चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
केही दिनअघिको कुरा हो, रत्नपार्कबाट माइक्रोबस चढेर जावलाखेल जाँदै थिएँ । मभन्दा पछाडिको सिटमा दुईजना युवती थिए । उनीहरु झण्डै २०–२२ वर्षका जस्ता देखिन्थे । आफ्नै सुरमा यात्रा गरिरहेको मलाई उनीहरुको कुराकानीले झसँग बनायो ।
एउटीले भनिन्, ‘घरमा थाहै छैन यार, दुई पटक भयो । त्यही मेडिकलमा गएर फाल्दिएँ ।’ कुरा सुन्दा थाहा हुन्थ्यो, उनीहरु गर्भपतनको विषयमा कुरा गर्दै थिए । पश्चिमी देशहरुमा यस्ता कुरा बोल्नु र गर्नु त सामान्य होला । तर हाम्रोजस्तो पूर्वीय दर्शन तथा संस्कृतिमा हुर्किएकालाई यस्ता कुरा पाच्य हुँदैन । त्यो पनि गोप्य रुपमा आफूले गर्भपतन गराएको कुरा सार्वजनिक गाडीमा यात्रा गरिरहेको बेला बोलेको सुन्दा अझै अचम्म लाग्यो ।
उनीहरुको कुराकानीबाट थाहा भयो, दुई जनामध्ये एकजना बिहे भैसकेककी रहिछिन् अनि अर्की चाहिँ बिहे नभएकी । उनीहरुको गफ चल्दै गयो । म सुन्दै गएँ । एउटीले भनिन् ‘तेरो घरमा थाहा पाए भने के गर्छेस् ?’
अर्कीले भनिन्, ‘थाहा हुन्न यार । बुढालाई थाहा छ । घरबाट त को नै आउँछन् र अहिले । सन्चो नभएको भनेको छु । बुढाले बुझेपछि अरुको त के मतलब भयो र ! आखिर ‘लभ म्यारिज’ न हो । मैले जे भन्यो त्यही हुनु परिहाल्यो नि । बरु तँ पनि विचार गर केटी, बेलैमा । घरकाले दिए भने त कस्तो पर्छ–पर्छ ।’
गाडीमा सँगै यात्रा गरिरहेका हामीहरु परिचित त थिएनौँ । तर उनीहरुको कुराले मलाई बीचमा ‘भिलेन’को रोल खेल्न उक्साइरहेको थियो । ‘भिलेन’ अर्थात उनीहरु दुवैलाई कुटौँ जस्तो । मलाई यस्तो सम्वेदनशील कुरामा यति सामान्य रुपमा उनीहरु खुलिरहेको देखेर एक त चिन्ता लागिरहेको थियो, अर्को चाहिँ उनीहरुको आफ्नै शरीरप्रतिको खेलाँचीले रिस उठिसकेको थियो ।
अर्कोतिर दया पनि लागिरहेको थियो । आफ्नै शरीरको दुरुपयोग गरेको देखेर मलाई दया पनि पलाएको थियो । अनि गाडीको रफ्तार बिर्साउने गरी मनमा प्रश्नका चाङ पनि तेर्सिन थालेका थिए । ‘स्वतन्त्रताको माग गर्दै हिँड्ने हामीले त्यसको सीमा कति छ भनेर नबुझेको हो कि ?’, एउटा प्रश्नले मन कोतर्यो ।
पहिलो बच्चा फाल्यो भने पछि गर्भ नै नरहने सम्भावना हुन्छ भनेर डाक्टरले भनिरहेका हुन्छन् । यहाँ त दुईदुई वटा गर्भ फालेको कुरा मख्ख भएर गर्दैछन् ।
गाडी रोकियो, म झरेँ । उनीहरु त्यसपछि कता लागे, तर प्रश्नले मलाई छाडेन । कार्यालय पुगेर सहकर्मीलाई पनि सुनाएँ । त्यसपछि डाक्टरसँग भेट भएको बेला पनि यो कुरा सोध्ने विचार आयो । ‘उनीहरुको पछिको अवस्था कस्तो होला ? बच्चा नहुने अवस्था त आउने होइन ? उनीहरुको शरीरको अवस्था के होला ?’, यी प्रश्नहरुले मलाई लखेटिरह्यो ।
डाक्टरसँग अरु नै कामले त्यही दिन भेट भयो । गाडीमा सुनेको कुरा डाक्टरलाई पनि भनेँ । ‘यो विषयमा नबोलौँ, बोलेर केही हुनेवाला छैन । समस्या विकराल भएको छ । धेरैजना भर्खरका युवती त्यो पनि बिहे नभएका आउँछन्, मैले बच्चा फाल्नभन्दा उल्टै गाली गरेर पठाउने गरेको छु’, डाक्टरले भन्नुभयो ।
‘के कारणले गर्भपतनको समस्या बढेको हो डाक्टरसाब ?’, मैले प्रश्न तेर्स्याएँ ।
‘घरबाट भएको धेरै स्वतन्त्रताको दुरुपयोग’, उहाँको सहज उत्तर आयो । ‘सरकारी निकायबाट नै पहल हुनुपर्छ । तपाईँ–हामीले चिन्ता लिएर केही गर्न सक्नेवाला छैनौँ । यो काठमाण्डौमा मात्रै नभएर देशैभर नै विकराल समस्या बनेको छ’, डाक्टरले भन्नुभयो ।
डाक्टरसँग यति मात्रै कुरा भयो । तर मेरो खुल्दुली मेटिएन ।
घर फर्किने गाडी कुर्दै थिएँ । प्रतिक्षालयमा म नजिकै एकजना युवती थिइन् । धेरै बेरसम्म पनि गाडी नआएपछि ब्यागबाट एयरफोन निकालेर गीत सुन्न थालेँ । नजिकै रहेकी युवतीमै मेरा आँखा डुलिरहेका थिए । त्यहीबेला युवतीको फोन आयो ।
फोनमा उनले भनिन्, ‘बल्ल–बल्ल त्यो डाक्टरलाई फकाएको छु । भोलि हुने भयो तेरो एबर्सन ।’
अगाडिको घटनाले फेरि मेरो ध्यान तान्यो । अब चाहिँ मलाई डाक्टरले भनेको झल्झली याद आयो । सम्झिएँ, ‘हामीले मात्रै चिन्ता लिएर केही हुन्न ।’
समस्या त अरुको हो तर मलाई खुबै चिन्ता लागेको थियो । तर मैले चिन्ता लिएर केही हुनेवाला रैनछ ।
गर्भपतन गराउने अधिकार महिलाले पाए पनि यसले विकृति पनि फैल्याइरहेको छ भन्ने त माथिकै घटनाबाट पुष्टि भैसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।
४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन । यसबाट पनि महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको देखिन्छ । कानुन र डाक्टरहरुका अनुसार १२ हप्ताभन्दा बढीको गर्भ, आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भु्रण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो । अहिले अत्यधिक मात्रामा गर्भपतन बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार २०७४ र ७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका थिए । तीमध्ये २ हजार १६५ जना २० वर्षभन्दा मुनीका किशोरी छन् । सरकारी तथ्यांकले २० वर्ष मुनिका किशोरीको गर्भपतन दर झन् भयावह देखाएको छ । गर्भपतन गराउनेमध्ये २५ प्रतिशत २० वर्षमुनीका रहेका छन् । ५८ प्रतिशत गर्भपतन असुरक्षित रहेको पनि मन्त्रालयले जनाएको छ ।
यो तथ्याङ्कबाट पनि मनमा अनेक प्रश्नले डेरा जमाएको छ । के हाम्रो देशको कानुन फितलो भएकै कारण यस्तो गतिविधि बढेको हो ? अथवा पैसाको पछाडि लागेका फार्मेसी अनि डाक्टरले गर्दा यस्ता घटना बढिरहेको छ ? गम्भीर हुनुपर्ने बेला आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।