पञ्चकन्या : ‘मसानघाट’बाट नमुना बनेको आधारभूत विद्यालय

‘जहाँ विद्यार्थीलाई निःशुल्क खाना खुवाइन्छ, एक घण्टा सुताइन्छ’

 फागुन ३, २०७५ शुक्रबार १०:४१:१३ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ– सामान्यतया विद्यालयमा पढाइन्छ । अझ भनौँ एकाधबाहेक बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म धेरै विद्यालयमा अहिले पनि सुगा जसरी रटाइन्छ, घोकाइन्छ । स्कुल बिदापछि विद्यार्थीलाई ‘होमवर्क’को भारी बोकाइन्छ । होमवर्क नगरे विद्यार्थी ‘कुखुरा’ बन्नुपर्छ या शिक्षकको कुटाई खानुपर्छ ।

अहिले सरकारी होस् या निजी, धेरैजसो विद्यालयमा विद्यार्थीको नियती यस्तै भेटिन्छ । स्कुलमा जसरी पनि पढ्नैपर्छ । अनि घरमा होमवर्क गर्नैपर्छ । नभए किन स्कुल जाने ?

तर काठमाण्डौ बालुवाटारको ‘टापु’मा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा यीभन्दा फरक दृश्य देखिन्छन् । यो विद्यालयमा विद्यार्थी पढ्छन्, तर घोकेर होइन । विद्यालयमै खाना खान्छन्, तर पैसा तिरेर होइन । अनि एक घण्टा आरामले कक्षाकोठामै निदाउँछन् । अर्थात आराम गर्छन्, तर अल्छी भएर होइन । 

आठ कक्षासम्म पढाई हुने यो विद्यालयमा अहिले तीन सय विद्यार्थी छन् । १४ जना शिक्षक शिक्षिका छन् । ११ जनाको दरबन्दी छ । १, २ र ३ कक्षाका विद्यार्थीलाई स्कुलमै निःशुल्क खाना खुवाइन्छ । नर्सरीका विद्यार्थीलाई खाना खुवाएपछि एक घण्टा सुत्न पनि दिइन्छ । 

निःशुल्क खाना खुवाउने, स्कूलमै सुताउने विद्यालय !
 
नर्सरीमा अढाईदेखि पाँच वर्षसम्मका बालबालिका छन् । धेरैजसोका आमाबुवा स्कुलमा बिहानै छोड्न र बेलुकी लिन मात्रै आउँछन् । दिउँसो आफ्नै दुई छाकका लागि मजदुरी गर्छन् । यस कोटीमा धेरै जसो उपत्यकामा मजदूरी र पढाईका लागि आएका बालबालिका छन् । कोही अभिभावकसहित छन् । कोही अरुकै जिम्मा लगाएर पठाइएका हुन् । 

६ घण्टा विद्यालयमै हुने नर्सरीका बच्चाहरु एक घण्टा सुतेर बिताउँछन् । बाँकी समय खेल्दै पढ्छन् । पढ्दै खेल्छन् । त्यो भन्दा बढी रमाउँदै सिक्छन् । उनीहरुलाई सिकाउन, पढाउन, सुताउन, उठाउन शिक्षिका सीता खत्री खटिएकी छिन् । तर बालबालिकालाई सुताउनै पर्नेचाहिँ किन ? 

‘खाना खाएपछि हामीलाई पनि निद्रा लाग्छ । शरिरले आराम खोजिरहेको हुन्छ । यी त बच्चाहरु हुन् । आराम गर्न दियौँ भने मात्रै पढेको कुरा दिमागमा राख्न सक्छन् । नत्र त घोकाए भैहाल्यो नि’ शिक्षिका खत्री जवाफ फर्काउँछिन् ।

सीताले यसरी बालबालिकालाई दिउँसो सुताउन र उठाउन थालेको चार वर्ष बित्यो । उनको छत्रछायामा रमाउने बालबच्चा कहिले सीतालाई आमा भन्छन् त कहिले मिस !

तर उनको अनुहारकै ‘हाउभाउ’ पनि शिरोधार्य गर्छन् भर्खरका कोपिलाहरु । सुत भने सुत । उठ भने उठ । दिउँसो १ बजे खाजा खाजा खाएपछि उनीहरु सुतेका भेटिन्छन् । कोही आँखा हेरे पनि पल्टिएका हुन्छन् । बिना ओछ्यान, बिना सिरक । 

काठमाण्डौका टोल टोलमा च्याउ जसरी खुलेका मण्टेश्वरी स्कुल छन् । जहाँ यसैगरी बालबच्चालाई सुताउने, उठाउने, पढाउने र खेलाउने गरिन्छ । हुने खाने र मोटो रकम तिर्न सक्नेका लागि मात्रै ती मण्टेश्वरी हुन् । गरीब मजदूरका छोराछोरीलाई तिनले चिन्दैनन् ।

तर गरीब मजदुरका छोराछोरीलाई ‘चाइल्ड केयर र महंगा बोर्डिङ’ स्कुलभन्दा कम छैन, पञ्चकन्या । जहाँ विद्यार्थीको भीड छ । स्कुल हेर्न शिक्षक र अभिभभावकको घुइँचो लाग्छ ।

सानो कक्षाका विद्यार्थी कतिपय भोकै आउने र बेलुकीसम्म खान नपाएर बेहोस हुने भएपछि विद्यालयमै निःशुल्क खाना र खाजा खुवाउन थालिएको हो । 

सुरु सुरुमा स्थानीय र शिक्षक शिक्षिकाले पैसा उठाएर विद्यार्थीलाई खाना खाजा खुवाउने कार्यक्रमलाई अहिले विभिन्न संघ संस्थाले पनि सहयोग गरेका विद्यालयकी प्रधानाध्यापक बिनिता रञ्जित बताउनुहुन्छ ।

मसानघाटबाट उठेको विद्यालय !

काठमाण्डौ उपत्यकाको उत्कृष्ट आधारभूत विद्यालय पञ्चकन्या २०१७ सालमा स्थापना भएको हो । स्वर्गीय भक्तबहादुर खड्काले टुँडालदेवी मन्दिरको छेउमा खोलेको यो विद्यालयमा २०४५ सालसम्म पढाई कम, बिदा बढी हुन्थ्यो ।

त्यतिबेला कक्षा तीनसम्म पढाई हुने विद्यालय ‘मसानघाट’ बराबर थियो । स्कुल भए पनि धेरै दिन सुनसान । थोरै विद्यार्थी । शिक्षकले पढाए पनि हुने । नपढाए कसलाई के मतलब ? 

त्यसमाथि पानी पर्‍यो की विद्यालय बन्द ! कोही मान्छे मर्‍यो की विद्यालय बन्द ! विद्यालयमा दिनपिच्छे विद्यार्थी कम आउँथे । तर विद्यालयकै बाटो भएर मरेका मान्छे नल्याएको दिन शायदै हुन्थ्यो । टुँडालदेवी मन्दिरमा शव राखेर घुमाइन्थ्यो । नजिकै खोलामा लगेर जलाइन्थ्यो । 

यही दृश्य हेरेर विद्यार्थी पढ्ने लेख्ने कम, मलामी ज्यादा बन्थे । कोही विद्यार्थी तर्सिन्थे । कोही रुवाबासी सुनेर मुर्छा पर्थे । यसैकारण मान्छे मरेको दिन विद्यार्थीलाई छुट्टी दिइन्थ्यो । विद्यालय मसानघाट बन्थ्यो । 

यसरी बन्यो नमुना 
 
गएको वर्ष काठमाण्डौ महानगरपालिकाबाट ‘उत्कृष्ट आधारभूत विद्यालय’को पुरस्कार थाप्नु अघिसम्म यो विद्यालय थुप्रै अभावबाट गुज्रियो । तत्कालीन वडाअध्यक्ष तथा टोलका अगुवा  भक्तराज खड्काले स्थापना गरेको विद्यालय २८ वर्षसम्म आर्थिक समस्या र भौतिक पूर्वाधारसँग मात्रै लड्यो ।

त्यसपछि २०४५ सालमा टुँडालदेवी मन्दिरबाट यो विद्यालय ५ सय मीटर पश्चिम ‘टापु’मा सारिएको हो । यसका लागि स्थानीय प्रत्येक व्यक्तिले पाँच रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म दान दिएका थिए ।

स्कुलका शिक्षक शिक्षिकाले भिरालो जमीनको बालुवासम्म पारेर जग हाले । स्थानीयकै जोडबलमा सारेर निर्माण गरिएको यो विद्यालय २०७० सालसम्म जसातसो चलेको मात्रै थियो । त्यसपछि भने शिक्षक, अभिभावक र स्थानीयको तालमेलले काँचुली फेर्न थाल्यो ।

स्मार्ट कक्षाकोठा, पावर प्वाइन्टबाट पठनपाठन ! 

गएको वर्ष ५० हजार रुपैयाँसहित काठमाण्डौ महानगरपालिकाबाट उत्कृष्ट आधारभूत विद्यालयको ‘ताज’ पहिरिएको यो विद्यालयलाई प्रदेश ३ सरकारले १० लाख रुपैयाँ पुरस्कार दिएको छ । 

नमूना आधारभूत विद्यालयमा ‘स्मार्ट क्लासरुम’ बनाउन आएको बजेटले अहिले प्रत्येक कक्षाकोठामा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । ब्ल्याकबोर्ड, ह्वाइट बोर्ड दुबै हटाउँदै बिस्तारै कम्प्युटर र पावरप्वाइन्ट राखेर पढाउने तयारी थालिएको छ ।

नर्सरी, १, २ र ३ कक्षा बालमैत्री छन् । त्यसभन्दा माथिका कक्षाकोठा भरी भित्तेचित्र र विभिन्न चित्रकलाले रंगीन छन् । विद्यार्थीलाई उमेरअनुसार डेस्क बेन्च छन् भने पढाउने शिक्षक शिक्षिकालाई पोडियम, दराज र टेबलको व्यवस्था गरिएको छ ।

रोलमोडल शिक्षक : अब्बल विद्यार्थी, सक्षम नेतृत्व !

पाँच वर्षअघिसम्म पञ्चकन्या स्कुल ‘टिठलाग्दो’ थियो । न्यून विद्यार्थी । अस्तव्यस्त पठनपाठन । गोलमाल शिक्षक । आफ्नै ‘शैक्षिक क्यालेन्डर’ र ‘रुटिनलेस’ गतिविधि ।

अहिले जस्तै पहिल्यैदेखि विद्यालय मुनीका सटर भाडामा दिइएको छ । बिहानदेखि बेलुकीसम्म ती पसलमा जति मानिस सामान लिन आउँछन्, त्यति विद्यार्थी बिहानदेखि बेलुकीसम्म विद्यालयमा हुन्थे । यसैकारण नजिकका स्थानीय टाढा टाढाका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पठाउँथे ।

तर अहिले अवस्था फेरिएको छ । बोर्डिङ स्कुलबाट छोराछोरी निकाल्दै पञ्चकन्यामा भर्ना गर्नेको संख्या बढ्दो छ । कतिले चाहेर पनि भर्ना पाउँदैनन् । भर्ना पाएकाले आठ कक्षापछि छाडेर जान मान्दैनन् ।

‘यो सबै परिवर्तन कसरी भयो ?’, सबै शिक्षक शिक्षिकाको साझा जवाफ आउँछ, ‘सक्षम नेतृत्व’ । २०४५ सालदेखि अध्यापन गराउने बिनिता रञ्जित अहिले प्रधानाध्यापक हुनुहुन्छ ।

२०७१ सालमा उहाँले प्रअको जिम्मेवारी सम्हालेदेखि विद्यालयको प्रगति भएर एउटा उत्कृष्ट आधारभूत विद्यालयबाट उपत्यकाकै नमूना बनिसकेको छ । 

‘टिम वर्क’मा कार्य विभाजन गरेर सामुहिक निर्णयमा रमाउने प्रअ बिनिताको रचनात्मक नेतृत्व शैलीले विद्यालयका शिक्षक रोलमोडल बनेका छन भने बर्सेनि अब्बल विद्यार्थी उत्पादन भइरहेका छन् ।

सामुहिक निर्णय गर्ने शैलीकै कारण यो जाडोमा कोही विद्यार्थी लुगलुग काँप्दै स्कुल आउनु परेन । शिक्षक शिक्षिका आफैले खाजा खाने पैसा जोगाएर सबै विद्यार्थीका लागि टोपी र गलबन्दी किनिदिएका छन् । 

भोको पेटले विद्यार्थी पढ्न सक्दैनन् भनेर नर्सरीदेखि तीन कक्षासम्मका विद्यार्थीले मासिक पाँच पाँच हजार रुपैयाँ उठाएर खाना र खाजा खुवाउने गरिएको छ । अहिले खाना र खाजा कार्यक्रममा केही शैक्षिक संघ संस्थाको सहयोग थपिएको छ ।

नयाँ संविधान र संघीयता लागू भएपछि स्थानीय तहको जिम्मेवारीमा आएका अरु विद्यालयलाई पनि पञ्चकन्या जस्तै नमुना बन्ने र बनाउने होडबाजी छ । यसका लागि धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट शिक्षक, जनप्रतिनिधि तथा अभिभावक पञ्चकन्या विद्यालय ‘भिजिट’ निरीक्षणमा आउने गरेका छन् ।

अंग्रेजी र नेपाली दुवै भाषामा पढाई हुने विद्यालयलाई कक्षा ९ देखि १२ सम्म चलाउनुपर्ने स्थानीयको जोड छ । तर भौतिक पूर्वाधार र जग्गा अभावले विद्यालय कक्षा ८ सम्मै सीमित छ ।

‘यो सबै परिवर्तन कसरी सम्भव भयो ?’ पञ्चकन्याको धेरैथोरै इतिहास जानेर प्रश्न गर्ने शिक्षक तथा अभिभावकलाई प्रअ बिनिता रञ्जित जवाफ दिनुहुन्छ, ‘पहिलो इच्छाशक्ति, दोश्रो ‘टिमवर्क’, तेस्रो कार्ययोजना र कार्यविभाजन अर्थात ‘भिजन’ ।’

साँच्चै उहाँका यी तीनवटा सूत्रले विद्यालयले मुहार मात्रै फेरेको छैन, सामुदायिक विद्यालय सकिए भन्नेका लागि गतिलो उदाहरण पनि बनेको छ ।

‘मलाई यहाँ मात्रै होइन । जुनसुकै गए गुज्रेको विद्यालयमा पठाए पनि यसरी काम गर्ने वातावरण दिइयो भने यस्तै नमूना विद्यालय बनाएर देखाई दिन्छु’ नयाँ नयाँ चुनौती लिएर काम गर्ने उहाँ अगाडि थप्नुहुन्छ, ‘एकपटक सरकारले परीक्षा लेओस् र स्थानीयले अवसर दिनुहोस् । साँच्चिकै म अरु विद्यालय पनि यस्तै नमूना बनाउन चाहन्छु ।’

 

अन्तिम अपडेट: साउन २०, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया