कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नेपालले यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी शृङ्खला जितेर इतिहास रचेको छ ।
यो हामी सबै नेपालीका लागि गौरवको विषय हो । हामीलाई नेपाली क्रिकेटले बेलाबेलामा खुशी दिने गरेको छ । अहिले पनि हामीलाई क्रिकेटले ठूलो खुशी दिएको छ ।
अबका फाइदा
पहिलो फाइदा भनेको हामीले मान्यता पाएको ४ वर्षे एकदिवसीय मान्यतामा २०-२५ वटा खेल खेल्नुपर्ने थियो, त्यसमा हामीले पहिलो सिरिज नै जित्यौँ । योभन्दा ठूलो फाइदा अरु के होला र ? विदेशमा गएर उसकै भूमिमा २-२ वटा सिरिज जित्नु भनेको हाम्रो आत्मविश्वास र खेलको स्तर बढेको पुष्टि हुन्छ ।
यो जित हाम्रो एकदिवसीय र्याङ्किङसँग पनि जोडिन्छ । किनकी अर्को विश्वकपको लागि अहिलेका खेल र जितले ठूलो भूमिका खेल्नेछन् ।
अर्को फाइदा भनेको नेपाली क्रिकेटमाथि अन्तर्राष्ट्रिय समुदायको थप ध्यान पुगेको छ । हामी क्रिकेटको कम छैनौँ भन्ने सन्देश यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी सिरिजले पुष्टि गरेको छ ।
नेपालको प्रदर्शनमा सुधार
नेपालले हरेक खेलपिच्छे आफ्नो प्रदर्शन निखारिरहेको छ । अहिले पनि त्यो लय कायमै छ । अहिले कुनै खेलमा बलिङ चम्केको छ, कहिले ब्याटिङमा चम्केको छ । हामीले जति राम्रो टिमसँग खेल्दै जान्छौँ त्यति नै टिममा सुधार आउने हो । अहिले यूएईसँगको खेलमा पनि त्यो देखिएको छ ।
यसलाई निरन्तरता दिनको लागि हामीले घरेलु मैदानमा पनि धेरैभन्दा धेरै खेल खेल्नुपर्छ । अरु देशसँगका सिरिज खेल्नको लागि पनि पहल गर्नुपर्छ । अहिलेलाई हामी यत्ति भन्न सक्छौँ कि, नेपाली क्रिकेट पनि ठूला देशहरुको बाटोमा अघि बढेको छ ।
सरकारले खेलाडीलाई हेरोस्
अब हाम्रा खेलाडी स्वदेश फर्किएपछि निजी र सरकारी संस्थाले पुरस्कारको घोषणा गर्छन्, सम्मान गर्छन् । तर हाम्रो यही विजयी लय कायम राख्नको लागि यो पर्याप्त छँदैछैन । हामीले घरेलु क्रिकेटको संरचना नै परिवर्तन गर्नुपर्छ, जहाँ हाम्रा खेलाडी ८-१० महिना क्रिकेटमै व्यस्त होउन् । खेलाडीले लामो फर्म्याट खेलहरु जस्तै एकदिवसीय, दुई दिवसीयलगायतका खेल खेल्नुपर्छ ।
सँगसँगै खेलाडीले नेपाललाई खुशी दिएका छन्, तर अब सरकारले पनि उनीहरुलाई सहजै जीवन जिउने व्यवस्था गर्नुपर्छ । अहिले पनि केही खेलाडी केही कम्पनीमा अनुबन्ध भएका छन्, तर त्यसले मात्रै उनीहरुको जीवन चल्छ कि चल्दैन भनेर सरकारले सोच्नैपर्छ ।
यदि सरकारले क्रिकेट खेलाडीको बारेमा सोचेन भने यो हाम्रो सफलता क्षणिक मात्रै हुन सक्छ ।
-नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दाससँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विनाेद दास नेपाली क्रिकेट टोलीका पूर्व कप्तान हुन् ।