६० हजारको जागिर छाडेर २० हजारको लगानी, ५० लाखको कारोबार  !

 माघ २५, २०७५ शुक्रबार १२:५२:४७ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – पढाई आईटी, तलब ६० हजार रुपैयाँ । भत्ता र बोनसको कमी थिएन । एक अमेरिकी संस्थाको आईटी इञ्जिनियर बनेका अनिल बस्नेतको जीवन ठिकठाक चलिरहेको थियो । 

केही गरौँ भनेर दाङबाट काठमाण्डौ आएका अनिलले आईटी त पढे । नामी गैरसरकारी संस्थामा जागिरे पनि भए । तर आफैं केही गरौँ भन्ने अनिलको हुटहुटीले मन शान्त थिएन । 

दैनिक तरकारीको झोला बोकेर अफिसबाट कोठा पुग्नुपर्ने झण्झटले पनि अनिलको हुटहुटी थप बढाइदियो । ‘बेलुकी फर्किंदा तरकारी लिएर आइज है बाबु’ भन्ने आमाको वचन तोड्न अनिल तयार थिएनन् ।

तर विकल्प हातमा थिएन । आमालाई तरकारी बोकाउन मन थिएन । कहिले कालीमाटी त कहिले बल्खु । त्यता जान अल्छी लागे नजिकैको पसल बाट भए पनि तरकारी भान्छामा पुर्‍याउनै पर्थ्यो । 

अनिलका लागि तरकारी बोक्नुपर्ने झण्झट एकातिर थियो । केही नयाँ गरौँ भन्ने सोच अर्कोतिर थियो । जमाना इन्टरनेटको फाइबरबाट दुनियाँ चल्ने भइसकेको थियो । 

अर्थात जे थियो सबै इन्टरनेट अनलाइनमै थियो । अनिलको पेशा मात्र होइन, हातमा भएको सीप र लक्ष्य पनि इन्टरनेटकै माध्यमबाट केही गर्ने थियो । अब टाढा कहाँ जाने ? छुट्टै के गर्ने त ? अनिललाई लाग्यो पहिला भान्छाबाटै शुरु गरौं । अनि शुरु भयो ‘मेट्रो तरकारी डटकम’ को यात्रा । यसका लागि उनले ६० हजार रुपैयाँको जागिर छाडे । तरकारी बेच्ने काम थाले । 

यो सात वर्षअघि सन् २०१२ तिरको कुरा हो । जतिबेला अनिलका लागि यो यात्रा विशुद्ध नयाँ थियो । त्यतिबेला जेफ बेजोस ‘अमेजन डटकम’ र ज्याक मा ‘अलिबाबा डटकम’ अनलाइन शपिङ साइट चलाएर संसारकै धनाढ्यको यात्रा गरिरहेका थिए । 

अहिले अमेजन कम्पनीका मालिक बेजोस विश्वकै नम्बर एक धनाढ्य बनिसकेका छन । ज्याक माले ‘अलिबाबा’को कारोबार चीनबाट नेपाल घुसाइसकेका छन । अनिल भने  अनलाइन सपिङ व्यवसायमा केही पाइला अघि बढे पनि बामे सर्दैछन ।

२० हजारको लगानी, ५० लाखको कारोबार !

‘मेट्रो तरकारी डटकम’ अनलाइनबाट तरकारी बेच्ने वेबसाइट हो । जसले तरकारी बेच्दैन मात्रै । घरका भान्छा–भान्छामै पुर्‍याइदिन्छ । यसका लागि ६० हजारको जागिर छाडेका उनले सुरुमा २० हजार रुपैयाँ मात्रै लगानी गरेका हुन ।

७ वर्षअघि आफ्ना केही नजिकका साथीभाइलाई तरकारी बेच्ने अनिलसँग अहिले प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजार भन्दा बढी ग्राहक छन् । जसले एक क्लिक गरेपछि अनिल उनीहरुका भान्छामा तरकारी पुर्‍याउन कुद्छन ।

दैनिक २ लाख रुपैयाँको तरकारी मात्रै किनबेच गर्ने मेट्रो तरकारी डटकममा मासिक ५० लाख रुपैयाँको कारोबार हुन्छ । २८ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको यो साइटबाट दैनिक २ सय जनाले तरकारीलगायत दैनिक उपभोग्य वस्तुको खरिद गर्ने गरेका छन् ।

झण्डै ६ वर्षसम्म उतारचढावले भरिपूर्ण अनिल अहिले ललितपुरको पुल्चोकमा रहेको ‘मुभर्स एण्ड शेकर्स’ को भव्य महलमा अफिस खोलेर तरकारी बेचिरहेका छन् । जसमा उनका केही नजिकका व्यवसायी साथीहरुले पनि काँधमा काँध मिलाएर साथ दिइरहेका छन ।

किसानको बन्दा खेतमा डोजर चलेपछि बढेको ‘हाइप’....

चितवन खैरहनीका किसान पुरन महतोले बजार मूल्य नपाएपछि केही दिनअघि ढकमक्क बन्दा फलेको खेतमा डोजर लगाए । ‘बिचौलियाको सिण्डिकेट’ले डोजर लगाएर बन्दा खेतमै नष्ट गरेको तस्बिरसहितको समाचार सबैजसो सञ्चारमाध्यम र अनलाइनमा ‘भाइरल’ भयो । यो खबर अनिलले आफ्नै आँखाले पढे । हरियो बन्दा धुलाम्मे भएको तस्बिरले मुटु चसक्क घोच्यो ।

लगत्तै सोधखोज गरेर नम्बर भेटेपछि उनले किसान महतोलाई फोन लगाए । 

‘तपाईँको बन्दाको मूल्य कति हो ?’ फोनमा अपरिचित आवाज सुनेपछि महतो अक्क न बक्क भए ।

‘तपाईँ कति दिनुहुन्छ ?’ महतोले उल्टै मूल्य सोधे ? अनिलको जिज्ञासा थप बढ्यो ।  

‘तपाईंले भनेको मोल हामी दिन्छौँ । बन्दा हामीलाई दिनुस् । भन्नुस कति लिने किलोको ?’ अनिलको बचन पाएपछि महतोले खेतबाट डोजर हटाए । 

‘कसैले नलिएपछि डोजर लगाएको हूँ । तपाईं लिनुहुन्छ भने किलोको ५ रुपैयाँ भयो ।’ महतोको वचन पाउनेबित्तिकै अनिल साथीहरुसहित चितवन हिँडे । 
भोलिपल्टै १० हजार रुपैयाँको चेक महतोको हातमा थमाएर बन्दा काठमाण्डौ ओसारे । 

अनिल अहिले त्यही ५ रुपैयाँमा किनेको बन्दा किलोको १६ रुपैयाँमा बिक्री गरिरहेका छन् । बजारमा ३० रुपैयाँभन्दा घटीमा नपाइने बन्दा अनिलबाट सस्तोमा पाएपछि ‘मेट्रो तरकारी डटकम’का उनका ग्राहक पनि खुशी छन् ।

अनिलको यो कदमले चितवनका किसान पुरन महतोको पसिना र लगानी त बच्यो नै, सञ्चारमाध्यम र अनलाइनमा ‘मेट्रो तरकारी डटकम’ को खोजी ह्वात्तै बढ्यो । अनिललाई अहिले अनलाइन कृषि बजारबारे जानकारी दिन भ्याईनभ्याई छ । 

बजारबाट ल्याएको तरकारी चिस्याउने, भण्डारण गर्ने, प्याक गर्ने र ग्राहकको भान्छा भान्छामा पु¥याउने अनिलको ‘बिजनेश रुल’ पनि प्रष्ट छ, ‘२० प्रतिशत नाफा’ ।

‘फाइदा मात्रै नराख्ने हो भने त व्यवसाय गर्न सकिन्न । त्यसमाथि शुरु शुरुमा सबै कुराको हिसाब किताब र एउटा सिस्टम बसाल्नु छ । त्यसैले २० प्रतिशत नाफा नखाई कारोबार गर्दिन’ निर्धक्क स्वरमा अनिल भन्छन् ।

बिचौलियाको ‘सिण्डिकेट’ तोड्दै

खेतबारीमा हराभरा तरकारी फलाए पनि किसानले मूल्य पाएका छैनन् । निकै सस्तोमा दिन्छु भने पनि बिचौलियाहरु ‘बार्गेनिङ’ गर्दै किसानलाई धुरुधुरु रुवाउँछन् । 

सरकारी अधिकारीसँग मिलेका बिचौलियाका अगाडि केही सीप नलागेपछि किसान खेतबारीमै डोेजर लगाएर तरकारी नष्ट गर्न बाध्य छन । यता उपभोक्ता भने महंगो मूल्य तिरे पनि स्वस्थ्य तरकारी खान पाउँदैनन् ।

वर्षौंदेखि उपभोक्ताको यही गुनासो झेलिरहेका अनिल अब किसानको खेतबाटै तरकारी खरिद गर्न लागिपरेका छन् । यसैका लागि महिनामा दुई पटक उनी काठमाण्डौ बाहिर आउ–जाउ गर्छन् । किसानको खेतमै नगद बुझाएर बिषादीरहित तरकारी उपत्यका भित्र्याउँछन् ।

‘सुरुमा हामी पनि कालिमाटी र बल्खुबाट बिचौलियासँगै तरकारी किनेर उपभोक्तालाई बेचिरहेका थियौं । तर अब नयाँ बाटो पत्ता लगाइसकेका छौँ’ कुराकानीको बिट मार्दै अनिल भन्छन, ‘उपभोक्तालाई विषादिरहित अर्गानिक तरकारी खुवाउने अभियान सफल पार्न हरसम्भव प्रयास गर्छौँ ।

किसानको पसिनाको मूल्य किसानलाई नै दिने र उपभोक्ताको विश्वास जोगाउने हाम्रो धर्म जो छ ।’  

अन्तिम अपडेट: भदौ २९, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया