बाँझो खेतबारी हराभरा भएपछि विदेश गएका छोरा फर्किए

 फागुन २३, २०७५ बिहिबार ११:३१:५३ | विष्णु विश्वकर्मा
unn.prixa.net

उदयपुर – हँसिलो अनुहार । मिठो बोली । स्वस्थ शरीर । त्रियुगा नगरपालिका ६ लालपत्ताका जगत सुवेदी खेती किसानी गर्नुहुन्छ । गाउँमा उहाँको बोली व्यवहार जति फरासिलो छ, बारीमा फलेको तरकारी किन्ने र हेर्नेको भीड पनि त्यतिकै बढ्दो छ । 

झण्डै पाँच वर्षअघि उहाँले परबलबाट तरकारी खेती सुरु गर्नु भएको हो । धान, गहुँ राम्रो नफल्ने जग्गामा परबल फलेर मालामाल होला भनेर सुवेदीले सोच्नु भएको थिएन । एकपटक तरकारी बाली लगाएर हेरौँ भनेर सुरु गरेको परबल  खेतीले उहाँलाई आज व्यवसायिक बनाएको छ ।

परबलबाट सुरु भएको तरकारी खेती टमाटर, आलु, काउली, बन्दा हुँदै कुखुरापालन र माछापालनसम्म पुगिसकेको छ ।

बाँझो जमीनमा जब पसिना बग्यो

गाउँमा जगत सुवेदीको अवस्था कुनैबेला अरुको जस्तै नाजुक थियो । पर्याप्त पैसा थिएन । खेतबारीमै छरेको बीउ पनि उम्रिदैन थियो । 

घर परिवारलाई वर्षभरी खाने अन्न थिएन । बस्ने राम्रो घर थिएन । छिमेकी धर्मराज दाहाल यही अवस्थाबाट गुज्रिन नसकेपछि साउदी भासिनुभयो । 

तर जगत खाडी जान सक्नुभएन । मन नभइ नभइ भए पनि बारी खन्न थाल्नुभयो । बेमौसममा बारी खन्दा देख्नेहरुले हाँसेर उडाउँथे । भेटेकाले सोधीखोजी गर्थे । अब तरकारी खेती गर्छु भन्दा कसैले पनि पत्याउदैन थिए । 

तर जगतले धान, गहुँ लगाउने बारीमा परबल रोप्नुभयोे । पहिलो पटक लगाएको परबल राम्रै फल्यो । लगाएको सबै बीउ राम्ररी उम्रेर फलेपछि जगतको मन पनि फुल्यो । सप्तरी र गाईघाट बजारमा परबल बेच्नुभयो ।

त्यसबाट केही पैसा आयो । पैसाभन्दा ठूलो कुरा हिम्मत बढ्यो । आफूले यति गर्दा दुई छोरा अरु काम नपाएर मलेसिया उडिसकेका थिए । तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? 

जसोतसो ऋणदान गरेर छोरालाई मलेसिया पठाए पनि उताबाट पैसा हैन, दुःखका वेदना मात्रै आउँथे । छोराहरु भनेको जस्तो काम नपाएर अलपत्र परे । जगतले सुन्न मात्रै सक्नुभयो,  केही भन्ने आँट गर्न सकेनन् ।

उता साउदी पुगेका छिमेकी धर्मराजको छटपटी पनि उस्तै थियो । सुरुका पाँच वर्षमा आफूले दुःख पाएको सुनाउनुहुन्थ्यो । छोरा र छिमेकीको दुःख सुनेपछि जगतको मन पनि अमिलो भयोे ।

विदेश नगएकोमा पछुतो मान्नुभएन । बरु झन मेहनत गरेर व्यवसाय बढाउने योजना बनाउनुभयो । 
परबलबाट शुरु भएको उहाँको तरकारी व्यवसाय आलु, बन्दा, टमाटर हुँदै कुखुरा र माछापालनसम्म फैलिएको छ । विगतमा आफ्नै बारी बाँझो राख्ने जगत अहिले अरुको बारी पनि ‘लिज’मा लिएर खनजोत गर्नुहुन्छ ।

सिजनमा अलिअलि धान, गहुँ पनि लगाउनुहुन्छ । अफसिजनमा तरकारी फलाउनुहुन्छ । तरकारीसँगै कुखुरापालन र माछापालन व्यवसायबाट पनि आम्दानी गर्नुहुन्छ । 

तरकारी खेती, माछा र कुखुरापालन व्यवसायबाट आएको पैसाबाट जगतले पक्की घर बनाउनुभएको छ । अहिले तरकारी बेचेरै मासिक २६ हजार रुपैयाँ बैंकको किस्ता बुझाउनुहुन्छ । बचेको पैसाले घर खर्च चलाउनुहुन्छ । 

कृषि प्रविधिको साथ 

कुनैबेला निराश बनाएको खेतीपाती अहिले फस्टाउनुमा कृषि प्रविधिको भूमिका महत्वपूर्ण रहेको सुवेदी बताउनुहुन्छ । थोपा सिँचाई प्रणाली, उन्नत जातका बीउ, सिँचाईका लागि बोरिङ जडानपछि खेतबारी ढकमक्क भयो, अनि गुजारा चलाउन पनि सजिलो हुन थाल्यो ।

‘हामीलाई पहिला बारीमा मल हाल्न पनि आउँदैन्थ्यो । मल बारीमा हाल्दा खुल्लै राख्ने र छर्ने बानी थियो’ उहाँले भन्नुभयो, ‘अहिले संकलन गरेको मल छोपेर राख्ने र बारीमा बीउ लगाउने बेला मात्रै छर्ने गर्छौं । यति ज्ञान पनि नहुँदा हामीले दुःख पाएका रहेछौँ ।’

नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बाह्य अनुसन्धान महाशाखाबाट उहाँले कृषि प्रविधिबारे पर्याप्त जानकारी लिनुभएको छ । बेलाबेला कृषि प्राविधिकलाई भेट्नुहुन्छ । समस्या सुनाउनुहुन्छ ।

कहिलेकाहीँ आफ्नो खेतबारीमै पुगेका कृषि प्राविधिकबाट नयाँ जातका बीउ र प्रविधिको परीक्षण गर्नुहुन्छ । महाशाखा र कृषि प्राविधिकका कारण आफू कृषि व्यवसायी बनेको सुवेदीले बताउनुभयो ।

‘परम्परागत तरिकाले खेतीपाती गर्दा दुःख पाइएको रैछ । अहिले थाहा पाइयो । थोरै मात्र ध्यान दिएमा, कृषि प्राविधिकको सल्लाह लिएमा खेतबारीबाटै मालामाल कमाउन सकिने रैछ’ उहाँले भन्नुभयो ।

‘अनि छोरालाई विदेशबाट फर्काएँ’   

खेतबारीमा तरकारी व्यवसाय फस्टाएपछि छिमेकीको जग्गा पनि लिजमा लिएका सुवेदीले मलेसिया गएका दुवै छोरालाई बोलाउनुभएको छ । 

मलेसियाबाट स्वदेश फर्केर फेरि काठमाण्डौ गएका दुई छोराले प्रविधिको सहारा लिएर तरकारी व्यवसाय विस्तार गर्ने योजना सुनाएको सुवेदीले बताउनुभयो ।

‘मलेसियामा राम्रो कमाई नभएपछि छोराहरुलाई बेलाएको हुँ । खेतबारीमै राम्रो कमाई हुने कुरा सुनाएको मात्रै थिएँ, अहिले आफैंले देखेपछि यसैलाई थप व्यवस्थित गर्नुपर्छ भनेर मलाई भनेका छन्’ उहाँले भन्नुभयो ।

आफूले गरेको काममा छोराहरुले पनि साथ दिएपछि जिल्लाभर तरकारी पुर्‍याउने सुवेदीको योजना छ ।

‘अहिले नजिकका बजारमा लिएर तरकारी बेचिरहेका छौँ । छोराहरुले साथ दिएपछि यसलाई ठूलो क्षेत्रफलमा फैलाउने योजना छ’ उहाँले भन्नुभयो, ‘कम्तीमा उदयपुरमा बाहिरबाट तरकारी ल्याउनु नपरोस् । पाँच वर्षभित्र आफैंले उत्पादन गरेको अर्गानिक तरकारी जिल्लाका सबै ठाउँमा पुर्‍याउने सोचमा छु ।’ 


 
 

अन्तिम अपडेट: असार २, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया