सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

 फागुन १८, २०७५ शनिबार १८:२२:४७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको  छ।

दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने , पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।

साविकको भाँडसर, बलरा, त्रिभुवन नगर, मधुवनीगोठ मलंगवा, हरिपूर्वा लगायत क्षेत्रमा गाडिएको जंङ्गे पिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल-भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले  पिलर ढल्ने अवस्थामा पुगेको स्थानीहरु गुनासाे गर्छन् ।

यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३ सय १५ पिलरमध्ये आठवटा जंङ्गे पिलर, २० वटा सहायक पिलर र १४० वटा साना पिलर अत्यन्तै जिर्ण अवस्थामा पुगेको  र दुईवटा साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पूर्वमा संग्रामपुरदेखि पश्चिममा बलरा नगरपालिकासम्मको ४६ किलोमिटर दशगजाको ११ स्थानमा दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका-४ मा दुवै तर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घर भित्र परेको छ । स्थानीय अक्लेश सहनी भन्नुहुन्छ, 'घर बनाएर बस्न कतै  खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन ।'

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्रमा दुवै देशले ३०/३० फिट दाँया र बायाँ कुनै पनि कार्य गर्न वा घरटहरा बनाइ अतिक्रम गर्न निषेधित गरिएको हुन्छ । सीमास्तम्भलाई सुरक्षित बनाउन  दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिका‌ंश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया