विदेशबाट फर्केपछि खेतबारीमा मन : कृषि प्रविधिले बढायो धन

 फागुन १४, २०७५ मंगलबार ८:५६:५७ | विष्णु विश्वकर्मा
unn.prixa.net

उदयपुर – त्रियुगा नगरपालिका लालपत्ताका धर्म दाहालले बाख्रा, भैँसी र कुखुरा पाल्नु भएको छ । पशुपालन व्यवसायसँगै तरकारी खेतीसमेत गर्ने उहाँ मासिक ३५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।

साउदी अरबमा १३ वर्ष काम गरेर स्वदेश फर्केपछि कृषि व्यवसाय थाल्नु भएका उहाँसँग अहिले लाखौँ रुपैयाँ बचत छ । लालपत्तामा थप घर जग्गा जोड्नु भएको छ । आर्थिक अभावले साँझ बिहान के खाउँ भन्ने अवस्था आएपछि साउदी पुग्नु भएका दाहाल अहिले लालमत्तामै लोभलाग्दो कमाई गर्नुहुन्छ ।

उहाँको व्यवसाय र प्रगति देखेर छिमेकीसमेत चकित छन् । २०६१ सालमा साउदी जानुअघि उहाँसग जति जग्गा थियो, अहिले पनि त्यति नै छ । तर त्यतिबेला उत्पादन नभएर विदेश गएका उहाँ अहिले त्यही जमिनबाट उत्पादन भएको तरकारी बेचेर वार्षिक १० लाख रुपैयाँ कमाउनुहुन्छ ।

आखिर विगतमा बाँझो रहने जमीनबाट अहिले कसरी लाखौँ मूल्यको तरकारी उत्पादन हुन्छ ? दाहाल भन्नुहुन्छ, ‘प्रविधिको प्रयोग ।’ 

दाहालकै छिमेकी जगत सुवेदी पनि ‘अलराउण्डर’ कृषि व्यवसाय गर्नुहुन्छ । बाह्रै महिना तरकारी खेतीका साथै माछापालन र कुखुरापालन गर्ने उहाँ पनि मासिक ३० हजार रुपैयाँ बचत गर्नुहुन्छ । उहाँले अहिले थप जग्गा लिजमा लिएर कृषि व्यवसाय विस्तार गर्नु भएको छ । 

आर्थिक अभावकै कारण छोराहरु रोजगारीका लागि मलेसिया र साउदी पुगेका थिए । तर घरमै लोभलाग्दो कमाई हुने भएपछि उहाँले दुवै छोरालाई घर बोलाउनु भएको छ । 

तरकारी खेती र व्यवसाय गरेर बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएर नयाँ घर समेत ठड्याउनु भएका उहाँ छोराहरुलाई पनि कृषि खेतीमै लगाउने योजना बनाइरहनु भएको छ ।

‘घरमै पसिना बगाएर कमाइ हुन्छ भने छोरालाई विदेशमा किन पसिना बगाउन दिने ?’ उहाँले भन्नुभयो, ‘अब यही व्यवसायलाई विस्तार गरेर छोराहरुलाई पनि व्यवसायी बनाउँछु ।’

आधुनिक तरिकाबाट खेती 

वर्षौंदेखि परम्परागत तरिकाबाट खेती गर्दा कमै उत्पादन हुने बाध्यता किसानले भोग्दै आएका छन् । वर्षभरी दुःख गरेर खेती लगाए पनि पर्याप्त उप्पादन नहुने भएपछि धेरै जना कृषि कर्म छाडेर विदेशिन पुगेका छन् । 

तर अहिले दाहाल र सुवेदीले परम्परागत रुपमै गरिरहेको खेती प्रणालीमा ठूलो सुधार ल्याएका छन् । नार्कका विज्ञको सल्लाहमा गाईभैँसीको मललाई छोपेर मात्रै खेतबारीमा छर्ने र गाईभैँसीको मलमूत्रबाट बनाइएको प्राङगारिक तथा घरेलु विषादीको प्रयोग गरेर उत्पादन बढाएका छन् ।

नयाँ जातको बीउको प्रयोग गर्ने र सिँचाईमा ध्यान दिने गर्नाले उनीहरुको पहिलेको तुलनामा कृषि उत्पादन बढेको हो । आफ्नो उत्पादन गाईघाट, सिराहाको लहान, मिर्चैयालगायतका बजारमा बेच्ने उहाँहरु तरकारी लिनका लागि खेतमै व्यापारी पुग्ने गरेको बताउनुहुन्छ ।

‘उत्पादन गरेको तरकारी अहिलेसम्म खेर गएको छैन’ किसान जगत सुवेदीले भन्नुभयो, ‘कहिले व्यापारी खेतमै आएर लैजान्छन् । कहिले हामी आफैँ नजिकको बजारमा लिएर बेच्ने गरेका छौँ ।’ 

नयाँ प्रविधिको प्रयोग !

नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बाह्य अनुसन्धान महाशाखाले लालपत्तामा गहुँ, तोरी र लसुनमा नयाँ प्रविधिको परीक्षण गरिरहेको छ । लसुनमा पश्चिम नेपालका थारु समुदायले प्रयोग गर्ने धान काटिसकेको बोटमा बिना खनजोत लसुन खेती प्रविधि महाशाखाले लालमत्तामा पनि प्रयोग गर्न सिफारिस गरेको हो ।

जसको प्रयोगबाट दाहाल र सुवेदी लालपत्ताकै नमूना किसान बनेका छन । यो प्रविधि सफल रुपमा प्रयोग भएपछि अब जोत्ने, खन्ने, सम्याएर मात्रै लसुन रोप्ने परम्पराको अन्त्य हुनेछ । नयाँ प्रविधि अनुसार धान काटेपछि बाँकी रहेको परालको बोटमा लसुनको बीउ राखेर माथिबाट छाप्रो हालिदिएपछि लसुन सजिलै उम्रन्छ, फल्छ । 

यसबाट जनशक्ति, खनजोत र लागत जोगाउन किसानलाई सजिलो भएको छ । यो प्रविधि महाशाखाले नार्क अन्तर्गतको क्षेत्रीय अनुसन्धान केन्द्र खजुराबाट अरु क्षेत्रमा पनि विस्तार गर्नको लागि लालपत्तामा प्रयोग गरेको हो । जसबाट दाहाल र सुवेदी जस्ता किसानलाई फाइदा पुगेको छ ।

अर्को बर्ष त्रियुगा नगरपालिकाका सबै क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरेर लसुनको खेती गर्न किसान उत्साहित भएको महाशाखाकी प्राविधिक अधिकृत शर्मिला पियाले जानकारी दिनुभयो । नयाँ प्रविधिको प्रयोग गरेर लसुन खेती गरेमा २५ प्रतिशत बढी उत्पादन दिने र ५० प्रतिशत लागत घट्ने पनि उहाँको भनाई छ ।

यस्तै महाशाखाले ‘डब्ल्यू के १२०४’ जातको गहुँको बीउको पनि परीक्षण गरेको छ । सुख्खा सहन सक्ने र राम्रो उत्पादन दिने यो जातको गहुँ यस वर्ष लालमत्ताका सबै किसानलाई वितरण गर्ने तयारी गरेको छ । दाहालकै बारीमा परीक्षणका रुपमा विकास गरिएको यो जातको गहुँको बीउ अरु किसानलाई पनि बाँड्ने तयारी महाशाखाले गरेको छ ।

यस्तै महाशाखाले ‘उन्नति विकास मोरङ’ र स्थानीय जातको तोरी पनि परीक्षण गरेको छ । यस वर्ष ढिला लगाइएकाले परीक्षणका लागि लगाइएको तोरी राम्रो फल्न नसके पनि रैथाने जातभन्दा यसले बढी फाइदा दिने महाशाखाका अर्का प्राविधिक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

यो प्रविधि किसानका खेतमा परीक्षण र पहिलोपटक प्रयोग गर्न हेल्भेटास नेपालको प्रयास परियोजनाले पनि सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

वैज्ञानिकले अनुसन्धान गरेर विकास गरेका नयाँ प्रविधि र उन्नत जातका बीउलाई किसानसम्म पुर्‍याउनका लागि लालमत्तामा परीक्षण गरिएको महाशाखाका प्रमुख वैज्ञानिक ध्रुवराज भट्टराईले बताउनुभयो ।

यो प्रविधि सफल भएकाले लालपत्तापछि सातै प्रदेशका १ सय ४ वटा नार्क कार्यालय वरपरका स्थानीय तहमा पनि नयाँ प्रविधिको विस्तार गर्ने उहाँले बताउनुभयो । यसबाहेक अरु प्रविधि र उन्नत जातका बीउलाई किसानसम्म पुर्‍याउन र खेती गर्न प्रत्यक्ष सघाउन लागिपरेको उहाँको भनाई छ । 

 

अन्तिम अपडेट: जेठ १५, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया