जापानलाई ३–१ले हराउँदै एसियन कप फुटबलको च्याम्पियन बन्दै कतारले इतिहास रच्यो

 माघ १८, २०७५ शुक्रबार २१:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कतारले जापानलाई ३– १गोल अन्तरले हराउँदै पहिलो पटक एसियन कप फुटबलको उपाधि उचालेको छ । 

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे ।

जापानका लागि खेलको ६९औँ मिनेटमा ताकुमी मिनामोनोले एक गोल गरे । त्यस्तै खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अक्रम हसन अफिफले कतारको अग्रता ३–१ पुर्याएका थिए । 

सन् २०२२ को विश्वकप आयोजक मुलुक कतार पहिलो पटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा घरेलु टोली यूएईलाई ४–० गोलले हराएर कतारले सनसनी मच्चाएको थियो ।

यता पाँचौँपल्ट एसियन कपको उपाधि जितेर कीर्तिमान विस्तार गर्ने जापानको चाहनामा कतारले ब्रेक लगाइदिएको छ । सन् २०११ मा चौथो पटक उपाधि जितेको जापान अहिलेसम्म फाइनलमा पराजित भएको थिएन ।

विश्वकपबाट बाहिरिएपछि जापान पछिल्लो ११ खेलमा पराजित भएको थिएन । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया