएकाले कोपामा  खेलाडी निलम्बन नहुने उसको भनाइ छ । सन् २०१५ मा प्रतिबन्धित खेलाडी खेलाएको आरोप प्रमाणित भएपछि रियल मड्रिडलाई अयोग्य घोषणा गरिएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया