राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता

 फागुन १२, २०७५ आइतबार १५:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच आइतबार एकता भएको छ ।

काठमाण्डौमा भएको दुवै पार्टीको संयुक्त कार्य सम्पादन समिति बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर पछि एकता घोषणासभा गरिएको हो । आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गर्नुभएको छ ।

७ बुँदामा सहमतिका आधारहरु समेटिएका छन् । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई पाटीको वैचारिक आधारस्तम्भ मानिएको छ ।

यस्ताे छ सहमति:

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको  राप्रपा (प्रजातान्त्रिक) बीच एकताको सहमति पत्र

देशमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सन्दर्भमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको  राप्रपा (प्रजातान्त्रिक) बीच एकता गर्ने सहमति भएको छ ।
सहमतिको आधारहरु
१) राप्रपा एकता महाधिबेशनबाट निर्णय भएको नीति, बिधान र नेतृत्व एकताको मुल आधार हुनेछ ।
२) सम्बद्र्धनवाद राप्रपा को बैचारिक दर्शन हुनेछ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुनेछ ।
३) राप्रपाको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिबद्ध रहंदै नेपालको संविधानलाई उपयोग गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य  गर्ने पार्टीको नीति रहने छ ।
४) पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने छ । पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाई सुदृढ तुल्याईने छ। यस प्रयोजनको लागि केन्द्रमा पार्टी अध्यक्ष को अध्यक्षतामा ११ सदस्यीय निर्देशन समिति गठन गरिने छ । पार्टीको महत्वपूर्ण नीति र अन्य बिषयहरुमा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ ।
५) पार्टी विभाजन हुँदा राप्रपा (प्रजातान्त्रिक) मा रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरु साविक बमोजिमको पदमा कायम रहने छन्। अन्य सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने छ ।
६) पार्टी विभाजन हुँदा कायम रहेका जिल्ला अध्यक्ष र पदाधिकारीहरु साविक बमोजिम कायम गरिने छ । विवाद भएको जिल्लामा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ ।
७) समान विचारधारा भएका राजनीतिक दलहरुसंगको एकता प्रयासलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

दिपक बोहरा                                    कमल थापा
बरिष्ठ उपाध्यक्ष                                    अध्यक्ष
राप्रपा (प्रजातान्त्रिक)            मिति ः १२, फागुन २०७५            राष्ट्रिय प्रजातन्त्र पार्टी

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया