रोजगारीका लागि भारत जानेहरुको पनि निःशुल्क दुर्घटना बीमा

 फागुन १४, २०७५ मंगलबार १३:६:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – भुमिकास्थान नगरपालिकाबाट रोजगारीका लागि भारतमा गएका श्रमिकहरुको ७ लाख बराबरको निःशुल्क दुर्घटना बीमा सुरु भएको छ । 

तेस्रो देशमा जाने मानिसहरुको अनिवार्य बीमा गर्नु पर्ने नियम भए पनि भारतमा जानेहरु भने बीमाबिना नै जाने गरेका छन् । महिला सहकारीलाई सक्षम रुपमा अगाडि बढाई सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेडमार्फत निःशुल्क दुर्घटना बीमाको सेवा ल्याएको हो । 

भुमिकास्थान नगरपालिकाको वडा नम्बर–४, धारापानीमा रहेको सशक्तिकरण महिला कृषि सहकारी सस्थाले वडा नम्बर ३ र ४ मा स्थायी घर भई रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निःशुल्क बीमा गरी, निःशुल्क बीमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनुभयो ।  

बीमालेख पत्र आज एक कार्यक्रमबीच नगर प्रमुख रेशम थापाले सशक्तिकरण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष सिता खड्कालाई हस्तान्तरण गरेका छन् ।  

भुमिकास्थान नगरपालिकाको १,२,३,४ र ९ नम्बर वडाबाट मात्रै झण्डै २ हजार जना मानिसहरु  रोजगारीका लागि भारतमा गएका छन् । सशक्तिकरण महिला सहकारी सँगसँगै ढाकाबाङमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका वडा नम्बर १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निःशुल्क बीमाको कार्य गर्नेछन् । 

रोजगारीका लागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमिकहरुको समस्या समाधान गर्न निःशुल्क बीमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका व्यवस्थापक युवराज ज्ञवालीले बताउनुभयो । 

बीमा गरेका व्यक्तिहरुको भारतमा रोजगारीको सिलसिलामा ज्यान गएमा ७ लाख रुपैयाँ, स्थायी पूर्ण रुपमा असक्त भएमा  ७ लाख रुपैयाँ, अस्थायी अपांग भएमा ३ लाख ५० हजार र उपचार गर्नु पर्ने भएमा ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

बीमा गर्नका लागि कुनै पनि रकम तिर्न पर्दैन । एक व्यक्तिको जम्मा ६ सय ९८ रुपैयाँमा बीमा हुन्छ । तर त्यो रकम पनि जनचेतना सरोकार मञ्चले नै व्यवस्था गरेको छ । बीमामार्फत प्राप्त हुने कमिसन पनि सहकारीले नै प्राप्त गर्नेछन् । 

भुमिकास्थान नगरपालिकामा मात्र हैन भारतमा गएका श्रमिकको निःशुल्क बीमा अर्घाखाँचीसहित देशैभरि गर्न आवश्यक देखिएको छ । अर्घाखाँचीबाट मात्रै ५० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया