विदेश त गाह्रो छ नै स्वदेशमा काम गर्न पनि सरकारले भनेको जस्तो सजिलो छैन

 फागुन १६, २०७५ बिहिबार १६:५४:२९ | मेरो कथा मेरो भोगाई

विनोद रिजाल/सिम्ले, धादिङ । 

सरकारले अहिले युवाहरु विदेश नजानुस् देशमै केही गर्नुहोस् भनिरहेको छ । म वैदेशिक रोजगारीमा कतार र मलेसिया गएर फर्किएको व्यक्ति हुँ । विदेशमा सुखले पैसा कमाउने र फर्किने नेपाली सायदै कम होलान् । 

विदेश जाने बेलामा कसैले पनि विदेश त्यस्तो होला भनेर सोचेको हुँदैन । म पहिलो सन् २०१५ मा कतार गएको थिएँ । जिल्लाकै एजेण्ट मार्फत जाँदा मैले म्यानपावरले वेल्डरको कामका लागि ८० हजार रुपैयाँ लिएर वेल्डरको काममा कुवेत गएँ । 

काम ठिकै थियो । तर केही महिना काम गरेपछि मेरो आँखामा समस्या सुरु भयो । हेर्नै नहुने गरी आँखा दुखेपछि मैले काम गर्न सक्दिन भनें । मलाई कम्पनीले स्टिल फिक्सरको काम दियो । मैले दुई वर्ष त्यही काम गरें ।

म्यानपावरले मलाई एक हजार रियाल हुन्छ भनेको थियो । सुरुमा ८ सय रियाल मात्रै दियो । तर केही महिनापछि बिस्तारै बढाउँदै १२ सय रियालसम्म पुग्यो । दुई वर्षमा तीन महिनाको बिदा लिएर घर फर्किएँ । फर्किंदा साथी पनि सँगै आउका थिए ।

साथीले विमानस्थलमा मलाई उनको पनि लगेज निकाल्दिन भने । उनको लगेज निकाल्दा हातमा रहेको पासपोर्ट त्यही छोडेंछु । पासपोर्ट हरायो । कम्पनीले मिलाएर आइज भनेर बोलाएको पनि हो । तर नमिलेपछि जान पाइनँ ।

डेढ वर्ष घरमा बसें । आफूले खान पुग्ने मात्रै खेतीपाती गर्ने ठाउँ भएको मेरा लागि फेरि पनि विदेश जानुको अर्को विकल्प रहेन । म अर्को पासपोर्ट बनाएर मलेसिया गएँ । चिनेको मान्छेले मलाई म्यानपावरमा पुर्‍याइदिए ।

मलाई उनले सेक्युरिटी गार्डको काम भनेका थिए । त्यसकै लागि म मलेसिया पुगें । कतारको अनुभव लिइसकेको मेरा लागि विदेशको वातावरण नौलो थिएन । तर कतारभन्दा मलेसिया नेपालीका लागि मैले राम्रो पाइनँ । किनकी त्यहाँ नेपालीहरु सुरक्षित रहेनछन् ।

दिउँसो नै कुटिने अनि लुटिने हुँदो रहेछ । त्यति मात्रै होइन आफू त्यस्तो समस्यामा परेर प्रहरीलाइ भनियो भने उल्टै समस्यामा परिने रहेछ । प्रहरीले पनि आफूसँग भएको सामान लुट्नेसम्मका काम गर्दा रहेछन् । 

मसँगै काम गर्ने केही साथीहरु पनि त्यस्तो समस्यामा परेपछि मैले मेरो मोबाइल हराउँदा प्रहरीलाई भन्ने आँट गरिन । मलेसिया गएको एक वर्ष नपुग्दै म बिरामी भएँ । कम्पनीले उपचार गरिदिएन । पेटको समस्या भएर अस्पताल जाँदा एक पटकमा ७ देखि ८ हजार रुपैयाँसम्म खर्च हुन्थ्यो । 

कम्पनीलाई घर जान बिदा मागें । तर दिएन । उल्दै कम्पनीले ६ हजार रिंगिट जम्मा गरेपछि मात्रै जान दिने जवाफ दियो । त्यसपछि म भागेर दूतावासमा पुगें । दूतावासका बारेमा जानकारी थिएन ।

त्यसैले त्यहाँ पनि दलाललाई ५० रिंगिट दिएर दूतावास देखाउन र त्यहाँको काम गर्न लगाएँ । उसले सहयोग गरेपछि म घर फर्किएँ । म फेरि विदेश जान चाहन्न । मेरो सोच त देशमै केही गरौं भन्ने नै हो । तर सरकारले भनेको जस्तो सजिलो रहेनछ यहाँ काम गर्न ।

केही गर्नलाई ऋण चाहियो । सरकारले सहुलियतमा ऋण दिने भनेको छ । तर ऋण सरकारले दिने होइन । बैंकहरुले दिने हो । अनि बैंकका शर्त पुरा गर्न जो कोहीले सक्दै सक्दैन । 

त्यसैले वैदेशिक रोजगारीमा जानेहरुका लागि विदेश सजिलो छैन अनि स्वदेशमै केही गरौं भन्दा देशभित्र काम गर्न पनि सरकारले काठमाण्डौमा बसेर भनेको जस्तो सजिलाे वातावरण छैन । 

अन्तिम अपडेट: असोज १४, २०७६

तपाईको प्रतिक्रिया