‘तरकारी किन्न छाड्यौँ, धान बेच्न थाल्यौँ’

अब श्रीमानलाई विदेश पठाउँदैनौँ

 फागुन २०, २०७५ सोमबार १०:३०:५० | विष्णु विश्वकर्मा
unn.prixa.net

उदयपुर –  त्रियुगा शिवालयकी रञ्जु राउतलाई हिजोआज के खाउँ भन्ने चिन्ता छैन । बारीमा थरिथरीका तरकारी लटरम्म फलिरहेको छ । भकारीमा धान छ ।

गहुँका हरिया बाला भरिला छन् । हरिया सागसब्जीले ज्यान फूर्तिलो छ । दुई चार किलो बेचेपछि छोराछोरीलाई कापी कलम आउँछ ।

त्रियुगा नगरपालिका ११ शिवालय टोलमा घरु भएकी रञ्जु दुई वर्ष अघिसम्म पनि किनेरै खानुहुन्थ्यो । खेतबारीमा फलेको अन्नले ६ महिना मात्रै पुग्थ्यो । गहुँ र चामल मात्रै होइन, तरकारी पनि बजारबाट किनेरै खानुपर्ने बाध्यता थियो ।

छिमेकी मीना बुढाथोकीको हालत पनि उस्तै थियो । वर्षभरी छाक टार्न मुश्किल पथ्र्यो । दुवै जनाका श्रीमान भने विदेशमा थिए । ऐचोपैँचो मागेरै भए पनि जसोतसो छाक टर्थ्याे ।

तर अहिले यी सबै बाध्यताबाट रञ्जु  र मीना मुक्त छन् । विदेशबाट श्रीमान फर्किएपछि अर्को खुशी थपिएको छ । ‘अब खेतकै अन्नले पुग्छ । किन्नु पर्दैन । किन्नु नपरेपछि पैसा जोगिएको छ । श्रीमानलाई विदेश पठाइरहनु परेन’ दुवै जनाले एकसाथ भने ।

उन्नत जात र प्रविधिले हराभरा खेतबारी !

सिँचाइको समस्यालाई छाड्ने हो भने शिवालयका कुनै किसानलाई पनि अहिले अन्न किन्नु पर्दैन । उब्जेको अन्न खाएर पनि अलिकति बेच्न पुगेको छ । त्यसबाट आउने रकमले छोराछोरीको पठनपाठन र घरखर्च चलाउन सहज भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बाह्य अनुसन्धान महाशाखाले शिवालयका ८० घर परिवारलाई धान, गहुँ, तोरी र लसुनको नयाँ जात र प्रविधि वितरण गरेको छ ।

‘बहुगुणी १’ जातको धान लगाएका किसानले पुर्पुरोमा हात लगाउनु परेको छैन । धान काटेर ‘डब्लु एच १२०४’ जातको गहुँ लगाएपछि पनि निराश हुनु परेको छैन ।

पहिलेको जस्तो धान, गहुँ लगाउँदा अहिले चिन्ता लिनु पर्दैन । रैथाने भन्दा आधुनिक यी दुई जातका बीउले शिवालयका धेरैजसो किसान खुसी छन् । सन्तुष्ट देखिन्छन् । वर्षैभरी खान पुग्ने भएपछि उन्नत जातका बीउबाट आकर्षित छन् ।

साथमा उनीहरुले नार्कले नै दिएको तोरी लगाएका छन् । ‘बिना खनजोत लसुन खेती’ प्रविधिबाट हुर्किएको लसुन खाने गरेका छन ।

तरकारी किन्न छाड्यौँ,  धान बेच्न थाल्यौँ

बारीमा लगाएको तरकारी फलेपछि अहिले उनीहरुलाई किनेर खानु पर्दैन । वर्षभरी कुनै न कुनै तरकारी रोपिरहन्छन् । बारीकै तरकारीले पुग्ने भएपछि पैसा बोकेर बजार जानु पर्दैन । 

तरकारी बजारबाट किनेर खानुपर्ने बाध्यता हटेको छ भने भात खाएर पनि धान बेच्न मिल्ने गरी उत्पादन भएको छ । 

रञ्जुले गएको वर्ष खेतबाट झण्डै पाँच मुरी धान भित्र्याउनुभयो । त्यसमध्ये एक मुरी बेच्नुभयो । बाँकी धान आफ्नै लागि भकारीमा राख्नु भएको छ । 

‘पहिले पहिले तरकारी र चामल किन्नुपथ्र्यो । अहिले तरकारी आफ्नै बारीमा फल्छ । अलि बढी उत्पादन भएको धान बेच्छौँ’ रञ्जुले भन्नुभयो ।

अब श्रीमानलाई विदेश पठाउँदैनौँ

श्रीमानलाई विदेश पठाउने रहर कसलाई हुन्छ र ? तर मुटुमा ढुंगा राखेर आँसुका धारा बगाउँदै आज पनि धेरै महिलाका जीवनसाथी खाडीमा पसिना बगाइरहेका छन् ।

केही वर्ष अघिसम्म रञ्जुका श्रीमान मनकुमार मलेसिया र मीनाका श्रीमान रामबहादुर कतारमा पसिना बगाउन बाध्य थिए । तर अहिले उनीहरु दुवैजना घर फर्किएका छन् ।

आधुनिक तरिकाको खेती प्रणाली अपनाएका छन् । तरकारी खेतीलाई व्यवसायमा परिणत गरेका छन् । सुखदुःख साटेका छन् । हाँसीहाँसी दिन कटाएका छन् । 

‘साथमा श्रीमान भएपछि आँट आउँदो रहेछ’ रञ्जुलाई हेर्दै मीनाले भन्नुभयो, ‘पहिला बाँझै छाड्ने जमीनमा अहिले तरकारी लगाउँछौँ । विज्ञले भने जसरी गोडमेल गछौँ । नयाँ जातको बीउ छर्छौ । राम्रै भएको छ । अब श्रीमानलाई विदेश पठाउने सोेचेका छैनौँ ।’

खेतीपातीमै राम्रो

मीना र रञ्जु जस्तै गरी गाउँकै गणेश काफ्लेको खेतीपाती पनि राम्रै छ । नार्क अन्तर्गतको बाह्य अनुसन्धान महाशाखा, हेल्भेटासको प्रयास परियोजनाको सहकार्यमा बीउ वितरण गरिएको विवरण लेखिएको बोर्ड काफ्लेकै घरमा छ ।

कहिलेकाहीँ बीउ, त्यसबाट भएको उत्पादन र केही समस्या देखिए काफ्लेकै घरमा बैठक बस्छ । एकअर्कालाई परेका समस्या सुनाउँछन् । जानेका उपाय बताउँछन् । बजारमा तरकारीको भाउ बढे नबढेको पत्तो लगाउँछन् । 

भाउ अनुसार नै तरकारी उत्पादन गर्न लाग्छन् । खोलाबाट नहर ल्याएर गरिने सिँचाइले वर्षा धाने पनि हिउँदमा पुग्दैन । खोलामा पानी सुकेपछि नहर पनि खाली हुन्छ ।

‘अरु सबै पुगेकै छ । पहिला भन्दा खुशी छौँ । आफैले गरिखाने भैसकेका पनि छौँ’ कुराको चुरो सुनाउँदै रञ्जुले भन्नुभयो, ‘सिँचाई गर्ने साधन भए जाती हुने थियो । नहरको भर हुँदैन । घरमै डिप बोरिङ हाल्न पाए हुनेथियो । तर कसरी हाल्नु भन्ने चिन्ता छ ?’

उहाँको कुरा सुनेपछि नार्कका प्राविधिक मनोज ओझाले भन्नुभयो, ‘हाम्रो उद्देश्य प्रविधि किसानसम्म पुर्याउने हो । यसमा सफल भयौँ । हावापानी र यहाँको अवस्थाको अध्ययन गरेपछि सिफारिस गरेको बीउ र प्रविधि शिवालयका किसानलाई फापेको छ । अब अरु सहयोगका लागि त गाउँकै जनप्रतिनिधिलाई भने समाधान होला । हामी मात्रै सक्दैनौँ ।’

ओझाका कुरा सुनेपछि मीना र रञ्जुले अब नगरपालिका कार्यालयमै सिँचाईको व्यथा सुनाउने मनस्थितीमा पुग्नुभयो । यसका लागि घरमा श्रीमान र समूहमा सल्लाह गर्ने पनि योजना सुनाउनुभयो ।

‘आफ्नै गाउँमा वैज्ञानिक बेलाउनुहोस्, उत्पादन बढाउनुहोस् !’

नार्क अन्तर्गतको बाह्य अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक डा. ध्रुब भट्टराईले किसानलाई नयाँ बीउ र प्रविधिले फाइदा मिलेको देखेर खुशी लागेको बताउनुभयो । अब अरु जिल्लामा पनि हावापानी अनुसार नार्कका प्रविधि पु¥याउन आफै नार्कका क्षेत्रीय स्टेशनमा पुग्ने योजना सुनाउनुभयो ।

‘हामीले सुरुका वर्षमा गरेको परीक्षण सफल भएको छ’ उहाँले भन्नुभयो, ‘यो किसान र हाम्रा लागि खुशीको कुरा हो । अब यसैगरी देशैभर रहेका नार्कका १ सय ४ स्टेशनमार्फत सबै स्थानीय तहमा नार्कका प्रविधि किसानसम्म पुर्याउने योजना छ ।’

यसका लागि सिँचाई, आधुनिक खेती प्रणालीबारे सचेतना, वैज्ञानिकको माग र आवश्यकताबारे स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

‘अब हाम्रा वैज्ञानिक काठमाण्डौमा मात्र होइन, सबै स्थानीय तह र किसानमा खेतमा पुग्न चाहन्छन् । तर यो हामीले मात्रै चाहेर हँुदैन । किसान र जनप्रतिनिधिबाट प्रत्यक्ष माग आउनुपर्छ’ उहाँले अगाडि थप भन्नुभयो, ‘उहाँहरुको माग भएमा हामी वैज्ञानिकलाई उनीहरुकै खेतमा पठाउन र सहयोग गर्न तयार छौँ । त्यसैले मेरो आग्रह छ – आफ्नै गाउँमा वैज्ञानिक बेलाउनुस, उत्पादन बढाउनुस ।’ 

महाशाखाले पहिलो चरणमा काभ्रे, सिन्धुली, बाँके, नवलपरासीलगायतका जिल्लामा नयाँ जातका बीउ र प्रविधि वितरण गरेर प्रत्यक्ष परीक्षण गरिरहेको छ । यस वर्ष सफल भएका बीउ र प्रविधि देशका सबै ठाउँमा पुर्याउन नयाँ कार्यक्रम ल्याउने योजना पनि महाशाखाले अघि सारेको छ ।

यसका लागि आउँदो वैशाखसम्ममा किसान र वैज्ञानिकको राष्ट्रिय सम्मेलन गरेर अघि बढ्ने योजना रहेको भट्टराईले बताउनुभयो ।

‘अहिले सीमित बजेट र जनशक्तिले यो कार्यक्रम चलाइरहेका छौँ’ बागबानी विज्ञ समेत रहनु भएका भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय स्तरको भेला गरेर त्यसबाट आएका सुझाव समेटेर नयाँ कार्यक्रममार्फत सबैलाई समेट्ने गरी देशैभर पुग्ने योजना छ ।’


 

अन्तिम अपडेट: कात्तिक २२, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया