गीत गाएर जीवन धान्न गाह्रो छ, बाँच्न झन् साह्रो छ !

१० वर्षमा टुहुरो, १९ वर्षमा डिभोर्स !

 माघ ७, २०७५ सोमबार ९:३९:३९ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – १० वर्षमा ‘टुहुरो’ । १८ वर्षमा विवाह । त्यसको एक वर्षमै ‘डिभोर्स’ । यो अत्यासलाग्दो विगत भोगेका पाण्डब बिष्टले पहिलो एल्बम निकाले ‘मुले छोरो’ । जुन गीतले अहिले पनि उहाँसँगै धेरैका आँखा रसाउँछन् ।

‘बचपनको मुले, बचपनको मुले
आमाबुवा स्वर्ग बसी
बालक छोरो भुले, बालक छोरो भुले
कालले टिपेर लैगो’

‘दुनियाँ बिराइनो, दुनियाँ बिराइनो
आफ्नो भने कोही पनि नाई 
आमा बुवा साइनो, आमा बुवा साइनो
ठूलै रैछ संसारमा’

‘अब रे चाहिँदैन, अब रे चाहिँदैन
सुख खाने करम जली 
बाउआमा पाईंदैन, बाउआमा पाईंदैन
‘साथ पाइन्छ, संगिनी पाइन्छ’ 

यो गीतमा उहाँको ‘भावुक’ विगत मात्रै छैन, वर्षौं दुःख सुख गुजारेर बनाएको गायकी  परिचय पनि छ । कालिकोटको लालुमा तीसको दशकमा जन्मिएका पाण्डव बिष्ट त्यतिबेलाका चर्चित गायक हुनुहुन्छ । जतिबेला मध्य र सुदूरपश्चिममा देउडा गीतको चमक धमक थियो ।

गाउँमा घरमाथिको अग्लो डाँडामा घाँस काट्दै ‘एक रन्को’ ठाडो भाका गाएपछि ‘फलानो’ ठूलै गायक हुने भो भनेर लख काटिन्थ्यो । त्यही ठूलै गायकको सम्भावना बिष्टमा सानैदेखि थियो ।

सानै भए पनि मिठो गाउने र गीतबाटै सवालजवाफ फर्काउनेलाई गाउँघरमा ‘गिदाउणो’ भनिन्थ्यो । मेला, जात्रा, विवाह, ब्रतबन्धमा देउडा र ठाडी भाका गाउनेलाई ‘गिदाउणो’ भन्छन् ।

पैसा हुने काठमाण्डौ पुगेर रेडियो नेपालको ‘स्वर परीक्षा’ पास गरेपछि गीत रेकर्ड गराएर  गायक बन्थे । तर पैसा नहुनेहरु गाउँकै ‘गिदाउणो’मा सीमित हुन्थे । पाण्डव बिष्ट यही ‘गिदाउणो’को चेपबाट उदाएका ‘दुर्लभ’ गायक हुनुहुन्छ ।

सुदूरपश्चिमका भुवन दाहाल, हरिना साउद, राजाराम भाटलगायतका स्थापित गायकहरुको जगजगी रहेका बेला पाण्डव बिष्टले कर्णालीको तिरबाट देउडा गीतमा आफ्नाे ठाउँ बनाउनु भएको हो ।

स्वर मीठो भए पनि पैसा र पहुँच नहुनेहरुका लागि स्थापित गायकलाई त्यतिबेला टक्कर दिनु ‘आगो’सँग खेल्नु बराबर थियो । पाण्डब बिष्टले हार खानुभएन । देउडा गायक बनेरै छाड्नुभयो । 

आफ्नै जीवनका तीता भोगाई मिसाएर भावुक गीत गाउनु पाण्डव बिष्टको बिशेषता हो । उहाँका यस्ता धेरै गीतमा प्रायः आफ्नै भोगाई छन् । जो अरुसँग पनि हुबहु मिल्छन् । 

कति गाउँघरका दुःख छन् । कति परदेशका पीडा र वेदना छन् । कतिपय गीतमा एक समय ‘मृत्युमार्ग’ बनेको कर्णाली राजमार्गका व्यथा पनि छन् । 

६ दिन पैदल हिडेर गीत रेकर्ड ! 

कालिकोटको लालुमा पाण्डव बिष्टको बाल्यकाल गुज्रियो । जवानी चढ्दै गर्दा रहरहरु बढ्दै गए । त्यसैमध्येको एक थियो, गीत रेकर्ड गराउने । किनकी त्यतिबेला गीत रेकर्ड गराएर टेपमा हालिएको क्यासेटबाट बजेपछि मात्रै असली गायक बनिन्थ्यो । 

तर कहाँ रेकर्ड गराउने ? कसरी गर्ने ? कति खर्च लाग्ने ? कहाँबाट खर्च जुटाउने ? यी सबै चिन्ताका विषय थिए । अनि गीत रेकर्ड गराउने काम चाहिँ अचम्मको ! कसैले सितिमिति नपत्याउने । 

‘त्यतिबेला गीत रेकर्ड गराउनु भनेको अच्चम्म हुन्थ्यो । रेकर्ड गर्ने ठाउँ कस्तो होला ? कसरी रेकर्ड गराउने ? क्यासेटबाट बज्ने गीत कसरी गाइन्छ ?’ पहिलो पटक गीत रेकर्ड गराउँदाको अनुभव सुनाउँदै बिष्ट भन्नुहुन्छ, ‘यी सबै मेरा लागि अच्चम्मका विषय थिए ।’ 

यो अच्चम्मको कुरा साँच्चिकै हेर्न र गर्नका लागि पाण्डव बिष्टको संघर्ष सुरु भयो । ६ दिन पैदलै हिँडेर कालिकोटबाट कर्णाली चिसापानी झर्नुभयो । यो २०६० सालभन्दा अघिको कुरा हो ।

काठमाण्डौ आउने खर्च नपुगेर कैलालीको धनगढी पुगेर गीत रेकर्ड गराउनुभयो ‘मूले छोरो’ । महिना दिनपछि गीत बजारमा आयो । खुब चल्यो । तर थोरैलाई मात्र थाहा थियो, धेरैका आँखाबाट आँसु झार्ने यो गीत पाण्डव बिष्टको आफ्नो भोगाई थियो ।

जब उहाँको ‘मूले छोरो’ गीत सुनेर कार्यक्रमबाट निम्ता आउन थाल्यो । तब मात्रै पाण्डव बिष्टको उतारचढावपूर्ण जीवन ‘खुल्ला किताब’ बन्यो । जुन अहिले पनि चलिरहेकै छ ।

उमेरले ४० कटिसक्यो । जीवन साथीको टुंगो छैन ।१८ वर्षकै उमेरमा पहिलो विवाह गरेका बिष्टको १९ वर्षमा डिभोर्स भएको थियो । त्यसयता भने उहाँले विवाह गर्न मन लगाउनु भएको छैन ।

‘पहिलो विवाह भयो । टिक्न सकेन । दोश्रो विवाह गरेपनि यस्तै हुन्छ कि भनेर गीत संगीतमै समर्पित बनेको हुँ । उमेर बढे पनि विवाह गरिहालौं भन्ने तत्कालै सोच छैन’ बिष्ट भन्नुहुन्छ ।

थन्किए क्यासेट, मारमा देउडा गायक 

अहिले लोकदोहोरी, आधुनिक र चलचित्रका गीतको खुब चर्चा हुन्छ । मेला जात्रामा यिनै गीतमा नाचगान गरिन्छ । यी गीतमा मिसाएर बनाइएका पप गीतको चर्चा पनि त्यत्तिकै छ ।

तर विगतमा लोकदोहोरी र देउडा गीतको जस्तो चर्चा अहिले छैन । क्यासेटको जमानामा जस्तो लोक दोहोरी र देउडा गीतको क्रेज अहिले भेटिंदैन । जतिबेला यी गीतका क्यासेट पश्चिम नेपालका हरेक घरमा भेटिन्थे ।

गायक गायिकाको चर्चा पनि त्यत्तिकै हुन्थ्यो । टेपमा हालेर क्यासेटका गीत सुनेपछि आफ्नो गायक भनेर सम्झिन्थे । तर अहिले समय फेरिएको छ । 

लोकदोहोरी गीतको चर्चा नसेलाएपनि देउडा गीतको मौलिकता नै हराएको छ । क्यासेट छाडेर मोबाइल, यूट्युबमा गीत सुनिन थालेपछि मौलिक देउडा गीत इतिहास जस्तै बन्न थालेका छन् ।

बढ्दो आधुनिक प्रविधिका कारण अरु गीतको चर्चा बढे पनि देउडा गीत भने ओरालो लागेका छन् । झन् अहिले त आफूले दुःख गरेर गाएको गीतको पारिश्रमिक पाउनु देउडा गायकका लागि असम्भव जस्तै बनेको छ ।

यूट्युबमा गीतको भिडियो बनाउन लाखौँ खर्च गर्नुपर्ने बाध्यता छ भने बनाएर राखिएका भिडियो कसले हेरिदिने भन्ने चिन्ता छ । मध्यपश्चिम र सुदूरपश्चिममा मौलिक देउडाको साटो आधुनिक र पश्चिमा गीत संगीतले बजार तताएका छन् ।

‘क्यासेट बिक्री भएपछि पैसा आउँथ्यो । त्यसबाट बाँच्न सजिलो थियो । तर अहिले गीत गाएर मात्रै हुँदैन । भिडियो बनाएर यूट्युबमा हाल्नुपर्छ । तर खर्चअनुसारको आम्दानी भने छैन । म जस्ता देउडा गायकलाई बाँच्न धौ धौ परेको छ’ बिष्टले भन्नुभयो ।

मेरुदण्ड भाँच्चिएपछि...

‘मुले छोरो, कहिले ड्युटी पुना बम्बई, किट्टु पुग्यो गाडी’ लगायत धेरै गीत गाएका पाण्डव बिष्ट पछिल्लो समय मेरुदण्डको समस्याले ग्रसित हुनुहुन्छ । दुई वर्षअघि घरको भर्‍याङबाट लडेर मेरुदण्ड भाँच्चिएपछि बिष्ट अहिले पीडामा हुनुहुन्छ ।

मेरुदण्डको अप्रेसनका लागि सहयोगको याचना गर्दै गरेका पाण्डब बिष्टका अन्तर्वार्ता अनलाइन, यूट्युबमा छ्यापछ्याप्ती भेटिने गरेका छन् । कहिले कलंकी, कहिले रत्नपार्क, कहिले अनामनगर जहाँ भेट्यो पाण्डव बिष्टलाई चिनेकाहरु त्यहीँबाट ‘कठै’ भन्ने गरेका छन् ।

देउडा गीत, आधुनिक, दोहोरी गीत समेत गाएका पाण्डव बिष्ट अहिले राम्रोसँग हिँड्न नसके पनि मेरुदण्डको उपचार र शल्यक्रिया सफल भएपछि फेरि नियमित गायनमा फर्किने योजनामा हुनुहुन्छ ।

‘अहिले मेरुदण्ड भाँच्चिएपछि धेरै गीत गाउन सकेको छैन । फाट्टफुट्ट भने गाइरहेकै छु । बाहिर कुनै पनि कार्यक्रममा सहभागी हुन पाएको छैन । बिस्तारै सञ्चो होला भन्ने आश छ । साथी, सहयोगी र शुभेच्छुकले साथ दिइरहेका छन् । सञ्चो भएपछि फेरि देउडा गायनमै फर्किन्छु’ बिष्टले भन्नुभयो । 


 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया